प्रथम खुल्ला सोरठी प्रतियोगीता ०७३

Read Time:6 Minute, 8 Second

मेजन पुन

पोखरा-नेपालको विविध संस्कृतिहरू मध्ये सोरठी मादले मारुनी नाच पनि एक हो । यो नाच अन्य जातिहरूमा (थारु, गुरुङ) पनि पाइन्छ तथापि यो नाच नेपालको पश्चिमी भेग (म्याग्दी, बाग्लुङ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी आदि) मा नचाएको पाइन्छ । हुन त, मारुनी नाचलाई गाउँ र स्थानीय चलन अनुसार विभिन्न रूपमा नामाकरण गरिएको छ । उदाहरणको लागि कतै ‘ठूलो नाच, कतै ‘सोरठी, कतै ‘ख्याली, कतै पूख्र्यौली त कतै ‘नचरी भन्ने गरेको पाइन्छ ।

मारुनी नाचको आफ्नै खालको छुट्टै विशेषता छ । यो नाच नाच्ने क्रममा पुरूषको मात्र आवश्यक पर्छ । यसमा केटीहरू नाच्ने चलन छैन । दुई जनादेखि चार जना (ठाउँ अनुसार) सम्म कुनै केटा मानिस (विशेष गरी तन्नेरी) लाई केटीको पहिरन चोला, गुन्यु, पटुका, घल्याक, पछ्यौरा, माला, हातमा रैया (चाँदीको बाला) लगाई केटी बनाइन्छ । उनीहरूलाई नाचको अवधिभरि “मारुनी” भनेर बोलाइने चलन छ । तसर्थ यही शब्दबाट उक्त नाचको नाम ‘मारुनी नाच रहन गएको हुनसक्छ । यस नाचको लागि मारुनीहरूको ठूलो भूमिका हुन्छ । मारुनी नभए चन्द्रमा बिनाको रात जस्तो हुन्छ । यो नाचमा मुख्य मादलेको पनि महत्वपूर्ण भूमिका रहन्छ । उसैलाई हेरेर उसको नाचको ताल अनुसार नाचिने गरिन्छ ।

मारुनी केटा नै किन बन्ने, केटी मान्छे किन बनेर ननाचेको हो भन्ने कुराको यथार्थता अझै थाहा नभए पनि बुढापाकाहरुको भनाई अनुसार छोरी मान्छे घरको ईज्जत भएको हुँदा उनीहरु नाच्न हुँदैन भन्ने कुरा अझै पनि गरिन्छ । छोरी मान्छे नाच्दा नराम्रो ठान्ने कारणले छोरा मान्छेलाई नै छोरी मान्छेको लुगा लगाएर नचाउने गरिन्थ्यो । जो कालान्तरसम्म रहयो ।

यी बाहेक अरू मानिसहरू पनि सहभागी हुन्छन् । उनीहरू दुई समूह बनाएर गुन्द्री, पराल बिछ्याइएको ठाउँमा बसेर गीत गाउँछन् । सोरठी गीत एउटा ऐतिहासिक कथा बस्तुलाई गीतको भाकामा ढालेर गाउने गरिन्छ । यो मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा मौखिक हस्तान्तरण हुँदै आइरहेको छ । यस गीतको कथाको मुल विषय बस्तु एउटै भएतापनि गाउने तरिका, हाँगा र शब्दहरू ठाउँ अनुसार फरक फरक (आफ्नै प्रकारको) पाइएको छ । सोरठीको १६ हाँगा भन्ने भनाई पाइन्छ तर अलिखित रहेको हुँदा सबै हाँगा संकलन गर्न पनि गाह्रो हुन्छ । पुन समुदायको आख्यान करबाकेलीको कथा वस्तुलाई पनि सोरठी गीतमा गाउने चलन छ ।

मारुनी नाच दिउँसो तथा राती दुवै समयमा नाच्ने गरेको पाइन्छ । नाचमा विशेष गरी बुढापाकाहरूको बढी रुची र सहभागिता भएको पाइन्छ । यो नाच विहे, छेवर पास, चाड पर्व वा बधाई दिने क्रममा सम्बन्धीत व्यक्तिको घरमा नाच्ने गरिन्छ । नाचमा देवीदेवता, कुलदेवताको नाम लिदै शुरु गर्नुपर्दछ । यस नाचमा मादल विभिन्न तालमा बजाइन्छ ।

पुन समुदायभित्र बुढापुस्तामा जीवित रहेको यो पूख्र्यौली (सोरठी) लाई युवा पुस्तासम्म हस्तान्तरण गर्न २०७३ साल असोज ७ र ८ गते पोखरामा पूख्र्यौली (सोरठी) प्रतियोगिता आयोजना गर्ने निर्णय पारित भएको छ । यसको लागि आज मिति २०७३ साल असार ४ गते पुन समाजको भवन, रामघाटमा एक भेला बसेर विभिन्न निर्णय पारित गरेको छ । पूख्र्यौली प्रतियोगीतामा प्रथम, द्वितिय र तृतीयलाई क्रमश ५० हजार, ३० हजार र २० हजार पुरस्कार राखिएको छ भने पोखरा नगर बाहिरबाट आएका प्रतियोगीहरुलाई ५ हजार र दुई दिन सम्म खानाको व्यवस्था समेत गरिएको छ । कार्यक्रममा सर्वोत्कृष्ट मादले, भेषभुषा, भाका, अनुशासनलाई समेत विशेष सम्मान गरिने भएको छ ।

प्रतियोगीतामा एक समुहबाट कम्तीमा १५ जनाको समुह, समुहमा युवाहरु ४० प्रतिशत सहभागी रहने गरि पर्वत, म्याग्दी, तनहुँ, कास्की, चितवन, रुपन्देही, नवलपरासी र काठमाडौंमा पत्राचार गरिने छ भने यस कार्यक्रमको लागि निर्णायक मण्डल, प्रचार प्रसार समिति, आर्थिक समिति, अतिथि सत्कार, स्वयमसेवक समिति आजै गठन गरिएको छ । यस कार्यक्रमको मुल व्यवस्थापन समिति संयोजकमा पुन क्लब पोखराका अध्यक्ष विरेन्द्र पाईजा र सहआयोजकमा पुन समाज नगर समिति र जिल्ला समिति रहने निर्णय पारित गरिएको छ । जसको लागि देश विदेशमा समेत पत्राचार गरिने छ ।

प्रचार–प्रसार समिति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %