तर बुद्ध सन्स्क्रिती र परम्परा बोकेको खता “खादा “को यती बिद्ध्न बिरोध किन ?
-आहुती
एक दशकअघिसम्म नेपालका सत्ताधारीहरूलाई पत्तै थिएन ‘खादा’ नामको कपडाको एउटा धरो पनि नेपालमै कतै लुकेर बसेको छ । नेपालको पहाडका न्यायप्रेमी गैरजनजातिमध्ये धेरैलाई यसको सुइँकोसम्म थिएन । मधेसीलाई त सामान्यतया जानकारी नहुनु भौगोलिक दूरीका कारणले पनि स्वाभाविक नै भैहाल्यो ।
माओवादी जनयुद्धको समाप्तिसँगै जब सुरु भयो शान्तिकाल एकाएक ‘खादा’ बेस्मारी प्रकट हुन थाल्यो । यसको यात्रा वेगवान भयो । आज मधेसदेखि हिमालसम्म राजनीतिक पार्टीदेखि सरकारी औपचारिक कार्यक्रमसम्म हाकाहाकी पाहुना वा सम्मान गरिने व्यक्तिका गलामा उपस्थित हुन थालेको छ– खादा । यस्तो लाग्छ, गुमनाम खादाको आज मधुमासको याम चलिरहेको छ ।
दस वर्षको छोटो समयमा नै राष्ट्रियस्तरमा नैतिक वैधतासहित स्वीकार्य हुने खादा कहाँ गायब थियो यत्रो वर्ष ? मलाई भन्न मन लागेको छ चिच्याएर आज कि एउटा सभ्यताले अर्को सभ्यतालाई गर्ने भनेको दमन के हो ? खादालाई सोध । केही व्यक्तिहरूले दुत्कार्ने गरेको पहिचानको मुद्दाको मर्म खादालाई सोध ।
२. ‘खादा’ लगातार प्रचलित हुन थालेपछि नेपालको परम्परागत शासक समुदायबाट विकसित केही नेपाली साहित्य–संस्कृतिको क्षेत्रमा काम गर्ने मानिसहरू छटपटिएर कसरी सोच्थे, त्यो विषय टीठलाग्दो छ । एउटा साहित्यिक पत्रिकाले आफ्नो नवौं अंकमा सम्पादकीय नै लेखेर खादा प्रयोगको उछितो काड्ने प्रयास नै गर्यो । त्यसले यस्तो लेखेथ्यो, ‘धेरै वर्ष भएको छैन यो संस्कृति नेपालमा भित्रिएको । …त्यसमा फ्री तिब्बतको नामसमेत लेख्न थालिएका छन् । ….खादाको प्रयोग हुँदै जानु बुद्ध धर्मको गरिमाप्रतिको अपमान हो ।’ त्यो पत्रिका धेरैले नपढ्ने भएर हो या लेख्नेहरूको अज्ञानतालाई बेवास्ता गरेर हो, त्यस्तो घातक उछितोको प्रतिवाद कसैले गरेन । सायद खादालाई वैंश चढेको बेला भएर पनि हुन सक्छ । र्यालसिंगानयुक्त वृद्ध सम्पादकीयलाई कसले वास्ता गरोस् !
‘खादा’ प्रयोग कसरी ठ्याक्कै कहिले सुरु भयो महायानी बौद्ध विद्वान्हरू पनि यकिनका साथ भन्न सक्तैनन् । उनीहरू खादाको इतिहास खोज्दै ४७ सय वर्षअघिको चिनियाँ ह्वाङहो सभ्यतामा मंगल कामना गर्दा प्रयोग हुने कपडाको कथासम्म पुग्छन् । त्यसैगरी वाग्मती उपत्यकाका नेवारले पूजापछि घाँटीमा लगाउने रातो कपडाको धजा पनि त्यही खादाकै एउटा अवशेषको अर्थमा अथ्र्याउन खोज्छन् ।
जे भए पनि सम्मानका निम्ति कपडाको धरोको प्रयोगको यो संस्कृति उत्तरबाटै सुरु भयो र तिब्बतमा बौद्ध धर्मको एउटा शाखा महायानको विकाससँगै यसले व्यवस्थित सांस्कृतिक रूप धारण गर्यो । यही महायानी बौद्ध परम्परा बोकेका समुदायहरू आजको नेपालको हिमाली र पहाडी भूभागमा विचरण गर्ने क्रमसँगै खादा पनि सँगै आयो । तामाङ कहिले आइपुग्यो आजको नेपालमा ? शेर्पाको कर्मभूमि कहिलेदेखि नेपाल भनिन थालियो ? हो, त्यो बेलादेखि खादा नेपालमै थियो । हिमाल र पहाडका आज चिनिएका २९ जातिको पुण्य कर्महरूमा खादा सयौं वर्षदेखि बाँची नै रह्यो ।
३. हिन्दूहरूको फूलको मालाजस्तै खादा पनि धर्मका लागि वा केवल सांस्कृतिक कर्मका लागि मात्र पनि प्रयोग गरिन्छ । माला केवल फूल या पातको भए हुन्छ, खादा पनि कपडा मात्र भए पुग्छ । खादामा केही लेख्नैपर्ने कुनै बाध्यकारी मान्यता छैन । मालाको बीचमा कसैले ‘राम’ लेखेझंै, खादामा कसैले बुद्धको बन्दना लेख्छ भने कसैलाई आपत्ति हुँदैन ।
राजीव गान्धीलाई मालामै बम राखेर उडाइएको आशंकाजस्तै कसैले फ्री तिब्बत या केही लेख्छ भने त्यो माला वा खादा कसैले जिम्मा लिनुपर्ने विषय पनि होइन । जानकारहरू भन्छन्, पहिले पहिले खादा शुद्ध रेसमको हुन्थ्यो र त्यसमा ‘टासी–ढिलेक’ अर्थात अक्षरमा ‘मंगल–कामना’ मात्र लेखिन्थ्यो । अहिले भने सस्तो कपडाका धेरै बन्छन् र अक्षरमा बुद्ध बन्दना एवं कुलकुलायनको बन्दना आदि लेखिन थालिएको छ । जसरी हिन्दूले बर्जित मानेका फूलको माला उन्दैन, त्यसरी नै खादामा शंख, घडा, माछालगायतका आठवटा मंगल चिन्हलगायतको महायानी बौद्ध परम्पराले मान्ने बौद्ध चिन्ह नराखेको महायानीहरू राम्रो ठान्दैनन् तर त्यो पनि अनिवार्य रूढ मान्यता भने होइन । मालाजस्तै खादा वास्तवमा कपडाको प्रयोगद्वारा श्रद्धा र सम्मान व्यक्त गर्ने सांस्कृतिक सामग्रीबाहेक अरू केही होइन ।
४. माओवादी युद्धभन्दा पहिले तामाङ, शेर्पा र पश्चिम हिमालका भोटे यति धेरै राजनीतिमा कहिले आएका थिएनन्, अझ पार्टीहरूका नीति बनाउने स्तरमा समेत दाबी गर्न सक्ने त त्योभन्दा पहिले सम्भावना नै थिएन । माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीको बीच तहसम्म खास खास क्षेत्रमा हर्ताकर्ता बनिसकेका तामाङ, शेर्पा र भोटे नेताहरू बाहिर आए र तिनले आफ्नो परम्परागत खादा सार्वजनिक समारोहहरूमा लगाउन, लगाइदिन सुरु गरे । यो सुरु ताम्सालिङ क्षेत्रबाट भयो र क्रमैसँग देशैभरि फैलिन पुग्यो । पहिचानको मुद्दासँगै खादा पनि मधेससम्मै पुग्यो ।
बोक्न सजिलो, सस्तो, मालाजस्तो उन्न वा फूल पसल खोज्दै हिँड्न नपर्ने समग्रमा अरूभन्दा सरल ढंगले उपलब्ध हुने र काम भने मालाकै गर्ने भएर हुनुपर्छ, सबै समुदायले यसलाई क्रमश: अपनाउने स्थिति बन्न पुग्यो । संस्कृतिको प्रसार यसरी नै हुने रहेछ । नेपालका राजनीतिक पार्टीहरूमा सुरुदेखि रातो टीका र फूलको माला प्रयोग गर्ने समुदायबाट नेताहरू आए, त्यसैले उनीहरूले पार्टी संस्कृतिमा रातो टीका र फूलको माला प्रचलनमा ल्याए । आज अरू समुदाय पनि हक दाबी गर्ने स्तरमा आउन थाल्दा खादा मात्र होइन, मुस्लिम पर्वमा भाग लिन जाने अरू समुदायका मान्छेलाई मुस्लिम कार्यकर्ताले बिर्के सेतो टोपी लगाइदिने स्थितिसम्म बन्न पुगेको छ ।
यस्ता सांस्कृतिक र धार्मिक प्रतीकहरूबारे ठोस नीति केही नबनाएका राजनीतिक पार्टीहरूले कस्तो नीति बनाउलान् त्यो बेग्लै विषय हो । भौतिकवादीले खादालाई कसरी प्रयोग गर्न रुचाउला वा अन्य धर्मका मान्छेले के गर्लान् ? यो पनि उनीहरूबीच छलफल हुँदै जाला तर जसले जसरी पनि खादा प्रतीकलाई सम्मान र शुभकामनाका निम्ति प्रयोग गर्न सकिने हुनु भनेको धर्मनिरपेक्षता रुचाउने समाजका निम्ति एउटा गतिलो सांस्कृतिक वस्तु भने बन्न सक्ने सजिलै अनुभूति हुन्छ ।
५. हुन त नेपालमा बिप्ल्याँटो तर्कका धनीहरूले धेरै कुरा सुल्झन नदिने गरेका छन् । मलायाका मले महिलाका परम्परागत पहिरन लुङ्गी लाहुरे नेपाली पुरुषले ल्याएर महिलालाई लगाउन दिएको आधा शताब्दी भइसक्यो, कसैलाई वास्ता छैन । गुन्यु–चोलीको अछरितोपनबाट नेपाली महिला पन्जाबी कुर्ता सुरुवालमा गए, राष्ट्रिय पहिचानको चिन्ता कसैलाई भएन । टाई सुटको त कुरै गर्नु परेन, त्यो पश्चिमी गोराको पहिरनबारे जङगबहादुरको बेलायत यात्रापछि को बोल्ने ? तर नेपालभित्रकै सत्ताबाट बाहिर रहेको समुदायको कुनै चीज राष्ट्रिय जीवनमा आउन थाल्यो भने बल्ल तनाव सुरु हुन्छ र चिच्याएर भनिन्छ ? हेर त्यो मधेसीले धोती लगाएर शपथ लियो ? त्यतिबेला सीता माताका धर्म बाउ मानिएका जनक र गौतम बुद्धले नि त्यही धोती बेर्थे भन्ने इतिहास एकाएक गायब हुन्छ ।
६. खादा राष्ट्रिय जीवनमा आएर को दु:खी छ ? सबैलाई फाइदाबाहेक घाटा के भयो त ? घाटा केही पनि छैन । यसले प्रयोगकर्ता नेपालीको सांस्कृतिक जीवन सरल र सहज बनाएर नै सेवा गरेको छ । वर्गीय समाज भएकाले खादामा पनि वर्ग लाद्न सुरु भएको छ । एउटै मञ्चमा कसैलाई महँगो रंगीन खादा, कसैलाई सस्तो सादा खादा । यो विकृति जता पनि छ, त्यसविरुद्ध सचेत अभियान जरुरी हुनु बेग्लै पक्ष हो ।
७. जङगबहादुरको मुलुकी ऐनले ‘मासिन्या मतवाली’ किटान गरी मास्न तम्सेको तामाङ लगायतकाको यो सानो पहिचानको सामग्री बबुरो खादाले त मौका पाउँदा राष्ट्रिय जीवनलाई सरल र सहज बनाएर सबै समुदायका मानिसको सेवा गर्न सक्दोरहेछ भने नेपालको सिंगो राजनीतिले सबै सभ्यता र जातिको पहिचानलाई स्विकार्न सक्दा नेपालीको जीवन कति भव्यतातिर जान्थ्यो होला । ती उत्पीडित समुदायबाट आउने प्रतिभाहरूले कस्ता कस्ता प्रतिभा राष्ट्रका लागि देखाउँथे होला ?
लिम्बूको याङवेन बर्दियाको थारूले, थारूको घोंगी ताप्लेजुङको वालुङले खाँदा कस्तो होला ? जुम्लाको मतवाली खसले नेवारको अयला अनि थकालीको टिमुरको छोप सप्तरीको यादवले चाख्दा के होला ? मुसहरको मुसा, राउटेको बाँदर, चेपाङको चमेरो जल्ले खाला त्यल्ले जान्ला तर नेवारको धिमे र तामाङको डम्फुको ताल सुनेर अछामको ठकुरीलाई घाटा के होला ? मधेसको लोरी पहाडले सिकेर पहाडी बच्चालाई खतरा के ? हिमाली जिम्बूले तराईमा दाल झान्दा मीठासमा घट्ने के ?
आर्य वर्चस्वको तर्क खण्डन गर्न डा.हर्क गुरुङले भनेजस्तो यो देशमा काशी र ल्हासा गोत्रीय मात्रै जातिहरू छैनन् बरु आजको नेपालमा कम्तीमा चार सभ्यताका समुदायहरू छन् । सिन्धु घाँटीको मोहनजोदारो र हडप्पाको सभ्यता गुमाएका माटोपुजक द्रबिड र आस्ट्रकिहरू कोच सभ्यताका साथ नेपालमै छन् । ह्वाङगो र याङसी सभ्यताबाट आएका मंगोल मूलका प्रजातिहरू, गंगा मैदानबाट आएका वैदिक आर्य र ककेसिया हुँदै आएका माटोपूजक खस यहीँ छन् । यी सबै ५ हजारभन्दा बढी वर्षको इतिहास र ज्ञान बोकेका सभ्यता हुन् ।
ती सभ्यताका जातिहरूले जीवन दृष्टकोण, सौन्दर्य मूल्य, औषधिशास्त्र, खाद्यशास्त्र, वास्तुकला, संगीत, ललितकला र संस्कृतिका विशाल विरासत बोकेर आएका हुन् । ती सम्पदाहरू धेरथोर अझै उनीहरूसँग बाँकी छ । ती सबैलाई राष्ट्रिय रूपमा मान्यता, प्रोत्साहन र हक प्राप्त भए नेपाली समाजको भव्यता कहाँ पुग्ला ? पहिचानको मुद्दा सभ्यताहरूको सम्पदाको स्वस्थ एवं न्यायोचित एकीकरणको मुद्दा हो भनी बुझ्न अझै कति समय लाग्ला यो समाजलाई ? यो भेद किन खोलेर उज्यालो छर्न खुलेर आउँदैनन् समाजशास्त्रीहरू ?
यस्तो लाग्छ मधुमास मनाइरहेको खादा भनिरहेछ, ‘म त अपवाद हुँ, संयोगले राष्ट्रिय रंगमञ्चमा रम्न पाएँ तर हजारौं गुमनाम सांस्कृतिक सम्पदा हराउँदैछन्, मर्दैछन् । किन बुझ्दैनौ नेपाली शासकहरू ? म खादा हुँ, आज तिम्रो गलामा सजिएको छु तर दमनका दिनहरूमा म पनि कुनै तामाङ बूढी आमाको ढुसी परेको घ्याम्पोमा सडिरहेको थिएँ ।’
तस्विर :मगर बुद्धिस्ट यु केमा बुद्ध झन्डा र मुर्ती सहित
source:ekantipur.com