राज्यसत्ता
काठमाडौं, ३१ वैशाख
उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’लाई यूके मगर संघले सम्मान गरेको छ । शुक्रबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगी यूके मगर संघका अध्यक्ष नेम थापाले देशको उच्च अाेहोदामा पुगेको भन्दै उपराष्ट्रपति पुनलाई सम्मान पत्र प्रदान गरेको हो ।
उपराष्ट्रपति पुनलाई सम्मान तथा भेटघाट गर्न मगर संघकी युरोप अमेरिकाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्य तथा एनआरएन यूकेका महिला उपाध्यक्ष शान्ति कुवर थापा, यूके मगर संघका सल्लाहाकार दलमान पुन, मगर मास्टर्स एण्ड पिएचडी फण्डका सदस्य सरिता थापा, नेपाल मगर भूतपूर्ब सैनिक संघ केन्द्रिय समितिका अध्यक्ष हुम बहादुर पचभैया थापा मगर, काठमाण्डौ कलाकार तथा पत्रकार मनसुधन थापा लगाएको टोली उपराष्ट्रपतिको कार्यालय पुगेको थिए । भेटमा मगर पत्रकार संघका अध्यक्ष एवम् उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगर समेत उपस्थित रहेका थिए ।
भेटमा यूके मगर संघका अध्यक्ष थापाले उपराष्ट्रपति पुनलाई सम्मान गर्दै बधाईसमेत दिए । ‘मगर समुदायमा जन्मेर देश र जनताको सेवा गर्ने क्रममा यहाँ उपराष्ट्रपतिको जस्तो गरिमामय पदमा पुग्न सफल भएकाेमा, यसबाट देश विदेशमा रहेका सबै मगर समुदायले गर्वानुभूति गरेका छौँ,’ थापाले भने, ‘यहाँ जस्तो व्यक्तित्व यो पदमा पुग्दा मगर समुदायमात्रै होइन, सबै नेपालीले गौरवको अनुभूति गरेको हुनुपर्छ ।’
थापाले यूके मगर संघ मगर समुदायको हकहितमा केन्द्रित रहेकोसमेत जानकारी गराए । ‘यूके मगर संघ बेलायतमा रहेका मात्रै होइन विश्वभरी रहेका मगर समूदायको हकहितमा केन्द्रित छ’, अध्यक्ष थापाकाे भनाइ थियो, ‘हामी आफ्नो समुदायको पहिचान र अधिकारका लागि संघर्षरत छौँ । एक दिन सफल हुने छौँ ।’
भेटमा उपराष्ट्रपति पुनले आफूलाई सम्मान गरेकोमा यूके मगर संघलाई धन्यवाद दिए । उपराष्ट्रपति पुनले जो जहाँ रहे पनि सबै नेपाली समृद्ध नेपाल निर्माणमा अग्रसर हुनुपर्ने बताए । ‘यहाँहरु यूकेमा बसोबास गरिरहनु भएको छ । त्यहाँ बसेर पनि नेपालको विकासमा लागिराख्नु भएको छ’, उपराष्ट्रपति पुनकाे भनाइ थियाे, ‘हामी संविधान जारी गरेपछि समृद्ध नेपाल निर्माणमा लागिरहेका छौँ, नेपाली जो जहाँ भए पनि अब सबैले समृद्ध नेपाल निर्माणमा ध्यान दिन जरुरी छ’।
यसैबीच यूके मगर संघले सभामुख ओनसरी घर्तीमगरसँग पनि भेटको तयारी गरिरहेको छ । ‘हामी सभामुखसँग पनि भेट्ने कोशिस गरिरहेका छौँ, समय निश्चित भईसकेको छैन’ अध्यक्ष थापाले भने । यूके मगर संघको टोली नेपाल मगर संघका ११ औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन दुई साता अघि नेपाल आएको थियो ।