हुम सुनारी मगर
साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा माथि वहाँ कै कार्यकक्षमा भएको छुरा प्रहार समाचारले निकै चर्चा पायो। घटनाको वास्तविक विवरण सार्बजनिक नहुँदै दुई खाले अभिव्यक्तिहरू बाहिर आए। छुरी प्रहार गर्नेलाई कडा भन्दा कडा सजाय दिइनु पर्छ भन्ने पक्ष देखियो। अर्को पक्षले वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकहरूको समय मै सेवा सुबिधा नदिएकाले त्यस्तो घटना घट्न पुगेको हो। त्यसैले, त्यस्ता कर्मचारीहरूलाई त्यसरी नै कारबाही गर्नु पर्छ भन्नेहरू पनि कैयौं देखियो।
तर, बास्तबिकता नबुझिकन अड्कल काटिएको भरमा नकारात्मक अभिव्यक्ति दिँदा त्यस्ता थप घटनाहरू दोहोरिन सक्ने खतरा हुन्छ। त्यसैले, घटनाको बास्तबिकता बुझ्न शनिबार बिहान नेपाली दूताबास, रियाद गएर त्यहाँका अधिकारी, कर्मचारीहरू र स्वयम् महामहिम कार्यवाहक राजदूतसँग नै भेटेर घटनाको विवरण लिने कार्य भयो।
दूताबासका अधिकारीहरूका अनुसार, कार्यवाहक राजदूत शर्मा माथि छुरा प्रहार गर्ने व्यक्ति मोरङका लक्ष्मण बहादुर राई (राहदानी नम्बर: ०७८७४३०४) हुन्। तर, उनले अगाडी दूताबासलाई आफ्नो ठेगाना सुनसरी, धरान भएको बताएका थिए। राई गत २३ सेप्टेम्बर २०१५ अथवा ६ महिना अगाडी मात्र महरा कन्ट्रयाक्टिङ् कम्पनी, रियाद – साउदी अरेवीयामा आएको देखिन्छ। सो कम्पनिले उनलाई रियाद कै तामिमि सुपरमार्केटमा लगाएको देखियो। सो कम्पनीको डाइरेक्टर सलाह हो। उनको सम्पर्क नम्बर: ००९६६५००५००४३७ रहेको छ।
लगभग एक महिना अगाडी राई दूताबासमा शरण पर्न आएको थियो। दूताबासका कर्मचारीहरूका अनुसार राई र उनि कार्यरत कम्पनीमा सँगै काम गर्ने एक भारतीय नागरिकसँग झगडा भएको थियो। भारतीय नागरिक माथि पनि राईले छुरा हानेको र उनलाई सामान्य चोटपटक लागेको थियो भन्ने जानकारी राईले नै दूताबासमा आएर गराएको बुझिन्छ।
राईले भारतीय नागरिक माथि छुरा प्रहार गरेकोले उनि आफैलाई त्यहाँ बसिरहन असुरक्षित महशुस गरेर नेपाली दूताबासको शरणमा आएको भन्ने बुझिन्छ। ज्यान मार्ने जस्ता कार्यमा संलग्न भएको देखिएकोले दूताबासले उनि विरुद्धमा केस हालेको नहालेको नबुझिकन दूताबासमा शरण दिन नसकिने जानकारी उनलाई गराईयो। यद्धपि, कुनै पनि पीडित पुरुषहरूलाई राख्ने शेल्टरको व्यवस्था दूताबासले गरेको देखिदैन । पीडित महिलाहरूको लागि भने धेरै अगाडिदेखि नै एउटा शेल्टरको व्यवस्था दूताबासले गरेको छ।
लक्ष्मण बहादुर राईलाई दूताबासले आश्रय दिन नसकिने जानकारी गराइए पछि उनले नेपालमा उनको आफन्त (भान्जा) मनिराज राईलाई दूताबासमा बस्ने व्यवस्था मिलाईदिन भनिदिनु पर्यो भनेर अनुरोध भयो। उनले काम गर्ने कम्पनीमा उनि विरुद्धमा केस दर्ता नगराएको भन्ने बुझिसके पछि मात्रै उनलाई दूताबासमा आश्रय दिने व्यवस्था भयो।
लक्ष्मण राईको आफ्नै भान्जा मनिराज राई कुनै एक राजनीतिक दलमा आवद्ध रहेको र सभासदसम्म रहेको जानकारी पंतिकारलाई जानकारी भए पनि पंतिकारले मनिराज राईलाई टेलिफोन गरि बुझ्दा यस बारे वहाँ खुल्न चाहनु भएन।
दूताबासका अधिकारीहरू अनुसार लक्ष्मण बहादुर राई बारे उसको कम्पनिमा दूताबासले थप विवरण लिने कार्य भयो। उनलाई छिटो भन्दा छिटो नेपाल पठाउन नेपालबाट अनुरोध भएको र स्वयम् राईले पनि अनुरोध गरे पछि उनलाई नेपाल पठाउने प्रक्रिया अगाडी बढाउन उनले काम गर्ने कम्पनीसँग बुझ्ने कार्य भयो।
राईको भारतीय नागरिकसँग झगडा हुनुभन्दा अगाडी नै भारतीय नागरिक आफ्नो देश फर्किन एक्जिट-रि-इन्ट्री भिषा लागिसकेको रहेछ। यदि भारतीय नागरिकले राईको विरुद्धमा उजुरी गरेको अवस्थामा ति भारतीय नागरिक मुद्धाको टुङ्गो नलागुन्जेलसम्म स्वदेश फर्किन नपाउने भएको हुँदा ति भारतीय नागरिक राई बिरुद्ध कुनै उजुरी नगरी भारत प्रस्थान गरिसकेको बुझिन्छ । र,कम्पनीले पनि राई बिरुद्ध कुनै मुद्धा दर्ता नगरेको अवस्था रहेछ।
राई बिरुद्ध कुनै पनि मुद्धा दर्ता नभएकोले कार्यवाहक राजदूत शर्माले राईको कम्पनीका डाइरेक्टर सलाहसँग राईलाई अबिलम्ब स्वदेश पठाउनका लागि प्रक्रिया अगाडी बढाउन अनुरोध भयो। तर, राई सो कम्पनीमा आएको जम्मा ६ महिना मात्रै भएकोले कम्पनीले आफ्नो क्षेतिपूर्ति नलीकन अहिले नै उनलाई स्वदेश पठाउन नमिल्ने कम्पनीबाट जानकारी भयो।
क्षेतिपूर्ति बापत कम्पनीलाई सा. रि. ६,५००/- अथवा झन्डै १ लाख ८७ हजार नेपाली रुपैयाँ बुझाउनु पर्ने जानकारी भयो। लक्ष्मण राईले आफन्त मनिराज राईबाट सो रकम उपलब्ध गराई स्वयम् आफै नै कम्पनीमा गएर सो रकम बुझाएको भन्ने बुझिन्छ । कम्पनीले अपेक्षा गरेको रकम स्वयम् आफैले बुझाए पछि राईलाई वैधानिक रूपमै स्वदेश फर्काउने बाटो खुल्यो र सो अनुसार प्रक्रिया अगाडी बढ्यो ।
राईलाई छिटो भन्दा छिटो स्वदेश पठाउने प्रकृया अगाडी बढ्यो। गत ११ अप्रिल २०१६, सोमबार एअर अरेवीयाको टिकेट पक्का भयो। समयको अभावका कारण सो एअर टिकट कार्यवाहक राजदूत शर्माले नै आफ्नै खर्चमा व्यवस्था गरेको भन्ने बुझिन्छ। तर,उनलाई विमानस्थल लैजाने तयारी गर्दा उनि जान मानेन। दूताबासले तुरुन्तै उनका नेपालका आफन्त मनिराज राईलाई सम्पर्क गरेर जानकारी गराईयो। मनिराज राईले टेलिफोन मार्फत लक्ष्मणलाई सम्झाईबुझाई गरे पछि उनि विमानस्थल तर्फ जान राजी भयो।
लक्ष्मण राईलाई स्वदेश पठाउने सिलसिलामा उनलाई रियाद विमानस्थल पुर्याउंदै थिए, दूताबासका कर्मचारीहरूले। “म नेपाल जान चाहन्न, मलाई फर्काइदिनु” भनेर बीच बाटो मै गाडीबाट जबर्जस्ति ओर्लिए, राई । एअर टिकेट नन-रिफन्डेबल भएकोले उनलाई सम्झाईबुझाई विमानस्थलसम्म पुर्याईयो। राईलाई विमानस्थल पुर्याउने दूताबासका कर्मचारीहरूका अनुसार विमानस्थल पुगेपछि साउदी सुरक्षाकर्मीहरू कै अगाडी राई बेहोस भए। साउदी सुरक्षाकर्मीले यस्तो अवस्थामा पठाउन नसकिने भन्दै विमानस्थलबाट फिर्ता पठाइएको बुझिएको छ। विमानस्थलबाट फिर्ता ल्याउना साथ राई सामान्य अवस्थामा देखियो। त्यो राईको नाटक मात्र थियो या साच्ची कै उनि कुनै रोगका कारण बेहोस भएका थिए, उनको स्वास्थ्य परिक्षण नगरिएकोले केहि भन्न सकिएन।
विमानस्थलबाट फिर्ता ल्याइए पछि उनलाई दूताबासले अस्पताल लैजाने व्यवस्था किन गरिएन भन्ने प्रश्नमा उनि अस्पताल जानै नमानेको भन्ने बुझिएको छ। राईलाई विमानस्थलबाट फ़र्काउना साथ सामान्य अवस्थामा देखिएको थियो।
घटना कसरी घटायो।
राईलाई त्यसको तीन दिनपछि अथवा १४ अप्रिल, बिहिबार एअर अरेवीया कै टिकटको व्यवस्था गरेर पुन: स्वदेश पठाउने तय दूताबासले गर्यो। पहिलो टिकट नन-रिफण्डेबल भएकोले अर्को नयाँ टिकटको व्यवस्था गरिएको जानकारी भयो। सोहि अनुसार राईलाई विमानस्थल जान तयारी हुनुस् भन्ने जानकारी गराईयो।
दिउसोको १२ बजेको समयमा विमानस्थल जाने तय हुँदा राई बिहान ११ बजे बिना अनुमति कार्यवाहक राजदूतको कार्यकक्षमा प्रवेश गर्यो। कार्यकक्षमा प्रवेश गर्नासाथ उनले ढोकाको चुक्कुल लगायो र बाहिरबाट सजिलै खोल्न नसकुन भनेर ढोका अगाडी सोफा तेर्स्यायो। कार्यवाहक राजदूतले के गरेको भनि सोध्दा उनले खल्तीबाट छुरी निकालेर कार्यवाहक राजदूत माथि आक्रमण गर्यो। वहाँ चिच्च्याउनु भयो। दूताबासका अन्य कर्मचारीहरूले ढोका खोल्ने प्रयास गरे तर सफल भएन। तुरून्तै दूताबासको सुरक्षाका लागि खटाइएका साउदी सुरक्षाकर्मीलाई जानकारी गराईयो। दुई जना सुरक्षाकर्मीहरूले ढोका तोडेर कार्यवाहक राजदूत शर्मालाई बचाउन सफल भयो।
कार्यवाहक राजदूत शर्माको बायाँ पछाडीपट्टि काँधमा गहिरो चोट लागेको छ भने दुवै हातको साहिली औंलामा सामान्य चोट लागेको छ। वहाँको गहिरो चोटमा टाँका लगाइएको छ। वहाँको अवस्था पंतिकारले शनिबार वहाँ कै निवास भेट्न जाँदा सामान्य देखिएको छ। कार्यवाहक राजदूत शर्माको उद्धार कार्यमा केहि ढिलाई भएको भए त्यहाँ अकल्पनीय घटनासम्म हुन सक्ने देखियो।
लक्ष्मण बहादुर राईलाई घटना घटेकै दिन साउदी सुरक्षाकर्मीले गिरफ्तार गरेर प्रहरी हिरासतमा राखिएको छ।
कार्यवाहक राजदूत शर्मामार्फत राईको नेपालमा भएको आफन्त (आफ्नै भान्जा) मनिराज राईको सम्पर्क नम्बर: ९८२४३८३७९० प्राप्त भयो। मनिराज राईसँग त्यतिबेलै करिब १० मिनेट पंतिकारको कुरा भयो। लक्ष्मण राईले दूताबासका कर्मचारीहरू र कार्यवाहक राजदूत बारे घटना घटाउनु भन्दा अगाडी कुनै नकारात्मक कुराहरू तपाईसँग गरेको थियो भनेर मनिराज राईसँग सोध्दा त्यस्तो कुराहरू हामीसँग कहिल्यै नगरेको भन्ने मनिराजबाट जानकारी भयो। कार्यवाहक राजदूत र मनिराज राई बीच अति शिष्ट भाषा र शैलीमा लक्ष्मण राईको बिषयमा कुराकानी भएको म्यासेज पंतिकारले प्राप्त गरेको छ।
लक्ष्मण राईको आफ्नै जम्ल्याहा दाई (राम बहादुर राई) को छोरा साउदी मै कार्यरत रहेछ। उनको नाम सिमान्त राई, सम्पर्क: ०५३६७३६०७७ मा पंतिकारले सम्पर्क गरेर उनको काका लक्ष्मण राई बारे बुझ्दा उनि त्यति खुल्न चाहेनन्। लक्ष्मण विमानस्थलबाट फर्केपछि उनको आफन्त खोज्दा उनकै भतिजा साउदीमा रहेको जानकारी भयो। दूताबासले सिमान्त राईलाई दूताबास बोलाईयो । सिमान्त राई दूताबास आइसकेपछि लक्ष्मणले आफ्नै भतिजालाई तँलाई म चिन्दिन – तँ यहाँ के गर्न आइस् भनेर धम्क्याएको थियो भनेर उनको भतिजा सिमान्तले पंतिकारसँग भने।
पंतिकारको विश्लेषण
यो एक पक्षीय आधारमा तयार पारिएको घटनाको विवरण हो। लक्ष्मण राईलाई राखिएको हिरासत मै गएर घटना घटाएको बारे सोधपुछ गर्ने कोशिस अबश्य गरिने छ। लक्ष्मण राईको आफन्तहरूसँग पनि पंतिकारले प्रत्यक्ष टेलिफोन वार्ता गरि लक्ष्मण बारे बुझ्ने प्रयास गर्दा नेपाली दूताबासका कर्मचारीहरू र स्वयम् कार्यवाहक राजदूत शर्माको विरुद्धमा कुनै अभिव्यक्ति नदिएको भेटियो। कार्यवाहक राजदूतले आफुसँग अति नै राम्रो तरिकाले लक्ष्मण राई बारे परामर्श र समन्वय गरेको काठमाडौँमा रहने मनिराज राईले जानकारी गराएका छन्। दूताबासका कर्मचारीहरूको लापरबाही अथवा हेल्चेक्याईले लक्ष्मण राईको काम समय मै नभएको भए त्यसको आक्रोस उनका आफन्तले पनि कार्यवाहक राजदूत माथि व्यक्त गर्नु पर्ने थियो। तर, त्यस्तो पटक्कै देखिएन उनको आफन्तहरूमा पनि । मनिराज राईले कार्यवाहक राजदूतको परामर्श र कार्यको लागि कृतज्ञता व्यक्त पनि गरेको देखियो र त्यस घटना प्रति वहाँ अत्यन्तै चिन्तित रहेको जानकारी गराउनु भएको थियो, मनिराज राईले।
लक्ष्मण राईलाई भेटेरै घटना घटाइएको बारे कारण अबश्य बुझ्ने कोशिस गरिने छ र त्यो विवरण अबश्य सार्बजनिक गरिनेछ। तर, यो बिषयलाई लिएर नेपाली समाजलाई नै आतंकित गर्ने खालको अभिव्यक्तिहरू फेसबुक सञ्जालमा देखिएकोले थप घटनाहरू निम्त्याउन सक्ने खतरा देखिन्छ। एक जिम्मेवार नेपाली नागरिकले त्यसो गर्दा त्यसले भयानक दुर्घटनासम्म निम्त्याउन सक्छ।
लक्ष्मण राई स्वदेश फर्किन विमानस्थलसम्म पुगेर बेहोस अवस्थाबाट (उसले नाटक नै गरेको भएपनि) फर्काइसके पछि उनलाई सिधै अस्पताल नलगेर पुन: दूताबास लगिनु नै दूताबासको ठूलो कमजोरी देखिन्छ।
नेपालमा वैदेशिक रोजगारको प्रणाली र व्यवस्था एकदम गलत छ। दुई देश बीच (नेपाल-साउदी) नै अति आवश्यक श्रम सम्झौता अहिलेसम्म हुन सकेको अवस्था छैन। श्रम सम्झौता बिना पनि लाखौं नेपाली यूवाहरू असुरक्षित रूपमा श्रम गर्न जानु पर्ने वाध्यता छ। नेपाल सरकारले निशुल्क श्रम गर्न जान पाउने व्यवस्थाको लागू गरे पनि वैदेशिक रोजगार व्यवसायीहरूले अक्षरस पालन गरेको देखिदैन। नेपाली कामदारहरूलाई श्रमका लागि साउदी पठाउने निशुल्क व्यवस्था गरिएको बारे दुई राष्ट्र बीच हुने श्रम सम्झौतामा प्रष्ट उल्लेख हुनु पर्छ। तर, श्रम सम्झौता नै नभई सकेको अवस्थामा नेपाल सरकारले मात्रै एकतर्फी निशुल्क पठाउने व्यवस्थालाई लागू गरे पनि कार्यन्वयनमा समस्या देखिएको अवस्था छ अहिले। सरकारले लागू गरेको नियम वैदेशिक रोजगार व्यबसायीहरूले पालन नगर्दा त्यसको मार श्रमिकहरूलाई परेको अवस्था छ। त्यसैले पनि श्रमिकहरू आक्रोसित छन्।
नेपाली यूवाहरूलाई बिना तालिम श्रम स्वीकृति दिलाएर वैदेशिक रोजगारमा हुलेको छ, नेपाल सरकारले। वैदेशिक रोजगारमा गएका प्रत्यक श्रमिकबाट श्रम शुल्क सरकारले असुलेको छ। पछिल्लो जानकारी अनुसार श्रम शुल्क वापत सरकारले तीन अर्ब रुपैयाँ भन्दा बढी रकम असुलेको देखिन्छ। सो रकम सरकारले बैंकमा फ्रिज गरि राखेको छ। त्यसलाई वैदेशिक रोजगारीमा जाने यूवाहरू कै हितमा किन लगानी गर्दैन ? छ लाख नेपाली श्रमिकहरू रहेको देशमा उनीहरूको सेवाको लागि एकजना मात्रै श्रम सहचारी खटाएर उसले एकलै कसरी काम गर्न सक्छ ?
वैदेशिक रोजगारको लागि उसले मेनपावर कम्पनीलाई बुझाउनु परेको ठूलो रकम, वैदेशिक रोजगारको अव्यबस्थित अवस्था र आफू स्वदेश फर्किनको लागि कम्पनीमा त्यति धेरै रकम बुझाउनु परेको कारणले लक्ष्मण राईलाई एक सिकिमको निराशा (डिप्रेशन) भयो र त्यसकै कारण त्यस्तो गतिविधि गरेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।
अव्यबस्थित वैदेशिक रोजगार कै कारणले हजारौं यूवाहरू श्रम शोषणमा परेका छन्। ति हजारौं पीडितहरूको समस्या एकजना श्रम सहचारीले कसरी समाधान गर्न सक्छ ? नेपाली श्रमिकहरूको समस्याहरूलाई हल गर्ने कार्य असम्बन्धित मन्त्रालयका कर्मचारीले होइन। नेपाली दूताबासमा कुटनीतिक कर्मचारीहरूको कोटा यथावत राखेर श्रम मन्त्रालय अन्तर्गतका थप कर्मचारीहरू सरकारले किन व्यवस्था गर्दैन ? कोट सिलाउने टेलर्सलाई जुत्ता सिलाउन दिएर हुन्छ ? साउदीमा नेपाली श्रमिकहरूको सेवा सुबिधाको लागि श्रम मन्त्रालयले कम्तिमा २ देखि ३ जनासम्मको कर्मचारीहरू अबिलम्ब व्यवस्था गर्नुपर्ने अत्यावश्यक छ।
हाल देखिएको वैदेशिक रोजगारका समस्याहरू समाधान गर्न अव्यबस्थित वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनु अति आवश्यक छ। यसरी नै अव्यबस्थित तरिकाले नेपाली यूवाहरूलाई वैदेशिक रोजगारीको नाममा खाडी मूलुकहरूमा पठाउदै गर्यो भने त्यस्ता कैयौं घटनाहरू दोहोरिदै जाने छन्। कैयौं लक्षण बहादुर राईहरू जन्मने छन् र निर्दोष कर्मचारीहरूको ज्यानसम्म जान सक्ने खतरा देखिन्छ । यतापट्टी सम्बन्धित पक्षको ध्यान छिट्टै जाओस्।
मैले यहाँ भन्नै पर्ने के हो भने, देशको सरकारी कार्यालय र प्रशासन एक पक्षीय रूपमा सञ्चालित छ। सबै पक्षहरूको समान सहभागिता नेपालको ब्युरोक्र्यासीमा छैन । नेपाली नागरिक नै भएर पनि केहि पक्षहरू राज्यको एकात्मक व्यवस्था र प्रणालीबाट वाक्क दिक्क छन्। त्यसमा पनि नेपालका कर्मचारीहरूले सर्बसाधारण सेवाग्राहीहरूसँग त्यति राम्रो व्यवहार गरेको देखिदैन । कर्मचारीहरूबाट नै भ्रष्टाचारले सीमा नाघेको अवस्था छ। वैदेशिक रोजगारबाट फर्केर श्रम स्वीकृति लिनेदेखि विमानस्थलमा अनावश्यक दुख दिने र उनीहरूसँग राम्रो व्यवहार नगर्ने प्रवृत्तिले श्रम गर्न जाने आम यूवाहरू रुष्ट छन्, इर्रिटेटेड भएका छन् र आतंकित पनि भएका छन्।
लक्ष्मण राई एक परिपक्क व्यक्ति हुन्। उनको उमेर ४५ नाघिसकेको रहेछ। उनि साच्ची कै अराजक प्रवृत्तिको मान्छे भएको भए वैदेशिक रोजगारको लागि नै उनि योग्य नहुनु पर्ने। वैदेशिक रोजगारमा जानको लागि केहि बर्षदेखि प्रहरी रिपोर्ट पनि पेश गर्नुपर्ने प्रावधान रहेको छ। राई कुनै फौजदारी मुद्धा खेपिसकेको व्यक्ति भएको भए वैदेशिक रोजगारको लागि उनि कसरी योग्य भए होलान् ?
अन्तमा, मैले कार्यवाहक राजदूत शर्मालाई वहाँको बारे पुरै जानकार नभए पनि वहाँको स्वभाव राम्रोसँग थाहा छ। वहाँ एक ब्राम्हण समूदायको हुनुहुन्छ – ब्राम्हण जति सबै त्यस्तै हुन् भनेर मैले सोच्ने हो भने मेरो नियत माथि नै प्रश्न चिन्ह खडा हुन सक्छ। वहाँको स्वभाव र अन्य सेवाग्राहीसँग गर्ने वहाँको व्यवहार पनि गलत छ भन्न सक्दिन। “धान खायो मुसाले चोट पायो भ्यागुता”ले जस्तै भएको हो कि भन्ने मलाई लागेको छ।