गोविन्द घर्ती
देवदह बैषाख १९ । बौद्ध विश्व विद्यालय स्थापनको लागि जग्गा प्रदान गर्ने निर्णय गर्दै बुद्धमावली सामुदायिक वन उपभोक्ता समुहको १५ औं साधारणसभा सम्पन्न भएको छ । लुम्विनी बौद्ध विश्व विद्यालयले भगवान गौतम बुद्धको मावली स्थल देवदहमा बौद्ध विश्व विद्यालय खोल्न जग्गा माग गरेका कारण सामुदायिक वन क्षेत्र भित्रका करिव एक सय विगा जमिन उपलव्ध गराउने निर्णय गर्दै साधारण सभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले देवदहमा बौद्ध विश्व विद्यालय स्थापना भए देवदह क्षेत्रको विकासमा टेवा पुग्ने बताएका थिए । उनीहरुले देवदह क्षेत्र पर्यटकीय हिवासले महत्वपूर्ण रहेकोले देवदह क्षेत्रमा बन्ने बौद्ध विश्व विद्यालयको लागि सवैले पहल गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमा बोल्ने वक्ताहरुले देवदहमा बौद्ध विश्व विद्यालय स्थापना भए यस क्षेत्रका ऐतिहासिक स्थलहरुको उत्खनन् हुने र पर्यटकीय नगरीको रुपमा विकास हुनेमा जोड दिएका थिए ।
समुहका कार्यवाहक अध्यक्ष पूर्ण चन्द्र तिवारीको अध्यक्षतमा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, देवदह नगर विकासका अध्यक्ष दिल्लीराज मरासिनी, देवदह पर्यटन विकास समितिका सिद्धिचरण भट्टराई, वासुदेव रिमाल, नेपाली काग्रेसका गुणखर भूर्तेल, नया शक्तिका लिलाधर मरासिनी, क्रान्तिकारी माओवादीका नमराज पुरी, एमालेका पदम थापा, एमाओवादीका छविराज भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए ।
सोही साधारणसभाले निलम्वित अध्यक्ष गोविन्द क्षेत्रीलाई पुनवहाली गरिएको छ । अदालतद्धारा सफाई पाएपछि क्षेत्रीलाई अध्यक्षमा पुनः वहाली गरिएको हो । अध्यक्ष क्षेत्रीमाथि केही समय अगाडि अवैध रुपमा काठ तस्करी गरेको अभियोग लागेको थियो । कार्यक्रममा समुहका सचिव विष्णु माया घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । निलध्वज मल्लको स्वागत र टिकाराम भण्डारीको संचालनमा भएको कार्यक्रममा स्थानीय उपभोक्ताहरुले आ–आफना भनाई राखेका थिए ।