अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिताको तयारी पूरा !

Read Time:4 Minute, 59 Second

रूद्र श्रीसमगर


पोखरा, मंसिर १५ – नेपाल मगर संघ कास्कीको आयोजनामा यही मंसिर १८ गते शनिबार हुने ‘अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०७३’को तयारी पूरा भएको छ ।

नेपाल मगर पत्रकार संघ कास्कीको व्यवस्थापनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराइयो । प्रतियोगिताको तयारीबारे जानकारी दिँदै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको पहिचान मौलिक कौह्रा नृत्यको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

‘मौलिक कौह्रा नाच मगर समुदायको पहिचान हो’,अध्यक्ष रानाले भन्नुभयो, ‘मगर जातिको मौलिक संस्कृति संरक्षणका लागि प्रतियोगितात्मक कार्यक्रममा पनि हाम्रो विशेष जोड छ ।’ प्रतियोगिताले कौह्रा नृत्यको प्रचार–प्रसारमा पनि सहयोग पुग्ने विश्वास लिएको बताउँदै अध्यक्ष रानाले कौह्राको मौलिकता जोगाउन मगर संघ लागिपरेको उल्लेख गर्नुभयो ।

प्रतियोगिताको प्रचार–प्रसार उपसमितिका संयोजक डिलबहादुर श्रीसमगरले कौह्रा नृत्य प्रतियोगिताले मगर समुदायको सांस्कृतिक एकतालाई कायम राख्न सघाउने बताउँदै अन्य समुदायलाई पनि कौह्राका बारेमा विशेष जानकारी दिन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘कौह्रा नाच मगर समुदायको महत्वपूर्ण संस्कृति हो’, संयोजक श्रीसले भन्नुभयो, ‘कौह्रा नृत्य प्रतियोगिताले मगर समुदायको संस्कृति प्रवद्र्धनमा सहयोग पुग्ने आशा छ ।’

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर पत्रकार संघ कास्कीका सचिव उमा आलेमगर र अध्यक्ष रूद्रबहादुर हितानमगरले स्वागत गर्नुभएको थियो ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा नेपाल मगर संघ कास्की अन्तर्गतका १८ एकाइ समितिहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगद रहेको छ । त्यसैगरी, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट भेषभूषा र अनुशासित टिमलाई क्रमशः २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा युमे जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट प्रालि, चिप्लेढुड्डा, पोखरा, प्रथम पुरस्कार प्रायोजकमा टाइगर ट्राभल एण्ड टुर्स प्रालि, लेकसाइड, पोखरा, द्वितीय पुरस्कार प्रायोजकमा थमनसिंह थापामगर, तृतीय पुरस्कार प्रायोजकमा मनकुमार तामाङ, सान्त्वना पुरस्कारका प्रायोजकमा नेपाल मगर संघ अर्घौं एकाइ उपाध्यक्ष कुमबहादुर पुनमगर रहेका छन् ।

त्यस्तै, उत्कृष्ट नृत्य निर्देशक, भेषभूषा र अनुशासित टिम पुरस्कार प्रायोजकमा करपाकेली फेन्सी स्टोर्स, पावरहाउस रहेको छ भने प्रतियोगितामा उत्कृष्ट टिम छनौट गरी टाइगर्स फिल्मस् प्रालिको तर्फबाट एउटा म्यूजिक भिडियोमा काम गर्ने अवसर दिइने छ । प्रतियोगिताको साउण्ड सिस्टम पार्टनरमा श्रीस साउण्ड एण्ड भिजन, नयाँगाउँ, टिकट प्रायोजकमा रवि एण्ड रविन सप्लायर्स प्रालि, नदीपुर र मिडिया पार्टनरका रूपमा गोल्डेन आई टेलिभिजन, लाङ्घाली राष्ट्रिय मासिक र मगर मिडिया डटकम रहेका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %