युवा मगर
काठमाडौ, बैशाख २९ – नेपाल मगर संघले स्वायत्त मगरात प्रदेश स्थापनाको लागि आन्दोलन जारी राख्ने भएको छ ।संघको बैशाख १८ गतेदेखि २३ गतेसम्म चितवनमा भएको ११ औं राष्ट्रिय महाधिवेशनको निर्णय सार्वजनिक गर्दै बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिईएको हो । संघले नविन रोका मगरको अध्यक्षतामा ५० सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्दै १५ बुँदे चितवन घोषणापत्र जारी गरेको छ ।
जसमा जहाँ मगर पहिचान त्यहाँ मगर स्वायत्त शासन भन्ने नारालाई साकार पार्न प्रत्येक मगर बाहुल्य क्षेत्रमा संगठन विस्तार गरी मगरात प्राप्तिको आन्दोलनमा मगरात बासी गैरमगरहरुसँग छलफल गर्ने, हरेक जातीय संगठन र राजनीतिक दलमा लविङ गर्ने, विश्वमगर संघ निर्माणको लागि पहल गर्ने , मगर सम्पदाको रक्षा, मगर विश्वविद्यालय स्थापना र भुपु गोर्खाका आन्दोलनमा समर्थन जनाउँदै समानुपातिक समावेशी, समानता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र लगायतका उपलब्धि संस्थागत गर्न आन्दोलन जारी राख्ने रहेका छन् ।
त्यसैगरी आईएलओ १६९ कार्यान्वयनको लागि दवाव दिने, लखन थापाको स्मृतिमा फागुन २ गते शहीद दिवस मानउन सार्वजनिक विदाको लागि दबाब दिने लगायतका विषयहरु पनि घोषणापत्रमा समेटिएका छन । पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रोका मगरले संविधानसभाको राज्यपुनःसंरचना आयोग र समिति एवम अन्तरिम संविधान विपरित गएर दलहरु आफूहरुको अधिकार खोसेर स्वार्थ अनुकुल सिमांकन गरेको आरोप लगाउनुभयो ।
उहाले मगरात भूमिलाई छिन्नभिन्न बनाएर फेरि पनि मगरलाई दास बनाउने षडयन्त्र गरेको आरोप लगाउनुभयो । अध्यक्ष रोकाले आदिबासी जनजातिको निश्चित भूमि, ऐतिहासिक राज्य , प्राकृतिक स्रोतहरुको निकटता, मौलिक भाषा, भर्म, सस्कृति, परम्पराको निश्चित क्षेत्र र सघन जनसंख्याको आधारमा जातीय पहिचान र सामथ्र्यलाई संघीयताको फरक आधार बनाउनु पर्ने भन्दै त्यसका लागी संघर्षलाई निरन्तर जारी राख्ने घोषणा गर्नुभयो । संघका महासचिब ज्ञानेन्द्र पुनले संचालन गर्नुभएको कार्यक्रममा मगर संघका पुर्ब अध्यक्ष लगाएतको सहभागीता रहेको थियो ।