सन्जु राई
धरान, कात्तिक ५ – पहिले–पहिले नेपाली चलचित्र हेर्न खासै वास्ता लाग्दैनथ्यो धरान १३की रिमा थापा मगरलाई । तर अचेल हलमा नयाँ चलचित्र बद्लिने वित्तिकै उनि पुगिहाल्छिन् । रिमा भन्छिन् “निर्माता, निर्देशकहरुले पहिला आफ्नो रुचिमा चलचित्र बनाउँथे अहिले दर्शकको रुचीमा बनाउन थालेका छन् । त्यसैले राम्रा चलचित्र छुटाउँछिन् ।
रिमालाई अहिलेका चलचित्रमा कलकारहरुले राम्रो अभियन गरे जस्तो लाग्छ । चलचित्रको कथावस्तु र प्रस्तुतिपनि उत्तिकै सानदार लाग्छ । पछिल्लो समय नेपाली चलचित्र मन पराउने दर्शकहरु मध्ये एक उदाहरण हुन् रिमा । रिमा जस्तै भेडेटारका लीलाराज लावतीपनि अहिले नेपाली चलचित्र भनेपछि हुरुक्क हुन्छन् ।
व्यवसायिक भन्दा पनि अर्गानिक (मौलिकता भएको) चलचित्र हेर्न रुची राख्ने लावतीले अहिले बन्ने गरेको नेपाली चलचित्रमा ती कुरा पाएका कारण समय मिलाएर नेपाली चलचित्र हेर्ने गरेको बताए । चलचित्र निर्माण गर्दा दर्शकहरुको रुचीलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको बुझाई छ ।
नेपालमा एकताका चलचित्र हेर्ने दर्शकहरुको हलहरुमा भीड हुन्थ्यो । त्यसबेलाका दर्शकहरु नेपाली चलचित्र भनेपछि निकै चाख मानेर हेर्थे । त्यसबेलाका हरेक चलचित्रका डाईलगहरु प्रायजसो दर्शकहरुको मुखमा झुन्डीने गरेको थियो । तर पछिल्लो चरणमा हलहरुमा दर्शकहरुको संख्या एकाएक घट्न गयो । नेपाली चलचित्र हेर्ने दर्शकहरुको खडेरी परेपछि नेपालका हलहरुमा हिन्दी चलचित्र लगाउनु पर्ने हल सञ्चालकहरुको बाध्यता बन्यो ।
यसरी नेपाली चलचित्र हेर्ने दर्शकहरु हलसम्म नआए पछि हल सञ्चालकहरुले दर्शकहरुको रुची र हल चलाउनका लागि हिन्दी चलचित्रहरु लगाए । नेपाली चलचित्र लाग्दा दर्शकहरु नआउने गरेको हलहरुमा पनि हिन्दी चलचित्र लागेको पहिलो दिन देखि नै दर्शकहरुको खुट्टा टेक्ने ठाउँ हुदैन थियो ।
यसरी सुस्ताएको नेपाली चलचित्र बजारमा जब “लुट” चलचित्र आयो । तब नेपाली चलचित्र चटक्कै हेर्न छाडेका दर्शकहरुले समेत हलमा पुगेर चलचित्र हेरे । नेपाली चलचित्र बजारमा लुट पश्चात् चपली हाईट, कबड्डी, होस्टेल, जेरी, ड्रिम्स, प्रेमगीत, बीर बिक्रम, छक्का–पन्जालगायत चलचित्रहरुलाई पनि दर्शकहरुले निकै मन पराए ।
खडेरी लागेको चलचित्र बजारमा लुटले फेरि नेपाली चलचित्रका दर्शकहरुलाई हलसम्म तानेर ल्याउने वातावरण बनायो र त्यस बेलाबाट तिनै हलहरुमा नेपाली चलचित्र हेर्ने दर्शकहरुको पहिलेको जस्तै बाक्लो जमात पाउन थालिएको छ । समय, परिस्थिति र दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै नेपाली चलचित्रहरु निर्माण भएकाले पनि अहिले नेपाली चलचित्रहरु प्रति दर्शकहरु एकाएक आकर्षित हुन थालेका हुन् ।
पहिले पहिले सिमित कथावस्तुमा परम्परागत ढंगले मात्र चलचित्र बनाईने गरेको थियो तथा अहिले नयाँ आधुनिक ढंगले चलचित्र निर्माण गरेकाले पनि नेपाली चलचित्र प्रति दर्शकहरुको रुची बढ्दै गएको गणेश टाकिज धरानका सञ्चालक भोलामान श्रेष्ठ बताउँछन् ।
सञ्चालक श्रेष्ठका अनुसार अहिले बन्ने गरेका चलचित्र नयाँ ढाँचामा दयाहाङ राई, निश्चल बस्नेत, सौगात मल्ल, नाजिर हुसैन, सरिता गिरि, नम्रता केसी, राजन खतिवडा, सुरज श्रेष्ठलगायत थिएटरबाट खारिएर आएका कलाकारहरु भएको कारणले पनि नेपाली चलचित्र हेर्ने दर्शकहरुको क्रम बढ्दो छ । केही वर्ष यताबाट सुस्ताएको नेपाली चलचित्र बजार नयाँ ढाचामा अभिनयमा खारिएका कलाकारहरुको अभिनयको कारण फेरि राम्रो हुने सम्भावना रहेको छ ।
हाल चलचित्र हलहरुको स्थिति नाजुक नै भएता पनि राम्रा चलचित्र बन्ने क्रम बढ्दै गएको कारण निराशावादी भै हाल्नु पर्ने स्थिति चाँही नभएको सञ्चालक श्रेष्ठको भनाई छ ।
उनका अनुसार चलचित्र निर्माण सम्बन्धी राम्रो अध्ययन गरी ज्ञान हासिल गरी, राम्रो तयारीका साथ चलचित्र निर्णाण गरेमा नेपाली चलचित्रले हिन्दी चलचित्रलाई समेत विस्थापित गर्छ । लुटपछिका कबड्डी, गाजलु, ड्रिम्स, प्रेमगीत, बीर बिक्रम र छक्का पन्जा जस्ता चलचित्र प्रदर्शन हुँदा हिन्दी चलचित्रको भन्दा राम्रो व्यापार भएको थियो ।
अहिलेको अवस्थामा नेपाली चलचित्रको भविष्य राम्रो भएको आई सिनेमा ईटहरीका सञ्चालक रेवतीरमण दुलाल बताउँछन् । सञ्चालक दुलालका अनुसार राम्रो अध्ययन, गुणस्तरीय कथाबस्तु र अभिनय सिकेर आएका कलाकारहरुलाई लिएर चलचित्र बनाएमा त्यस्ता चलचित्रलाई दर्शकहरुले रुचाउने बताउँछन् । भन्छन् “अहिलेको पुस्ताका चलचित्रकर्मीहरु मेहनती छन्, त्यसरी चलचित्र निर्माण गर्दा दर्शकले मन पराउँछन् भन्ने प्रमाणित भईसकेको छ ।”