सिंगापुरे लाहुरेले बनाए आफ्नै गाउँको वृत्तचित्र विन्ध्यवासिनी हलमा

Read Time:3 Minute, 25 Second

 रूद्र श्रीसमगर

  पोखरा, असार १ -लाहुरेहरू भन्ने बित्तिकै धेरैजसो रमाइलो र खानपानमा बढी खर्च गर्ने विलासी मान्ने गरिन्छ । अधिकांश लाहुरेहरूले विदेशमा कमाएको धन ऐस आराम र विलासीमा खर्च गर्ने गरेकामा एक जना सिंगापुरे लाहुरेले भने आफ्नै गाउँलाई वृत्तचित्रमार्फत् देश, विदेशमा चिनाउने अभियानमा छन् । हाल सिंगापुर प्रहरीमा कार्यरत रहेका पर्वतको देउराली गाविस वडा नं. ४ र ५ पूर्णगाउँनिवासी अशोककुमार अर्मजा पुन मगर ‘विवेक’ले आफ्नै लगानीमा आफू जन्मेको गाउँको वृत्तचित्र निर्माण गरेका हुन् । 

पूर्णगाउँको भौगोलिक, प्राकृतिक, धार्मिक एवं सांस्कृतिक अवस्थालाई प्रतिविम्बित गर्ने गरी निर्माण गरिएको वृत्तचित्र करिब सवा घण्टाको छ । वृत्तचित्रका निर्माता अशोकका अनुसार वृत्तचित्रमा पूर्णगाउँमा बाहुल्यता रहेको मगर जाति त्यसमा पनि पुन मगरहरूको वर्षभरि हुने जन्म, विवाह एवं मृत्यु संस्कारसम्मलाई पनि प्रस्तुत गरिएको छ । पूर्ण गाउँमा मनाइने चाडपर्वहरू हरेलो, साउने संक्रान्ति, दशैं, तिहार, माघे संक्रान्ति, महाशिवरात्री, भूमे पूजालगायतलाई समेत वृत्तचित्रमार्फत् देखाइएको छ । ‘हरेक चोटि छुट्टीमा आउँदा गाउँ जाने गरेको छु’, वृत्तचित्रका निर्माता अशोकले भने, ‘आफू जन्मेको गाउँलाई देश, विदेशमा चिनाउन वृत्तचित्र बनाउने सोंच पलायो ।’

वृत्तचित्र निर्माण गरेर आफूले गाउँलाई केही दिन सकेको अनुभूति भएको भन्दै उनले भने, ‘अब वृत्तचित्रमार्फत् गाउँलाई देश, विदेशमा चिनाउन सकेकोमा खुशी छु ।’ वृत्तचित्रमा पूर्ण गाउँमा बसोबास गर्ने पुन मगरहरूको कुलायन पूजा तथा कुल देवता करबाकेलीका बारेमा समेत धेरै कुरा समेटिएको निर्माता अशोकले बताए । पूर्ण गाउँको वृत्तचित्र यही असार ३ गते पोखराको विन्ध्यवासिनी चलचित्र मन्दिरमा बिहान सवा दश बजे प्रदर्शन गरिन लागिएको निर्माता अशोकले जानकारी दिए । भूमे युवा क्लब, देउराली, पूर्णगाउँ, पर्वतको व्यवस्थापनमा पोखरामा सो वृत्तचित्रको प्रदर्शन हुन लागेको हो । वृत्तचित्रले पूर्ण गाउँको विकास निर्माणको अवस्थालाई समेत उजागर गरेको निर्माताको भनाइ छ । वृत्तचित्र हेरेर सल्लाह, सुझाव दिन निर्माणपक्षले आग्रह समेत गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %