उद्धारका लागि जाँदा ८ घण्टा मरूभूमिमा एकलै बिताएको क्षण ।

Read Time:19 Minute, 26 Second

हुम सुनारी मगर

साउदी, सेप्टेम्बर २५ – गत एक हप्ता अगाडीदेखि केहि पीडित भाईहरूले उद्धार गरिदिन अनुरोध गरेका थिए । साउदीको सरकारी बिदाको दिन मात्रै उनीहरूलाई भेट्न जान सकिने र सम्भव भएसम्म उद्धार गर्ने सोंच बनाएँ । गत २३ सेप्टेम्बर, सुक्रबार कै दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य महासंघ, साउदी शाखाले यात्रा मरुभूमिको पुस्तक विमोचन कार्यक्रम राखेको थियो । सो समारोहमा मलाई बिशिष्ठ अतिथिको रूपमा निम्त्याईएको थियो। म सो ऐतिहासिक समारोहमा सहभागी भएँ । पीडित भाईहरूलाई भेट्न जानुपर्ने भनेर पुस्तक विमोचन लगत्तै आफ्नो शुभकामना मन्तब्य दिएर त्यस तर्फ़ लागेँ । रियाददेखि २२० सय किलोमिटर टाढा रहेछ त्यो ठाउँ। त्यो ठाउँको नामै रहेनछ । 

साउदीको अनकन्टार मरूभूमिमा बिहान अढाई बजे भेट भयो, ७ जना पीडित नेपालीहरूसँग । उनीहरूलाई भेट्न रियादबाट ३ बजेनै निस्केको थिएँ । रियाददेखि २ सय किलोमिटरसम्म बाटो राम्रै थियो । त्यसपछि इन्टरनेटले काम गर्न छाड्यो । र, लोकेसन म्याप रूट नै गायब भयो । पीडित भाईहरूलाई मोबाइलमा सम्पर्क गरेँ । कहिलेकाँही मात्रै नेटवर्कले काम गर्थ्यो। पीडित भाईहरूले त्यो ठाउँसम्म पुग्न बाटो बताउँन पनि सक्दैनथ्यो । त्यहाँ पुग्नका लागि बाटो बताउँन भाईहरूले सँगै काम गर्ने एक भारतीय नागरिकसँग सहयोग लियो । ति भारतीय नागरिकले भने जस्तै मैले गाडी गन्तब्य तर्फ लगेकै थिएँ। केहि पर पुगेपछि गाडीले गलत दिशा लिएछ ।
 अगाडी बढ्दै गएँ । मैले बाटो बिराएकै रहेछु भन्ने लाग्यो । म आत्तिएँ । त्यतिबेलासम्म घाम अस्ताउनै लागेको थियो । म गईरहेको बाटो भन्दा ठिक सय मिटर पर पक्कि बाटो देखेँ। एकदुई वटा ठूला गाडीहरू गुडिरहेको देखेँ । सोहि पक्कि बाटोमा पस्न खोज्दै थिएँ । अगाडी पढ्दै जाँदा गाडीको पछाडिको चक्का बालुवामा फंस्यो । म पूर्ण रूपले निराश भईसके । किनकि, बिगतमा एकदुई पटक त्यस्तो अनुभव व्यहोरिसकेको थिएँ । तैपनि, गाडी रिभर्स गरेँ । पछाडिको दुवै चक्का बालुवामा फंसीसकेको थियो। घाम पनि अस्ताई सक्यो ।
 बिस्तारै अध्यारो हुन थाल्यो । अब के गर्ने भन्ने भ्येउ नै पाएनं । मोबाईल हेरेँ, नेटवर्क छैन। एकछिन् गाडीको स्टेरिंगमा टाउको अड्याएर बस्न थाले । अब, के गर्ने के, सोच्नै सकिरहेको थिएनं । त्यतिन्जेलसम्म पूर्णरूपमा अँध्यारो भईसकेको थियो । गाडीको हेडलाइट बालेँ । तैपनि म आफै बालुवामा फँसेको गाडी निकाल्न सक्छु कि भनेर प्रयास गरेँ । गाडी भित्र साना कार्पेटहरू थियो। बालुवा पन्छ्याएर चक्का मूनि कार्पेटको टुक्रा राखेँ । त्यसले पनि काम गरेन ।
घडी हेरेँ साँझको ७ बजिसकेको थियो । अलि परको पक्कि सडकमा गाडी गुडेको आवाज पनि सुन्न छाडी सकेको थियो। अब मलाई जसरि हुन्छ,मोबाईल चालू गर्नु थियो । नजिकै बालुवाको थुम्को देखेँ। त्यहि बालुवाको थुम्कोमा चढेर मोबाईल हेरेको नेटवर्क आयो । एकछिन् राहत भएको महशुस गरेँ । र, पीडित भाईहरूलाई सम्पर्क गरेँ । त्यतिन्जेलसम्म भाईहरूले अबत दाई आइपुग्नु हुन्छ भनेर बसेका रहेछन् । म अलपत्र परेको खबर सुनाएँ पछि भाईहरू फोन मै निराश भयो ।
 गाडी बालुवामा फँसेको २ वटा फोटो खिचेर म अनकन्टार मरूभूमिमा फँसेको फेस्बूक मार्फत जानकारी गराएँ । मेरो सुरक्षाका लागि कैयौँ महानुभावहरूबाट शुभकामना बर्षिन थाल्यो । मेरो सुरक्षाका लागि शुभकामनाहरू सहितको कमेन्टहरू पढ्दा तपतप आँशु खस्यो ।
 पीडित भाईहरूले मलाई लिन आउनका लागि कैयौँ उपाएहरू रचेछन् । बिचरा, भाईहरू आफै पीडित छन्, सजिलै कहाँबाट सवारी साधन व्यवस्था गरेर म भएको ठाउँसम्म आउन सक्थे र । तैपनि, मानवियता भएका एकजना पाकिस्तानी र अर्को भारतीय नागरिक ति भाईहरूसँग मलाई खोज्न जान तयार भएछन्।  हामीहरू तपाईलाई लिन आउँदैछौं । सक्नु हुन्छ भने पक्कि सडक सकिएको ठाउँसम्म हिडेर आउनु होला भन्ने अनुरोध भयो, भाईहरूबाट ।
 तीन घण्टासम्म गाडी भित्र बसेर उनीहरूलाई कुरिरहें । भाईहरूले पनि बाटो बिराएर अर्कै ठाउँतिर पुगेछन् । त्यतिन्जेलसम्म रातिको ११ बजिसकेको थियो । मलाई कसैले सम्पर्क गर्न सक्छ भनेर म गाडी भित्र नबसि बालुवाको थुम्कोमा गएर बसिरहें। गाडी फँसेको ठाउँमा नेटवर्कले टिप्दैनत्यो । म बालुवाको थुम्कोमा गएर बस्ने बित्तिकै महामहिम कार्यवाहक  राजदूत श्री आनन्दप्रसाद शर्माले मोबाइलमा सम्पर्क गर्नु भयो । सोहि समयमा अन्य २-३ जना मेरा शुभचिन्तकहरूले पनि सम्पर्क गर्नु भएको थियो। मिल्छ भने मेरो गाडी निकाल्न दूताबासबाट गाडी पठाउनु होला भनेर अनुरोध गरेँ ।
 केहीबेर पछि दूताबासको गाडी लिएर दूताबास कै कर्मचारी मान बहादुर थापा, मेरो मित्र ओमन दर्लामी मगर सहित थप चार जना लिएर म भएको ठाउँतिर हुइकिनु भएछ । म फेरी बालुवाको थुम्कोमा चढेर वाट्सअपबाट म भएको लोकेसन पठाएँ । र, फोन गरेरै पनि ठाउँसम्म पुग्ने बाटो बताएँ ।
 यसरि बसेर हुँदैन, पक्कि सडक सकिएको ठाउँसम्म म जसरि पनि पुग्नु पर्छ भन्ने लाग्यो । नत्र दूताबासबाट गएका सरहरू पनि म भएको ठाउँसम्म पुग्न सक्नुहुन्न भन्ने लाग्यो । गाडी मै ४० प्रतिशत जति मोबाईल चार्ज गरें । र, मोबाईलको फ्लासलाइट बाली गाडी बन्द गरेर सो स्थान तिर हिडें । पहिला, त्यो स्थान छोड्दा नजिकै जस्तो लागेको थियो । ठिक दायाँपट्टि १५० मिटर पर नवनिर्माण भएको पक्कि सडक थियो । पुरै ४५ मिनेट हिड्दा पनि त्यो ठाउँसम्म पुग्न सकिन । त्यतिन्जेलसम्म मोबाइल चार्ज पनि सकिएछ । मोबाईलको फ्लासलाइट बन्द भयो । अगाडी बढौं कि फर्कौं, दोधारमा परें । एकछिन् बालुवा मै थचक्क बसेँ। यो भन्दा अगाडी बढें म हराउन सक्छु भन्ने लाग्यो । र, जुन बाटो आएको थिएँ, त्यतै फर्कें। बाटो अलिअलि मात्र देखिएको थियो । म आफै जाँदा टेकेको पाईलाहरू अस्पस्ट देखिएको थियो । त्यसलाई पच्छ्याऊँदै अगाडी बढें। केहि बेर पछि हँसिया आकारको जुनको आगमन भयो । थोरै राहत भएको महशुस गरेँ ।
 जुत्तासँग हिड्न सकिनँ । पैतालामा गोडादुइएक थेला उठेछन् । जुत्ता निकालेर खाली खुट्टा हिड्न थालेँ । गाडी फँसेको स्थानसम्म पुग्न निकै कस्ट भयो । बडोमुस्किलले पुगें । भोक र प्यासले मूख प्याकप्याक भएको थियो । सबैभन्दा पहिला मोबाईल चार्ज गर्नुपर्छ भन्ने लाग्यो । र, गाडी स्टार्ट गरेर मोबाईल चार्ज गरेँ। केहि मिनेट पछि मोबाईल चालु भयो । कसैले सम्पर्क गर्न सक्छ भन्ने लागेर पुन: बालुवाको थुम्कोमा चढें । नभन्दै दूताबासबाट जानु भएका सरहरूले सम्पर्क गर्नु भयो । र, लगत्तै ति पीडित भाईहरूले पनि सम्पर्क गर्नु भयो ।
 एउटा थप घटना यहाँ जोड्न चाहेँ । मोबाईल फ्लासलाईट बन्द भएपछि फर्किदै गर्दा परबाट एउटा गाडी मधुरो बत्ति बाल्दै आएको देखेँ । लगभग ४ घण्टा पछि बल्ल एउटा मात्र गाडी आएको हुनुपर्छ । त्यो गाडीको चालकले मलाई सहयोग गर्न सक्नेछ भन्ने झिनो आशा पलायो, मलाई । त्यसैले, बलौटे कच्ची बाटो छाडेर त्यो पक्कि सडकमा गएर हिड्दै थिएँ । बलौटे कच्ची बाटो र पक्कि सडक झन्डै डेढ सय मिटरको दूरीमा समानान्तर रूपमा बनाएको रहेछ । म बलौटे कच्ची बाटो हुँदै गएको रहेछु ।
 त्यो गाडी टिप्परट्रक रहेछ। त्यो टिप्परट्रक धेरै पुरानो भएकोले होला त्यसको बत्ति पनि धेरै मधुरो थियो ।  ४ घण्टा पछि एउटा गाडी त्यसरी आउँदा मलाई राहत भएको महशुस भएको थियो। त्यो टिप्पर चालकले मलाई सडकको छेउंबाट हिडेको देखेछ । सायद, मलाई अस्पस्ट रूपमा देखेको हुनुपर्छ । उसले टिप्परको गति कम गर्यो । टिप्पर रोकेर चालकले मलाई बोलाउँछ कि भन्ने लागेको थियो। क्षण मै मेरो सोंच परिवर्तन भयो। र, त्यसले मलाई नबोलाओस् भन्ने लाग्यो । किनकि, कुन देशको मानिस थियो त्यो, बिश्वास गर्न सकिदैन । मंगोलियन अनुहार परेको मानिसलाई गलत नियतले आक्रमण पनि गर्न सक्छ। त्यसो भयो भने अर्को समस्या पनि थपिन सक्छ भन्ने लागेर मैले त्यसलाई बेवास्ता गर्दै म हिडिरहे । त्यसले आफ्नो टिप्परको गति झन् कम गर्यो र केहि बेर पछि त्यो पनि आफ्नो गन्तब्यतिर लाग्यो ।
 मैले अनुमान गरें कि त्यो टिप्पर चालकले मलाई नबोलाउनुको कारण म के हुँ भन्ने नै उसले थम्म्याउन सकेन । उसले म मान्छे नै हो भन्ने लागेको भए, त्यस्तो एकान्त मरूभूमिमा मलाई एक्लो वेवारिसे जस्तो देख्दा कुनै न कुनै प्रतिकृया देखाउन सक्थ्यो । अथवा, आपत परेर यसरि एकलै गन्तब्य बिहिन हिड्दै छ, यसलाई सहयोग गर्नुपर्छ भन्ने लागेर मलाई बोलाउनु पर्थ्यो । त्यो टिप्पर चालक मलाई नबोलाई गन्तब्यतिर लागे पछि मलाई थोरै हाँसो पनि लाग्यो कि त्यसले मलाई मान्छे नठानेर भूत ठानेछन्, त्यसैले त्यो आफै मसँग डराएर आफ्नो गन्तब्यतर्फ लाग्यो ।
मेरो उद्धारको लागि दुवै तर्फबाट आउँनु भएकाहरू पक्कि सडक सकिएको स्थानसम्म आईपुग्नु भएछ। पक्किबाटो सकिएको स्थानमा सडक समाप्त भनेर बोर्ड नै राखेको छ, त्यहाँ । तर, बीचमा ब्लक गरेर ४-५ सय मिटर अगाडी सोहि बाटो निर्माण भएको रहेछ । त्यो बाटोको ठिक सय मिटर पर म फँसेको रहेछु। म बालुवाको थुम्कोमा बसेर वहाँहरू आइरहेको गाडीको हेडलाईट म तिर तेर्सिएको देख्दा ठुलो राहतको सास फेरेँ । त्यतिन्जेलसम्म कुनै गाडी नचलेको हुँदा मेरो उद्धारको लागि आउँनु भएकाहरू नै हुनहुन्छ भन्ने एकिन गरेँ । म भन्दा सय मिटर टाढा आइपुग्नु भएपछि मैले फोन सम्पर्क गरेँ । मेरो नजिक आइपुग्नु भयो गाडी रोक्नुस् भनेर अनुरोध गरें । दुवैतिरबाट एकै चोटी आइपुग्नु भयो। मैले म तिर बोलाएँ ।
 वहाँहरूले मेरो लागि पानी र केहि खानेकुरा लिएर आउँनु भएको रहेछ । एक लिटर भन्दा बढी पानी एकै सासमा सकाएँ । थप जूस र केहि खानेकुरा खाइसके पछि ठूलो राहत भयो, मलाई । दुवै तिरबाट आउँनु भएका नौ जनाले फँसेको गाडी निकाल्न सजिलै सफल भयौं । र, रियादबाट जाने सरहरूलाई फर्किन अनुरोध गरे ।  म पीडित भाईहरूसँग गएँ ।
 सन्जोग कस्तो अचम्म । पीडित ४ जना भाईहरू र रियादबाट जानु भएका सरहरू त्यहाँ एकैसाथ पुगेका थिए । कथम्कदाचित एउटा समूह मात्र पुगेको भए ४-५ जनाले मात्र फँसेको गाडी निकाल्न गार्है हुने थियो। दुवै समूहका ८-९ जना मानिसहरू एउटै समयमा त्यहाँ पुग्दा फँसेको गाडी निकाल्न अति नै सजिलो भएको थियो । र, २-३ मिनेट भित्रमा नै गाडी निकाल्न सफल भयो ।    
पीडित भाईहरूको बारेमा जानकारी लिएँ । गत दुई महिना अगाडी नबिल ए.अल-सकार कम्पनीमा नवराज पाण्डेद्वारा सञ्चालित कान्तिपुर ओभरसिज, सामाखुशी काठमाडौँले तिनीहरूलाई पठाएका रहेछन् । अल-सकार कम्पनीले  सिमेन्ट बनाउँने फ्याक्ट्री यामाह कम्पनीलाई कन्ट्रयाक्टमा दिएको बुझिन्छ। उनीहरूलाई मासिक १३ सय रियाल तलब दिने सहमति गरि पठाए पनि अहिलेसम्म एक रियाल पनि तलब बापत नदिएको पीडितहरू बताउँछन् । कम्पनीले अहिलेसम्म साउदी रेसिडेन्सी कार्ड (अकामा) नबनाई दिएको बुझिन्छ । कम्पनीले अकामा नबनाई दिए पछि कुनै पनि बीमा हुन नसक्ने र बीमा नभएपछि बिरामी हुँदा उपचार हुन नसक्ने साउदीको प्रावधान रहेको छ । अकामा बन्न नसक्नु भनेको एक प्रकारले अवैध कामदारको रूपमा रहेको भन्ने बुझिन्छ । उनीहरूसँग अकामा नभएको अवस्थामा साउदी प्रहरीले फेला पारे समातेर जेलसम्म हाल्न सक्छ । प्राय: सबै कम्पनीहरूले कुनै पनि नयाँ कामदार साउदी आइपुगेको एक हप्तादेखि १० दिन भित्रमा अकामा बनाएर कामदारलाई दिईसकेको हुन्छ ।
 दुईदुई महिनासम्म पनि तलब सुबिधा नपाउने र अवैध रूपमा साउदी बस्न बाध्य भएकाहरू: दाङका प्रेमबहादुर केसी, स्याङ्जाका कोषबहादुर खवास, रोल्पाका टेकबहादुर रोका, सल्यानका बद्री बोहोरा, बाग्लुंगका अशोक बहादुर कामी, पाल्पाका खुमबहादुर थापा र पाल्पाकै भीमबहादुर थापा रहेका छन् । यी सबै सातैजनाले सहमति पत्रमा उल्लेख भए अनूरुप तलब सुबिधा प्रत्यक महिना पाउनुपर्ने, तुरून्तै अकामा बनाएर मेडिकल सुबिधा दिलाउनु पर्ने, सहमति अनुसार बाहिर ५० डिग्री घाममा होइन – भित्र काम गर्न पाउनु पर्ने माग राखेका छन् । मेनपावरसँग भएको सहमति अनुसार तलब सुबिधा दिन नसके तुरून्तै स्वदेश फिर्ता गराउँन माग गरेका छन् ।  सरकारले १० हजार मात्र वैदेशिक रोजगारीमा जानेहरूबाट असुल्न पाउने व्यवस्था गरे पनि मेनपावरले उनीहरूबाट एकलाख १० हजार रुपैयाँ देखि एक लाख २५ हजार रुपैयाँसम्म उनीहरूले बताएका छन् ।
ति पीडित भाईहरूलाई न्याय दिलाउँन नेपाली दूताबास, रियादमा अनुरोध गरिसकिएको छ ।
 सरकारले यस्तो अव्यबस्थित वैदेशिक रोजगारलाई अबिलम्ब सुधार गरियोस्। सोझा सिधा नेपाली यूवाहरुलाई कमिशन पाउने लोभमा रोजगार दाता कम्पनीको प्रकृति नै नबुझिकन अन्धधुन्ध कसैलाई यसरि नपठाईयोस् । अध्यक्ष नेपाली कामदारहरूलाई प्रयाप्त अभिमुखीकरण तालिम बिना खाडी मूलुक पठाउने कार्य अविलम्ब बन्द गरियोस् । साउदी सरकार र रोजगार दाता कै कारणले निर्दोष कामदारहरूलाई अवैध घोषणा गरेर जेल हाल्ने र स्वदेश फर्किनबाट बन्देज गरिएको छ, त्यसलाई रोक्न नेपाल सरकार र साउदी सरकार बीच अबिलम्ब श्रम सम्झौता होस्। हजारौं नेपाली कामदारहरूको समस्या हेर्न नेपाली दूताबासमा प्रयाप्त कर्मचारीको व्यवस्था गरियोस् । नेपाल एउटा सस्तो श्रमिकहरू उत्पादन र निर्यात गर्ने देशको रूपमा चिनिएको छ । यस प्रति सरकार गम्भीर बनोस् । लाखौं यूवाहरूलाई वैदेशिक रोजगारमा पठाउनु भन्दा स्वदेश मै स्वरोजगार बनाउँन प्रोत्साहन गरियोस् ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %