मृगौला पीडित लक्ष्मणको लागि पुन मगर समाज हङकङ सहयोग

Read Time:2 Minute, 48 Second

रूद्र श्रीसमगर

 पोखरा, ७ वैशाख- मर्ने मन कसलाई पो हुन्छ र ? त्यसमा पनि खाऊँ खाऊँ र लाऊँ लाऊँको उमेरकालाई त मर्ने भनेपछि डर लाग्ने नै भयो । लेखफाँट–८, डाँडाकटेरी, पर्वतका २३ वर्षीय लक्ष्मण पुनलाई पनि कलकलाउँदो उमेरमै दुवै मृगौला काम नलाग्ने भएपछि बाँच्ने आशा हराइसकेको थियो । तर, कमजोर आर्थिक अवस्थाका लक्ष्मणलाई उनका आफन्तहरूले सहयोग उठाएरै भएपनि मृगौला प्रत्यारोपणका लागि जुटेपछि उनलाई बाँच्ने आशा पलाएको छ ।

गत साल कात्तिकमा काठमाडौंको सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि मृगौला खराब भएको थाहा पाएपछि उनी जीवनदेखि निराश बनेका थिए । तर, हाल पोखराको चरक मेमोरियल हस्पिटलमा विगत पाँच महिनादेखि डाइलासिस गराइरहेका लक्ष्मणलाई मृगौला प्रत्यारोपणका लागि उनका आफन्त र देश तथा विदेशस्थित विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । मंगलबार मात्रै पुन मगर समाज हङकङबाट लक्ष्मणको मृगौला प्रत्यारोपणका लागि पठाइएको ८ लाख १० हजार ४ सय ८१ रुपैयाँ नगद मृगौला पीडित लक्ष्मणलाई नेपाल मगर संघ कास्कीका पूर्व उपाध्यक्ष इन्द्रबहादुर गर्बुजामगरले हस्तान्तरण गर्नुभयो ।

लक्ष्मणको उपचारका लागि हालसम्म २९ लाख ३३ हजार ७ सय २९ रुपैयाँ जम्मा भइसकेको छ भने डायलासिसका क्रममा अहिलेसम्म ३ लाख ७५ हजार २ सय ४८ रुपैयाँ खर्च भएको छ । धौलासिरी पुन मगर समाज, पोखराले आयोजना गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मृगौला पीडित लक्ष्मणले समाजका दाजुभाइले गरेको सहयोगले आफूमा बाँच्ने आशा पलाएको बताए ।

सहयोगी सबैलाई धन्यवाद दिँदै उनले चिकित्सकले भने अनुसार अझै पनि उपचारका लागि ६ लाख रुपैयाँ आवश्यक पर्ने बताए । उनलाई सहयोग गर्न चाहनेले लक्ष्मणको मोबाइल नम्बर ९८६७६०८८४५ मा सम्पर्क गर्न सकिनेछ । लक्ष्मणलाई मृगौला प्रत्यारोपणका लागि भारत लगिन लागिएको समाजका उपाध्यक्ष क्या. बागवीर पाइजामगरले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %