मोडलिङमा अघि बढ्दै करुणा

Read Time:4 Minute, 3 Second

रूद्र बहादुर श्रीस मगर

करुणा पुन मोडलिङमा उदाउँदै गरेकी एक सम्भावना बोकेकी कलाकार हुन् । बागलुङको गलकोट हरिचौर–१ मसारमा जन्मिएकी करुणाले पृथ्वी उच्च मावि हरिचौर–५ बाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । एकता आवासीय मावि हरिचौर–२ बाट प्रवेशिका उत्तीर्ण गरेकी उनी अहिले काठमाडौंमा बसेर आफ्नो उच्च शिक्षा अध्ययनलाई निरन्तर अघि बढाइरहेकी छिन् । एसियन कलेज अफ हाइअर स्टडिजमा व्यवस्थापनमा स्नातक अध्ययनरत करुणा सानैदेखि नाचगानसँग परिचित भइन् । समुदायगत विशेषताका कारण पनि उनले आफ्नै समाजबाट नाच्न र गाउन सिकिन् । राम्रो नृत्याङ्गनाका रूपमा आफूलाई स्थापित गर्न प्रयासरत करुणा ‘लेट मी डान्स नेपाल’मा उत्कृष्ट २० मा पुग्न सफल भइन् भने ‘नेपाल वान गायन प्रतियोगिता’मा उत्कृष्ट ९९ मा पुग्न सफल भएकी थिइन् ।

मोडल एवं नवोदित म्यूजिक भिडियो निर्देशक गोविन्द पुनले निर्देशन तथा निर्माण गरेको गाउँको म्यूजिक भिडियो ‘मेरो पाण्डवखानी…’मा मोडलिङ गरेकी करुणाले लोकगायक नवीन रानाको ‘नौतुनादेखि…’बोलको सालैजोको म्यूजिक भिडियोमा मोडलका रूपमा डेब्यु गरेकी हुन् । करुणाले म्यूजिक भिडियो खेल्नु अघि इन्टरनेपालका लागि कल्चरल फोटो सुट समेत गराइसकेकी छिन् । पछिल्लो म्यूजिक भिडियोका रूपमा युट्युब मार्फत समेत सार्वजनिक भइसकेको पाण्डवखानी गाउँको म्यूजिक भिडियोमा करुणाको मोडलिङलाई धेरै मन पराएका छन् । बजारमा छिटै आउन लागेको मौलिक सालैजोमा समेत करुणाले मोडलिङ गरेकी छिन् । उनको भूमिकालाई धेरैले प्रशंसा गरेका छन् ।

नयाँ नयाँ कुराको खोजी गर्न सांस्कृतिक कार्यक्रममा नाच्न र गाउन रुचि राख्ने उनी भविष्यमा आफ्नो उच्च शिक्षा पूरा गर्ने योजनामा छिन् । मोडलिङमा लागिरहँदा परिवारको साथ र सहयोग रहेको उनको जिकिर छ । मोडलिङ र नृत्य क्षेत्रमा समेत सकेसम्म निरन्तरता दिने उनको सोंच छ । मौलिक सांस्कृतिक नृत्य गर्न पाउँदा उनलाई गौरव लाग्छ । उनी भन्छिन्- ‘नयाँ कुरा सिक्न पाइरहेको हुन्छ, मौलिक सांस्कृतिक नृत्य गर्नुको मजा नै बेग्लै छ ।’

मोडलिङमा लाग्दाखेरिका अनुभव उनी यसरी सुनाउँछिन्, ‘सुरुमा त गाह्रै भयो, क्यामरा फेस नगरेकाले पनि होला बाहिर लाइभ डान्स गरेजस्तो पनि नहुने तर अहिले स्टेज शोहरूमा पनि आत्मविश्वास बढेको छ खुशी नै छु ।’ अग्रजहरूको निकै प्रेरणा र हौसलाले आफूलाई अघि बढ्न सहज भएको बताउँदै उनी आगामी दिनमा अझै आफूलाई निखारेर अघि बढ्ने बताउँछिन् । उनले म्यूजिक भिडियोमा आफ्नो कामलाई हेरेर दर्शकबाट प्रतिक्रिया सल्लाह र सुझावको समेत अपेक्षा गरेकी छिन् ।

प्रस्तुती ः रूद्र श्रीसमगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %