मनोज घर्तीमगर
नेपाल मगर संघले भूपू सैनिकहरुको योगदानलाई अवमूल्यन गरेको छ । नेपाल मगर संघको जग बसाउनेदेखी संघलाई यहाँसम्म ल्याउन चार जना भूपूहरुले नेत्तृत्व समेत लिइसकेका छन् । संघ बनाउन भूपूको यति ठूलो योगदान भए पनि भूपू सैनिकलाई आसन्न ११ औं महाधिवेशनमा प्रतिनिधि नदिने भएपछि भूपूहरुको अवमूल्यन भएको हो ।
विसं. २०१२ सालदेखी नै विभिन्न नामले मगरहरु गोलबद्ध हुन थाले पनि २०३९ फागुन १५ गते दमौलीमा स्व.हेमबहादुर पुनमगरको अध्यक्षतामा भएको नेपाल लाङ्घाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवेशनपछि राष्ट्रियस्तरमा सबै मगरहरु जागरुक भई एकजुट हुन थालेका थिए । संघको पहिलो अध्यक्ष नै भूपू भए पनि अहिलेसम्म हुँदै आएका महाधिवेशनमा भूपूहरुलाई प्रतिनिधी दिइएको छैन ।
नेपाल मगर संघको विधान २०४९ को परिच्छेद –५ धारा १७ को (च) १ मा विभिन्न भातृ संघ गठन हुने व्यवस्था छ । त्यसमा तोकेरै मगर विद्यार्थी संघ, नेपाल मगर भूपू सैनिक/प्रहरी संघ, नेपाल मगर सम्पर्क समन्वय समिति, मगर महिला संघ, मगर साँस्कृतिक संघ, नेपाल मगर युवा संघ लगायत अन्य भातृ संगठनहरु खोल्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । त्यही धारा बमोजिम गठन भएका भातृ संगठनको अध्यक्ष नेपाल मगर संघको पदेन सदस्य हुने व्यवस्था छ ।
मगर संघले यसरी गठन भएका भातृ संगठनलाई महाधिवेशनमा सहभागी हुँदा जिल्ला समिति सरह मान्यता दिएको छ । त्यो मान्यता अनुसार भातृ संस्थाबाट ३ जना प्रतिनिधि र २ जना पर्यवेक्षक महाधिवेशनमा सहभागी हुने व्यवस्था छ । नेपाल मगर भूपू सैनिक संघले यस अघि पनि पटकपटक आबद्धता दिइ प्रतिनिधीको व्यवस्था गरिदिन अनुरोध गरेको थियो ।
नेपाल मगर संघको चैत १६ गते चितवनमा बसेको सचिवालय बैठकले मगर संघका भातृसस्थाहरु मगर भुपु सैनिक संघ, मगर चलचित्र कर्मी संघ, मगर बौद्ध सेवा समाज, मगर लेखक संघ र मगर खेलकुद संघलाई अहिलेको महाधिबेशनमा प्रतिनिधिको रुपमा सहभागी गराउन नसकिने निर्णय गरेको छ । संघको विधानमै नभएको व्यवस्था लागु गरि यि संस्थाहरुलाई बाहिरै राख्न संघ कस्सिएको हो ।
सचिवालय बैठकले भातृ सस्थाहरुको १० जिल्लामा शाखाहरु गठन भएको हुनुपर्ने, अधिवेशनको ४ बर्ष पहिले संघमा आधिकारीक दर्ताको लागी निवेदन दिनुपर्ने, संस्था मगर संघमा आधिकारिक दर्ता भएको हुनुपर्ने लगाएतका कारण देखाएर यस पटकको महाधिबेशनमा उनीहरुलाई प्रतिनिधिको रुपमा सहभागी गराउन नसकिने निर्णय गरको हो । तर, सचिवालयले देखाएका यस्ता कुनै पनि कारण विधानमा उल्लेख छैन । नेपाल मगर भूपू सैनिक संघ, मगर बौद्ध सेवा समाज लगायतका सँस्थालाई बाहिरै राख्न यो निर्णय गरिएको धेरैको बुझाइ छ । ‘उनीहरुले प्रतिनिधि नदिएपछि त भन्नु केही छैन । अर्को कोही मान्छे आउँछ कि भनेर हो जस्तो लाग्छ । उनीहरुले मगर संघमा सिन्डिकेट लागू गर्न खोज्दैछन्’ नेपाल मगर लेखक संघको उपाध्यक्ष पिएचडी शोधार्थी एवं लेखक बिष्णुकमार सिंजालीमगरले भने,‘लेखक संघले सबै प्रक्रिया पूरा गरे पनि प्रतिनिधी दिएन । कति पटक ज्यूज्यू गर्दै जाने । अब स्वतन्त्रपूर्वक काम गर्ने हो । सकेसम्म संघले सबै भातृ संस्थालाई समेटे राम्रो हुन्थ्यो ।’
फागुन २२ गते चितवनको नारायणगढमा सम्पन्न तेस्रो अधिबेशनबाट निर्वाचित नेपाल मगर भूपू सैनिक संघका अध्यक्ष हुमबहादुर थापा (पचभैया) मगरले मगर संघको ११ औं महाधिवेशनमा कुनै पनि हालतमा भूपू सैनिक संघलाई प्रतिनिधी दिइनुपर्ने माग गरेका छन् । ‘मगर संघ बनाउन भूपू सैनिकहरुको ठूलो योगदान छ । जति प्रयास गरे पनि हामीलाई प्रतिनिधी नदिने चलखेल भयो यसले भूपूहरुको अवमूल्यन भएको महसुस भएको छ’ मगर संघ हङकङ्गका संस्थापक सल्हाकार र अध्यक्षसमेत रहेका हुमबहादुरले भने,‘मगर संघले किन हामी माथि राजनीति गर्दैछ बुझ्न सकिएको छैन । यदि हामीलाई प्रतिनिध दिइएन भने मगर संघको अधिवेशनलाई कुनै किसिमका सहयोग गर्दैनौं ।’ भूपू सैनिक संघले चार वर्ष अघि गुल्मीमा भएको १० औं महाधिवेशनमा पनि प्रतिनिधीको व्यवस्था गरिदिन निवेदन दिएका थिए ।
त्यसो त मगर समुदायसँग नचाहैरै भए पनि भूपू सैनिकको सम्बन्ध कुनै न कुनै रुपमा जोडिन्छ । भूपूलाई यो समुदायले चाहेर पनि बाइकट गर्न सक्दैन । तर, मगर संघले कुन हेतुले उनीहरुलाई बाइकट गर्दैछ अचम्मको विषय हो । अहिलेको कार्यसमिति बसेको नेपाल मगर संघको कलंकिस्थित भवन बनाउन पनि भूपूहरुको उत्तिकै योगदान र कुल लगतको ९५% रकम सहयोग रहेको छ । यो भवन निर्माण नै भूपू सैनिक क्या. यामबहादुर बुढाथोकीमगर मगर संघको अध्यक्ष हुँदा बनेको हो । त्यतिबेला मगर संघ हङकङबाट करिब १७ लाख , मकाउमा कार्यरत भू.पू मगर सैनिक बाट २ लाख ५० हजार , जापानमा बस्ने मगरहरू बाट १६ लाख र बेलायतमा बस्ने भू.पू र तिनका सन्तान बाट १० लाख रुपैंया सहयोग आएको थियो । त्यतिबेला संघका अध्यक्ष ले.एकबहादुर राना थिए भने त्यसलाई आडबल दिने भूप अध्यक्ष एवं भूपू सैनिक हुमबहादुर थापा मगर थिए । त्यो बाहेक विभिन्न अरु कार्यक्रम गर्दा पनि आर्थिक, भौतिक, नैतिक रुपमा भूपूहरुले पुर्याएको योगदानलाई मगर संघले विर्सन मिल्दैन ।
नेपाल मगर संघले भूपू सैनिकहरुलाई बाइकट गर्न खोजे पनि सफलता भने मिलेको छैन । संघको १० कार्यकाललाई हेर्दा गोरेबहादुर खपाङ्गी चार पटक अध्यक्ष भएका छन् । उनीसहित अहिलेसम्म ७ जनाले संघको बागडोर सम्हालेका छन् । तीमध्ये चार जना त भूपू हुन् । नेपाल प्रहरीका भूपू इन्सपेक्टर(पहिला बृटिस) हेमबहादुर पुनमगर संस्थापक अध्यक्ष हुन् भने उनीपछि भूपू सार्जन्ट कविराज पुनमगर, भूपू ले. मानध्वज रानामगर, भूपू क्या. यामबहादुर बुढाथोकीमगरले मगर संघको नेत्तृत्व सम्हालिसकेका छन् । उनीहरुको उपस्थितिले भूपूहरुलाई बाइकट गर्न खोजे पनि सबैभन्दा धेरै नेत्तृत्व लिनेमा भूपू सैनिक नै देखिन्छन् ।
नेपाल मगर भूपू सैनिक संघलाई महाधिवेशन प्रतिनिधि दिनेबारे आफ्नो एकल निर्णयले केही नहुने संघका अध्यक्ष महेन्द्र थापामगरले बताए । ‘आबद्धताका लागि सैनिक संघ लगायत थुप्रैले निवेदन दिएका छन् । उनीहरुलाई प्रतिनिधी दिने ननिदेबारे अब बन्ने समितिको राष्ट्रिय सम्मेलनले निर्णय गर्छ’ नेपाल मगर भूपू सैनिक संघको अधिवेशनबारे बेवास्ता गर्दै अध्यक्ष थापाले भने,‘मगर जोडेका सबै भातृ संस्था हुन्छन् भन्ने छैन । कसले कहाँ के संघ बनाउँछ हामीलाई थाह भएन । सैनिक संघबारे मगर संघलाई आधिकारिकता थाहा छैन । कहिले जन्मियो कहाँ बनायो ?’
नेपाल मगर भूपू सैनिक संघले चितवनमा गरेको अधिवेशनमा मगर संघका अध्यक्ष महेन्द्र थापालाई नै बोलाएको थियो । तर, उनी आफ्नै कार्यव्यस्तताले जान पाएका थिएनन् । यसबारे ज्ञिजासा राख्दा महेन्द्रले भने,‘सैनिक संघले बोलाएको थियो । महाधिवेशनको चटारोले जान पाइएन । कार्यक्रममा त हामीलाई जसले पनि बोलाउँछ ।
तमुहरुले पनि बोलाउँछन् । तपाइँ पत्रकारहरुको संस्थाले पनि बोलाउँछ । बोलायो भन्दैमा सबै भातृ संगठन हुन्छन् भन्ने छैन । सैनिक संघको आधिकारितकता छैन ।’
नेपाल मगर संघमै पनि सैनिक संघलाई प्रतिनिधि दिने/नदिनेबारे दुई खेमा छ । केही पदाधिकारी प्रतिनिधि दिनुपर्ने पक्षमा छन् भने अध्यक्ष महेन्द्र थापामगर लगायत कुनै हालतमा नदिनुपर्ने खेमामा छन् । संघका महासचिव नविन रोकामगरले पनि अझै केही नबिग्रेकाले सैनिक संघलाई प्रतिनिधिमा छुटाउनु नहुने बताए । ‘सैनिक संघको अधिवेशनमा मगर संघको सहभागीता छैन । विधि नपुगेका कारण प्रतिनिधी नदिने भनिएको हो’ महासचिव रोकाले भने,‘यस विषयमा २७ गते हुने सचिवालयले फुल निर्णय गर्छ । सम्बन्धित तहबाट पनि पहल भए यसले निकास पाउला ।’
