राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकीको अध्यक्षमा गुरुङ

Read Time:11 Minute, 13 Second

रूद्र श्रीस मगर

पोखरा, ३१ असार- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्चलको चौथो अधिवेशनले शंकर ‘विरही’ गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । नेतृत्वका अर्का दाबेदार घनश्याम रिजालले अन्तिम अवस्थामा नेतृत्व दाबी छोडेपछि गुरुङ सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

निर्वाचन हुँदा गुरुङको पक्षमा बहुमत सदस्यको मत जाने निश्चित देखेपछि उहाँ पछाडि हट्नुभएको थियो । अब हुने केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्यमा मनोनयन गर्न पहल गर्ने अग्रजहरूले उधारो आश्वासन दिएपछि उहाँ नेतृत्व दौडबाट पछाडि हट्नुभएको हो । कार्ययोजना बनाएर नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका नवनिर्वाचित अध्यक्ष शंकर ‘विरही’ गुरुङले निर्वाचित भएपछि प्रतिक्रिया दिँदै लोक दोहोरी क्षेत्रमा देखिएको विकृति विसंगतिलाई अन्त्य गर्न पहल गर्ने बताउनुभएको छ । केही कार्ययोजना अध्यक्षको दाबेदारी अन्तिम अवस्थामा छोडेका रिजालको कार्ययोजनासँग मिल्ने भएकोले काम गर्न सहज हुने उहाँको भनाइ छ । ‘हाम्रा केहि कार्ययोजना मिल्दाजुल्दा भएकोले काम गर्न सहज हुन्छ’ उहाँले थप्नुभयो, ‘मेरो कार्ययोजनामा रहेका साठी प्रतिशत कार्यक्रम एक वर्षमा पूरा गर्छु ।’ प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा सीता केसी, प्रथम उपाध्यक्षमा अम्मर धिताल, द्वितीय उपाध्यक्षमा जयकुमार परियार, महासचिवमा सुरेन्द्र गुरुङ, सचिवमा राजन कार्की, कोषाध्यक्षमा विजय केसी र सह–कोषाध्यक्षमा मञ्जु वि.क. सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी, कार्यसमिति सदस्यमा युवराज भण्डारी, राजेन्द्र सुवेदी, रामजी पौडेल, प्रदीप त्रिपाठी, होम गुरुङ, चन्द्रा कार्की, निश्चल थापामगर, धनबहादुर गायक, शंकर पन्त, भोला भण्डारी, कृष्ण भण्डारी, इन्द्र गुरुङ, कल्पना केसी र तारादेवी थापा रहनुभएको छ । शिव केसी, अर्जुन गैरे, केशव देवकोटा, शिवहरि ढुङ्गाना र निशा पोखरेल सचिवालय सदस्यमा चयन हुनुभएको छ ।

यसअघि प्रतिष्ठान गण्डकीको वरिष्ठ उपाध्यक्ष रहेका नवनिर्वाचित अध्यक्ष गुरुङले अधिवेशनको मिति भन्दा झण्डै दुई महिना अगाडि आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको थियो । उहाँले कलाकार कल्याणकारी कोष अभिवृद्धि गरि ११ लाख ११ हजार १ सय ११ पु¥याउने, गण्डकी अञ्चल भित्रका सबै लोक तथा दोहोरी गायक, गायिका, संकलक, वाद्यवादकहरूको हक हितको लागि काम गर्ने तथा अन्य स्थानबाट पोखरा आएर बसेका सबै कलाकारलाई एकीकृत गर्दै लैजाने योजना बनाउनुभएको छ ।

यसैगरी, सामुदायिक र निजी विद्यालयहरूमा लोक गीत, लोक तथा दोहोरी, लोक संस्कृतिसम्बन्धी प्रशिक्षण कार्यक्रम, प्रतियोगिता सञ्चालन गर्दै विद्यार्थीहरूमा लोकगीत, लोकदोहोरी, लोक संस्कृतिसम्बन्धी जानकारी अभियान सञ्चालन गर्ने र लोकदोहोरी गायक, गायिका, संकलक, वाद्यवादकहरूलाई विभिन्न विद्यालयहरूमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति शिक्षक स्थापित गर्न पहल गर्दै सामाजिक कार्यहरूलाई निरन्तरता दिने योजनामा उहाँ हुनुहुन्छ ।

नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार र तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारलाई व्यवस्थित गर्नको लागि छुट्टाछुट्टै कोषको स्थापना गर्ने, लोकदोहोरी कलाकार बचत तथा ऋण सहकारी स्थापना गर्ने, लोकगीत, लोकदोहोरी, लोक संस्कृतिको विकास र सम्बद्र्धनका लागि सम्बधित सबै पक्षहरूसँग सरसल्लाह गर्दै त्यस सम्बन्धी विभिन्न अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्दै अगाडि बढ्ने र प्रतिष्ठान केन्द्रसँग सहकार्य गर्दै लोक दोहोरी भित्रका विकृति र विसंगतिहरूलाई हटाउन पहल गर्ने महत्वकांक्षी योजना उनको छ ।

मनकामना–४, आरुखर्क स्याङ्जामा जन्मिएका गुरुङको औपचारिक यात्रा वि.स. २०६० सालमा ‘लाग्न थाल्यो आश’ एल्बम बजारमा ल्याएर भएको थियो । पहिलो एल्बम बजारमा आएको सातवर्षपछि गत २०६७ सालमा दोस्रो एल्बम ‘खोली तरौंला’ बजारमा निकाल्नुभएको थियो । त्यसपछाडि लोकदोहोरी एल्बम ‘फोनै आएन’, ‘सालैजो’ र ‘आउँदैन र झल्को’ लगायतका एल्बम बजारमा ल्याइसकेका छन् । वि.स २०३३ सालमा मनकामना–४, आरुखर्क स्याङ्जामा बुबा पिताम्बर तथा आमा हरिकला गुरुङको पहिलो सन्तानको रुपमा उहाँको जन्म भएको हो । हाल गुरुङ पोखराको माटेपानीमा बस्दै आउनुभएको छ ।

उहाँले केही गुरुङ भाषाका गीतमा स्वर दिनुभएको छ । विशेषगरी, लोक दोहोरी प्रतियोगितामा भाग लिने गरेका गुरुङ लुम्बिनी वाणिज्य क्याम्पस बुटबलले आयोजना गरेको अन्तरक्याम्पसस्तरीय लोक दोहोरी प्रतियोगिता, रेयुकाई नेपाल बुटबल शाखा, राष्ट्रिय भाषा–भाषी गीत सम्मेलन गोर्खा, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता बुटबल, राष्ट्रिय लोक दोहोरी प्रतियोगिता बाग्लुङ लगायतका थुप्रै प्रतियोगितामा पुरस्कृत भइसक्नुभएको छ । वि.सं. २०५७ सालपछि भने प्रतियोगितामा भाग लिन उहाँले छोड्नुभयो । पेशाको रुपमा शिक्षक समेत रहेका गुरुङले व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ हाम्रो दोहोरी साँझ पोखराको सञ्चालक समेत हुनुहुन्छ । प्रतिष्ठान स्याङ्जा जिल्ला समितिको साधारण सदस्यबाट यात्रा सुरु गर्दै प्रतिष्ठान गण्डकीको उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएको थियो । उहाँले आफ्नो अफिसियल वेभसाइट भर्खरै सञ्चालनमा ल्याउनुभएको छ ।

यता, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्चल कार्यसमितिको चौथो अधिवेशनमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । अधिवेशनको अवसरमा गीत संगीतका क्षेत्रमा सहयोग गर्ने पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको हो । यस वर्ष अग्रज स्रष्टा सम्मानबाट प्रतिष्ठानका पूर्व अध्यक्ष कल्याकारी कोषका अध्यक्ष दुर्गा रायमाझी, स्व. नरबहादुर परियार स्मृति कलाकारिता सम्मान गोरखाका रामचन्द्र अर्याललाई प्रदान गरिएको थियो । यस्तै, स्व. तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार यस वर्ष शुक्रबार साप्ताहिकका पत्रकार मनोज घर्तीमगरले पाउनुभएको छ ।

सबैको राशी पाँच हजार पाँच सय ५५ र सम्मान पत्र छ । स्व. टेकबहादुर केसी क्रियाशील कलाकारिता पुरस्कारबाट मीना गुरुङ र कलाकार कल्याणकारी कोषबाट नव प्रतिभा राजु केसीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि नगद तीन हजार तीन सय ३३ र सम्मान पत्र छ । त्यसैगरी, उत्कृष्ट शाखामा कास्की, उत्कृष्ट संरक्षक सल्लाहकारमा भीम भट्टराई, उत्कृष्ट सदस्यहरूमध्येबाट सीता केसी र सुरेन्द्र गुरुङ सम्मानित भएका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माले लोक दोहोरी क्षेत्र राज्यले उपेक्षा गरेको बताउनुभयो । यो क्षेत्रमा ‘सिस्टम’ नबस्दा समस्या भने भएको उहाँको भनाइ थियो । कार्यक्रममा लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाले लोकगीतमा देखिएका विकृति र विसंगतिलाई हटाउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी अञ्चल कार्यसमिति अध्यक्ष जीवन दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकर ‘विरही’ गुरुङले स्वागत र महासचिव घनश्याम रिजालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । अधिवेशनको उद्घाटन सत्रमा लोक दोहोरी कलाकारले अनावश्यक भाषणमा बढि समय खर्च गरे । जसले गर्दा उद्घाटन सत्रको कार्यक्रम लम्बिन पुग्यो । बन्द सत्रमा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुना साथ पारित भए । भावी कार्यक्रम र अहिलेसम्म भए गरेका कार्यक्रमको समीक्षा गर्न तर्फ कोही कसैले साहस भने गरेनन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %