क्होंइबो धिं निर्माण गर्न लमजुङमा चलचित्र ‘क्यु प्ह्रो छे’को विशेष प्रदर्शन

Read Time:4 Minute, 44 Second

रूद्र श्रीसमगर


Image may contain: one or more people and crowd

बेंशीसहर, फागुन ८ – तमुहरूको मौलिक बोनवादी धार्मिक संस्था तमु प्ये ल्हु संघ लमजुङद्वारा निर्माण गर्न लागिएको क्होंइबो धिंको सहयोगका लागि लमजुङमा चलचित्रको विशेष प्रदर्शन गरिएको छ ।

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’को शनिबार बेंशीसहरस्थित अन्नपूर्ण चलचित्र मन्दिरमा विशेष प्रदर्शन गरियो । चलचित्र निर्माण भएपछि नेपालमै पहिलोपटक प्रदर्शन गरिएको सो चलचित्र हेर्नका लागि दर्शकको उल्लेख्य उपस्थिति थियो । दुई पटक देखाइएको सो चलचित्र हेर्न दर्शकले हल खचाखच भरिएको थियो ।

चलचित्र हेर्नका लागि गोरखादेखि आएकी पूर्णिमा लामाले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिइन् । ‘चलचित्रले उठाउन खोजेको विषयवस्तु एकदम राम्रो लाग्यो’, उनले भनिन्, ‘देशमै केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको रहेछ ।’ उनीसँगै आएकी अर्की दर्शक तीर्था खड्कालाई पनि चलचित्रले सन्तुष्ट पारेको रहेछ । उनले भनिन्, ‘देशमै केही गर्नुपर्छ भन्ने सन्देशलाई चलचित्रले बोकेको रहेछ, निकै मन प¥यो ।’

विशेष प्रदर्शनमै सहभागी चलचित्रका नायक राजेश गुरुङले दर्शकको प्रतिक्रियाबाट आफू उत्साही भएको बताए । नायिका अश्मी गुरुङले पनि दर्शकको सकारात्मक प्रतिक्रियाले चलचित्र क्षेत्रमा अगाडि बढ्न थप हौसला मिलेको बताइन् । अर्की नायिका एवं विशेष प्रदर्शन कार्यक्रम संयोजक खुशी गुरुङले दर्शकको उल्लेख्य उपस्थिति र सकारात्मक प्रतिक्रियाले आफूलाई खुशी तुल्याएको उल्लेख गरिन् । निर्मात्री देउकी (दिपिका) सिंजाली ‘मिलन’ले पहिलो प्रदर्शनमै दर्शकको उल्लेख्य उपस्थितिले आफूहरू हर्षित भएको बताउनुभयो ।

आयोजक संस्था तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्या. मिलबहादुर गुरुङले दुई पटककै प्रदर्शनमा दर्शकले हल खचाखच भरिनुसँगै चलचित्रले दर्शकको मन जित्न सफल भएको बताउनुभयो । हङकङमा रहेर पनि नेपालको सामाजिक सेवामा सक्रिय मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ कार्यकारी निर्माता रहेको सो चलचित्रका निर्माताहरूमा विक्रम गुरुङ ‘मिलन’ (हङकङ), विजया गुरुङ ‘मिलन’ (हङकङ) र देउकी (दिपिका) सिंजाली ‘मिलन’ रहनुभएको छ ।

चलचित्रका कलाकारहरूमा राजेश गुरुङ, अश्मी गुरुङ, खुशी गुरुङ, गौरी गुरुङ, ध्वज गुरुङ, मेघराज गुरुङलगायत रहेका छन् भने चलचित्रमा लेखन तथा निर्देशन सुवास गुरुङको रहेको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा आयोजित कार्यक्रममा तमु प्ये ल्हु संघ लमजुङ र चलचित्र निर्माण कम्पनी मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का तर्फबाट विभिन्न संघसंस्था एवं कलाकारहरूलाई सम्मान समेत गरिएको थियो ।

पहिलोपटक प्रदर्शन गरिएको सो चलचित्रबाट प्राप्त सम्पूर्ण आम्दानी आयोजक संस्थालाई नै क्होंइबो धिं निर्माण सहयोगार्थ प्रदान गरिएको चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिनुभयो । समाजसेवी गुरुङले यसअघि, पनि मिलन फाउण्डेशन नेपाल र मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.मार्फत् नेपालका कैयन् ठाउँहरूमा उदाहरणीय सामाजिक कार्य सम्पन्न गरिसक्नुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %