रूद्र श्रीसमगर
पोखरा, असार ३- पर्वतको देउरालीका एक जना लाहुरेले आफ्नै गाउँलाई वृत्तचित्रमार्फत् देश, विदेशमा चिनाउने अभियानमा छन् । हाल सिंगापुर प्रहरीमा कार्यरत रहेका पर्वतको देउराली गाविस वडा नं. ४ र ५ पूर्णगाउँनिवासी अशोककुमार अर्मजा पुन मगर ‘विवेक’ले आफ्नै लगानीमा आफू जन्मेको गाउँको वृत्तचित्र निर्माण गरेका हुन् ।
पूर्णगाउँको भौगोलिक, प्राकृतिक, धार्मिक एवं सांस्कृतिक अवस्थालाई प्रतिविम्बित गर्ने गरी निर्माता विवेकको आफ्नै लेखन तथा निर्देशनमा निर्माण गरिएको वृत्तचित्र १ घण्टा १५ मिनेटको छ । शुक्रबार पोखराको विन्ध्यवासिनी चलचित्र मन्दिरमा प्रदर्शन गरिएको पूर्णगाउँको वृत्तचित्र हेर्न पोखरेली दर्शकले उल्लेख्य उपस्थिति जनाए ।
वृत्तचित्रमा पूर्णगाउँमा बाहुल्यता रहेको मगर जाति त्यसमा पनि पुन मगरहरूको वर्षभरि हुने जन्म, विवाह एवं मृत्यु संस्कारसम्मलाई पनि प्रस्तुत गरिएको छ । पूर्ण गाउँमा मनाइने चाडपर्वहरू हरेलो, साउने संक्रान्ति, दशैं, तिहार, माघे संक्रान्ति, महाशिवरात्री, भूमे पूजालगायतलाई समेत वृत्तचित्रमार्फत् देखाइएको छ । ‘वृत्तचित्र हेर्न पनि यतिका धेरै दर्शकको ओइराले म उत्साहित भएको छु’, वृत्तचित्रका निर्माता विवेकले भने, ‘आफू जन्मेको गाउँलाई देश, विदेशमा चिनाउन वृत्तचित्र बनाएँ, वृत्तचित्रलाई धेरैल मन पराइदिनुभयो ।’
वृत्तचित्र निर्माण गरेर आफूले गाउँलाई केही दिन सकेको अनुभूति भएको भन्दै उनले भने, ‘वृत्तचित्रमा भएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गरेर अघि बढ्छु ।’ वृत्तचित्रमा पूर्ण गाउँमा बसोबास गर्ने पुन मगरहरूको कुलायन पूजा तथा कुल देवता करबाकेलीका बारेमा समेत धेरै कुरा समेटिएको छ । भूमे युवा क्लब, पूर्णगाउँको व्यवस्थापनमा प्रदर्शन भएको वृत्तचित्रमा पूर्णगाउँमा रहेको जीवित लोकसंस्कृति सोरठी, झ्याउरे, यानीमाया, सुनीमायालगायतलाई समेत सशक्त रूपमा प्रस्तुत गरिएको छ ।