पवित्रा पंगिनी
काठमाडौ,अषाढ ८– सांस्कृतिक संस्थानमा आरोह जनसंगीत यात्रा २३ सम्पन्न भएको छ । राष्ट्रिय जनसंगीत मञ्चको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा टुंगना सांगीतिक समुहको प्रस्तुति रहेको उक्त कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, जनसंगीत मञ्चका अध्यक्ष माधव प्रधान, प्राज्ञ उदय श्रेष्ठ, प्राज्ञ सदस्य अशोक राई, प्राज्ञ सानु पहाडी, जनसांस्कृतिक मञ्चका कार्यवाहक महासचिव प्रेमनाथ अधिकारी, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा लगायतका वरिष्ठ सर्जकहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि तथा वरिष्ठ नेता माधव कुमार नेपालले मादल बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए । साउन ८ गते दिनको ३ बजे शुरु भएको उक्त कार्यक्रममा टुङ्गना सांगीतिक समुहका कलाकारहरुले राष्ट्रियता झल्कने खालका करिब ८ वटा गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन जनसंगीत मञ्चका कलाकार अमृत खातीले गरेका यिए । कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो मन्तव्यको क्रममा राष्ट्रिय एकताको सन्देश बोक्ने खालका कार्यक्रमको प्रतियोगिता गर्ने र समयको माग अनुसार नयाँ नयाँ गीतहरु सिर्जना गरेर राष्ट्रको, समाजको र हाम्रो जीवनको यथार्थलाई प्रतिविम्बित गर्ने खालका प्रस्तुति दिनु आजको आवश्यकता औल्याए ।
सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले सांस्कृतिक संस्थान नेपालको एउटा साझा सांस्कृतिक थलोको रुपमा हाल विकसित हुँदै गएको र यसको विगतको परिचयमा परिवर्तन आएको बताएका थिए । कार्यक्रममा टुंगना सांगीतिक समुहको २ घण्टा लामो सांगीतिक प्रस्तुति रहेको थियो । पहिलो गीतमा साजन राईले जेवि थुलुङ्गको शब्दमा देश कहिले अन्तुमा काटिन्छ……भन्ने गीत गाएका थिए भने दोस्रो गीत स्मृति शाहीले म मरेर के भो…….र विछोडको करौतीले….गाएकी थिईन । त्यसैगरी साजन राईले तिमी गयौ ….., पूर्वको माया पश्चिमलाई………., भञ्याङ्ग डाँडामा……जस्ता राष्ट्रिय गीत गाएका थिए । अमृत खातीले कोही भन्छन मलाई काले……., चोली फाट्यो…….जस्ता राष्ट्रियता झल्कने खालका गीतहरु प्रस्तुत गरेका थिए । वाधवादनमा तबला/ढोलकमा भगिरथ सुस्लिङ, मादलमा पोषण घर्ती मगर, किबोर्डमा रमेश सुवेदी, बेस गिटारमा आकाश गोर्खाली, रिदम गिटारमा दिवस श्रे्रष्ठ, बाँसुरीमा विष्णु घतानी, त्यसैगरी अक्टोप्याडमा कुमार पौडेलले साथ दिएका थिए ।