रूद्र श्रीसमगर
पोखरा, ८ असार
सजायँ नगर अभियान प्रति ऐक्यबद्धता जनाउँदै लागू औषध नियन्त्रणका लागि विश्व कार्य दिवसका सन्दर्भमा युथ राइज नेपालले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल प्रहरीको टिम विजयी भएको छ ।
बुधबार भएको प्रतियोगिता लागू औषधले पु¥याउने हानी न्यूनीकरणका सेवा प्रदायक तथा सेवाग्राहीको टिमलाई १२–९ गोल अन्तरले नेपाल प्रहरीको टिमले पराजित गरेको हो । नेपाल प्रहरीको टिम कप्तान लागू औषध नियन्त्रण ब्यूरो पोखराका प्रमुख प्रहरी निरीक्षक रविन्द्र मान गुरुङ र सेवा प्रदायक तथा सेवाग्राहीको टिम कप्तान दिलीप गुरुङ रहेका थिए ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले खेल खेल्नु स्वास्थ्यका लागि निकै उपयोगी भएको बताए । मैत्रीपूर्ण खेलले लागू औषध नियन्त्रणमा महत्वपूर्ण टेवा पु¥याउने भन्दै प्रहरी नायब उपरीक्षक बज्राचार्यले युवाहरूलाई खेलमा व्यस्त बनाउन सके गलत बाटोमा जानबाट रोक्न सकिने उल्लेख गरे । साथै मैत्रीपूर्ण प्रतियोगिताले नेपाल प्रहरी र जनता बीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको प्रहरी नायब उपरीक्षक बज्राचार्यको भनाइ थियो ।
बगर भाइखलकका अध्यक्ष दिलकाजी गुरुङले खेलले मानिसको स्वास्थ्यलाई तन्दुरुस्त राख्न मदत गर्ने जनाउँदै आपसी मित्रता कायम गर्नमा समेत खेलको ठूलो हात रहने बताए । कार्यक्रममा युथ राइज नेपालका फोकल पर्सन मनिष गुरुङ र गेट वे फाउण्डेशन नेपालका परामर्शदाता अमृत कुमार भट्टराईले पनि बोलेका थिए ।