मौलिकता हराएका लोकगीत

Read Time:5 Minute, 45 Second

मनोज घर्तीमगर

Image may contain: 2 people, outdoor, close-up and nature

लोक गीत नेपालको मौलिक सँस्कृति हो । जसले संगीतका माध्यमबाट नेपाली जनजीवन, भाषा, सँस्कार र सँस्कृति बोकेको छ । लोक गीतलाई सँस्कृतिको एउटा पाटो भनिए पनि पछिल्लो समय यसको मौलिकता गुम्दै गएको छ । गीतकारले शब्द चयनमा मेहनत गर्न छाडेका छन् । गायका गायिकाले जेपायो त्यही शब्दमा स्वर भर्छन् । त्यो भन्दा झन् विकृति देखिन्छ म्यूजिक भिडियोमा । ‘गाली गर्दै ताली बजाउने प्रवृत्ति जहिलेसम्म रहन्छ । लोकदोहोरीको नाममा आउने गीतमा विकृति हट्दैन’ लोकस्रष्टा रमेश बिजी भन्छन् ।

हुन पनि पछिल्लो समय सुन्ने भन्दा हेर्ने गीत धेरै बनाइन्छन् । लोक गीतका म्यूजिक भिडियोमा अभिनय गर्ने मोडलले पारदर्शी पोशाक लगाउँछन् । जति नाङ्गो र भद्दा देखियो त्यति राम्रो भिडियो बनेको ठान्छन् निर्देशक । लोक गीतका नाममा म्यूजिक भिडियो निर्देशकले नाङ्गिएका भिडियो बनाइदिन्छन् । आम संचारका माध्यमले तिनै गीतलाई बढी महत्व दिएर बाहिर ल्याइदिन्छन् । भिडियोमा मोडलको लुगा छोट्टिएको र शब्द चयनमा गीतकार अल्छि भएकाले लोक गीतको मौलिकता गुम्दै गएको सुनाउँछन् गायक पुरुषोत्तम न्यौपाने । भन्छन्,‘लोकगीतका नाममा अश्लिलता बढ्दै गएको छ । लोक गीतको मर्ममै प्रहार भएको छ । जुन राम्रो होइन ।’

लोकगीत र भिडियो कस्तो हुनुपर्छ भन्नेमा लोक संगीतकर्मीहरु बिच नै एकमत छैन । पछिल्लो समय चल्तिका गायक गायिका मौलिक गीतका पक्ष्यपाति भएपनि उनीहरुले नै गाएका गीतमा अश्लिता नदेखिएको होइन । लोकगीतका नाममा तीनले गाएका गीतमा कतिपय भिडियो शब्दका मर्म बीपरित पनि हुने गरेको छ । शब्दमा गुन्यु र चोलीको चर्चा गरिएपनि मोडललाई लेहंगा र वानपीसमा प्रस्तुत गर्ने चलन छ । म्यूजिक भिडियो निर्देशक शिवराज भुर्तेलका अनुसार अहिले शब्दको मर्म अनुसार भन्दा पनि दर्शकको चाहना अनुसार भिडियो बनाउनुपर्ने बाध्यता छ । ‘अहिलेका गीत सुन्नेभन्दा हेर्नलाई बन्छन् । शब्द हेरेर भिडियो बनाउ“दा चल्दैन त्यसैले हल्का ग्ल्यामरस बनाउछौं’ निर्देशक भुर्तेल भन्छन् ।

Image may contain: one or more people, mountain, outdoor and nature

लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल समिति गण्डकीका अध्यक्ष एवं गायक शंकर विरही गुरुङ पछिल्लो समय आएका कतिपय गायक गायिका मोडलहरु संगीत र लोक गीतको गहिरो ज्ञान नहुँदा लोकगीत ग्ल्यामर घुसाएको धारणा राख्छन् । तीनलाई संचार माध्यमहरुले प्रोत्साहन गरेकाले झन् लोक गीतमा विकृति आएको उनको दाबी छ । ‘लोक गीतका नाममा विकृति ल्याउनेहरुलाई नै संचार माध्यमले झन् धेरै महत्व दिएर लेखिदिन्छन्’ शंकर भन्छन्,‘लोकगीत बिगार्नेलाई पत्रकाहरुले पनि ठाउँ नदिनुस् । हामी पनि दिन्नौ अनि कसरी उनीहरु हौसिन्छन् ?’

अलिमियाँ, धर्मराज थापा, झलकमान गन्धर्व हुँदै हरिदेवी कोईराला, नारायण रायमाझीसम्म लोकगीतले मर्म बोकेपनि अहिलेको पुस्ता लोकगीतको नाममा आफ्नै घाँटी रेट्ने अवस्थामासम्म पुगेको छ । टिक्न र बिक्न कलाकारले जे मन लाग्यो उही गर्ने, गीत भन्दा ग्ल्यामर हावी बनाउँदा लोक गीतको मर्म मर्दै गएको धेरैलाई थाह छ । विकृति फैलाउनेलाई ठ्याक्कै कारबाही गर्ने अधिकार पाएको कुनै सेन्सर गर्ने निकाय नभएकाले यस्तो भएको अनुमान लगाउँछन् धेरै स्रष्टा । लोकदोहोरी गीत, भिडियो उत्पादनमा सेन्सरको व्यवस्था नभएकाले यसरी परिवारका साथ हेर्नै नसक्ने भिडियो र सुन्नै नसक्ने छाडा शब्द हाबी भएको स्वीर्काछन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत रहेका गीतकार रमेश बिजी । ‘हामीसँग कारबाहीको अधिकार नै छैन । संस्थागत रुपमा सचेत गराउने हो । दण्ड सजाय गर्ने हैसियत हामीमा छैन’ उनी भन्छन्,‘खै प्रतिष्ठानले के गर्यो भन्छन् । हामी निरिह छौं । नाङ्गिएका भिडियो हेरिरहने भएपछि बजार बढेको नाममा यसले प्रोत्साहन पाईरहन्छ । वास्तविक लोक सिर्जना लोप हुन्छ । यस्ता ऐजेंरु सबै मिलेर मास्नुपर्छ ।’

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %