नारायण गाउँले
लन्डन । विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरण विषयक साहित्य सम्मेलन गर्ने भएका छन् । साहित्यमा प्रकृति र वातावरणको सौन्दर्य चर्चा हजारौं वर्षदेखि हुँदै आए पनि यसको संरक्षणात्मक र चेतनामूलक प्रयोगको आवश्यकता आज टड़कारो बनेको छ । यसैलाई लक्षित गर्दै बेलायतस्थित प्राय: सबै साहित्यिक संघसंस्थाको संयुक्त आयोजनामा यस्तो सम्मेलन गर्न लागिएको संयोजक विजय हितान मगरले बताए । मगर विगत केही वर्षदेखि वातावरण साहित्यमा निरन्तर क्रियाशील अभियन्ता हुन् । सम्मेलन आगामी जून ४ मा लण्डनको प्लमस्टिडमा सम्पन्न हुनेछ ।
स्वस्थ जीवन र समृद्ध पृथिवीका निम्ति वातावरणको स्वस्थता अनिवार्य रहेको छ । विश्वव्यापी रूपमा वातावरणमा आएको ह्रासले गर्दा जीवनको गुणस्तर ओरालो लागेको प्रति चिन्ता गर्दै साहित्यलाई वातावरणमुखी र जीवनमैत्री बनाउन यस्तो साहित्यिक प्रयास बहुमूल्य हुने आयोजक डा रूपक श्रेष्ठको भनाइ छ ।
सम्मेलनको आयोजन सातवटा साहित्यिक संघसंस्थाले गर्दै छन् । सम्मेलनमा एनआरएन युकेको भाषा साहित्य विभाग, विश्व साहित्य महासंघ युके, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अनेसास युके, अन्तरराष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान, नेपाली साहित्य विकास परिषद्, नेपाल मुक्तक प्रतिष्ठान तथा समकालीन साहित्य प्रतिष्ठानको संयुक्त सहभागिता रहनेछ । विश्वकै जल्दोबल्दो विषयमा सघन चेतनामूलक कार्यक्रम आयोजना हुनु र त्यसमा सबै साहित्यिक संघसंस्थाहरू गोलबद्ध हुनु आफैमा प्रसंसनीय रहेको एनआरएन भाषा साहित्य विभागकी सदस्य मन्जू भण्डारीले बताइन् ।
ऐतिहासिक रूपमा वातावरण केन्द्रित साहित्य सम्मेलनको सफलताका निम्ति बेलायतस्थित सबै मिडियाहरूले पनि सहयोग गर्दै छन् । यहाँका प्रायःजसो सबै छापा, अनलाइन र टिभीहरू यसका मिडिया पार्टनर छन् ।जस मध्य गुर्खा च्यानल, रेडियो बिजिडब्लूयस, बिएफबीएस गुर्खा रेडियो, नेपाल ब्रिटेन डटकम, एभरेस्ट टाइम्स, वी नेपाली डटकम, नेपाली समाचार डटकम, युरोपको नेपाली पत्र तथा नयाँ समाचार डटकम मुख्य छन् ।
सम्मेलनलाई नेपाल पत्रकार महासंघ बेलायत र नेपाल आदिवासी जनजाति पत्रकार संघको सहयोग रहेको छ । आफ्ना उत्कृष्ट वातावरण मैत्री रचनाका साथ उपस्थित हुन सबै भाषा साहित्य प्रेमीमा अपील गरिएको संयोजक विजय हितानले जानकारी गराए ।