देब पचभैया पाल्पा,
असार, १४-विप्लप नेतृत्व माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष राजकुमार पन्थीलाई र मजदुर संगठनका ज्ञानबहादुर श्रीस (भीषण)लाई प्रहरीले पक्राउ गरेको छ । आइतबार शिक्षा कार्यालय पाल्पाका विद्यालय प्रशासन शाखाका अधिकृत रेशमलाल न्यौपानेलाई कालोमोसो लगाएको विषयमा अनुसन्धान गर्न प्रहरीले पन्थी र श्रीसलाई आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हरिराज वाग्लेले कालोमोसो दलेको विषयमा अनुसन्धान गर्न दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताउनुभयो । कानुनविपरीत कार्य गर्ने जोकोहीलाई पनि कारबाही हुने बताउँदै उहाँले यस्तो गतिबिधि गर्नेमाथि निगरानी भईरहेको उल्लेख गर्नुभयो ।
पक्राउ परेका पन्थीले भने आफू घरबाट बुवालाई अफिसमा छोड्न आएको बेलामा तानसेनको धोवीधाराबाट प्रहरीले बिनाकारण पक्राउ गरेको बताउनुभयो । उहाँले कालोमोसो लगाएको घटनामा आफू संलग्न नभएको जिकिर गर्दै पुष्टि गर्न प्रहरीलाई चुनौती दिनुभयो । यस्तै मदजुर सङ्गठनका नेता श्रीसले विनाकारण डेरामा सुतिरहेको अवस्थामा आफूलाई पक्राउ गरेको दावी गर्दै सामान्य मानवअधिकारको पनि प्रहरीले ख्याल नगरेर हिरासतमा भोकभोकै राखेको गुनासो गर्नुभयो ।
यसै बिच निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पाल्पाले शिक्षा कार्यालयका शाखा अधिकृत रेशमलाल न्योपानेलाई आफुलाई नेकपा माओवादी बताउने समूहबाट भएको अभद्र व्यवहारप्रति खेद प्रकट गरेको छ । युनियनले सोमबार प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमलाई भेटेर कर्मचारीप्रति भएको अभद्र व्यवहारका विषयमा जानकारी गराउँदै शान्ति सुरक्षाका विषयमा गम्भीर हुन आग्रह गरेको छ । युनियनको टोलीले भेटेर शान्ति सुरक्षाका निकायप्रति ध्यानाकर्षण गराउँदै कर्मचारीलाई निर्भयपूर्वक काम गर्ने वातावरण मिलाउन माग गरेका हुन् ।
(भिडियो रिपोर्ट सहित) कारबाहीको माग गर्दे कर्मचारी आन्दोलित, दुई जना पक्राउ
{youtube}https://youtu.be/x3XxvP9td6Q{/youtube}