गोविन्द घर्ती
रुपन्देही, साउन २३ – रुपन्देहीको देवदहमा प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय नक आउट क्रिकेट प्रतियोगिता–२०७३ हुने भएको छ ।

देवदह क्रिकेट यूनिटको आयोजनामा यही साउन २९ गते देखि क्रिकेट प्रतियोगिता हुन लागेको हो । यूनिटले देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिईएको हो । सो अवसरमा बोल्दै यूनिटका अध्यक्ष रवि रेग्मीले क्रिकेट खेलको विकास गर्न र विद्यार्थीहरु वीच भएको प्रतिभाहरुलाई अगाडि ल्याउन प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । उहाले अहिले युवा पुस्ताहरु लागु औषध दुव्र्यसनीको रुपमा फसिरहेको अवस्थामा खेलमा आकर्षित गर्न यूनिटले क्रिकेट प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।
प्रतियोगितामा करिव २ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगद, ट्रफी, मेडल र द्धितिय हुने टिमले १२ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष रेग्मीले बताउनु भयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत पुरस्कारको व्यवस्था गरिएको रेग्मीले बताउनु भयो । प्रतियोगितामा ३२ टिमको सहभागिता हुने आयोजकले जनाएको छ ।
