बहुप्रतीक्षित चलचित्र ‘प्रतिविम्ब’ साउन २१ देखि देशव्यापी प्रदर्शन हुने

रूद्र श्रीसमगर

पोखरा, १९ साउन

पूराना निर्देशक किशोर रानाको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘प्रतिविम्ब’ यही साउन २१ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

मगर संस्कृतिमा आधारित बहुप्रतीक्षित नेपाली कथानक चलचित्र ‘प्रतिविम्ब’लाई च्यारिटी शोमार्फत् यसअघि नै दर्शकले रुचाएका थिए । चलचित्रमा सञ्चारकर्मी तथा गायक मनसुधन थापा, नायिका पवित्रा सारू ‘डिम्पल’, गायक कुमार राना, मिस मगर हङकङ कमला पुनलगायतका कलाकारहरूको अभिनय छ ।

द लाफा आर्टस् इन्टरनेशनलको ब्यानरमा निर्मित फिल्ममा किशोर रानाको लेखन र निर्देशन रहेको छ । राजकुमार ‘बगर’को शब्द, संगीत र कथा रहेको फिल्मको कोरियोग्राफी कमल राईले गरेका छन् । शंकर महर्जनको द्वन्द्व रहेको फिल्म यम आलेमगरले खिचेका हुन् ।

ज्ञानु थापामगर, के.बी राना, नेत्र थापा, चन्द्र ज्योति आलेमगर, अनिता रानामगर, छक्कु उदासी र गोमा पुनलगायतको २५ लाख रुपैयाँ लगानीमा बनेको सो चलचित्रमा लाहुरे संस्कृतिले पारेको प्रभावलाई देखाउन खोजिएको छ । च्यारिटी शोमार्फत् हेरेका दर्शकले चलचित्र मन पराइदिएको र अब पनि चलचित्रलाई दर्शकले मन पराउने विश्वास लिएको निर्माताहरूमध्येकी एक चन्द्र ज्योति आलेमगरले बताइन ।