रूद्र श्रीसमगर
पोखरा, मंसिर ५ – नेपाल मगर संघ कास्कीको आयोजनामा यही मंसिर १८ गते हुने अन्तर एकाइ कौह्रा प्रतियोगिताको तयारी तीव्र बनाइएको छ ।
प्रतियोगितामा नेपाल मगर संघ कास्की अन्तर्गतका विभिन्न एकाइहरूको सहभागिता रहनेछ । पोखरा सभागृहमा हुने कौह्रा प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक संस्थाका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
‘मगर जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको कौह्रा संरक्षणका लागि हामीले प्रतियोगिताको आयोजना गरेका हौं’, रानामगरले भन्नुभयो, ‘सँगै कौह्राको मौलिकतालाई जोगाइराख्न पनि प्रतियोगिता महŒवपूर्ण बन्ने हाम्रो विश्वास छ ।’ कौह्रा प्रतियोगिताले नयाँ पुस्तामा कौह्रा नृत्यप्रति रुचि बढाउने अध्यक्ष रानामगरको भनाइ छ ।
प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ रहेको छ भने उत्कृष्ट भेषभूषाका लागि पनि पुरस्कारको व्यवस्था गरिएको कोषाध्यक्ष कुमार थापामगरले जानकारी दिनुभयो । यसअघि, गत वर्ष नेपाल मगर संघ नयाँबजार एकाइ समिति, पोखराले नेपाल मगर संघ अन्तर एकाइ कौह्रा प्रतियोगिताको आयोजना गरेको थियो ।