रूद्र श्रीसमगर
पोखरा, चैत्र २०-चैत्र लोकोत्तर लोकवादी विचार अभियानका संयोजक धनप्रसाद तामाङले आदिवासी जनजातिलाई नयाँ संविधानले दब्बू र लम्पट बनाएको जिकिर गर्नुभएको छ । लोकोत्तर लोकवादी विचार अभियान र नाङ्साल तामाङ सेवा समाजले शनिबार पोखरामा गरेको आदिवासीय सांस्कृतिक विमर्श कार्यक्रममा तामाङले नयाँ संविधानले पनि देशमा विद्यमान समस्याको हल दिन नसकेको चर्चा गर्दै पुनः आन्दोलनको आवश्यकता भएको बताउनुभयो ।
सांस्कृतिक चेतनाको अभावका कारण आदिवासी जनजाति समुदाय जहिले पनि उत्पीडन र दमनमा पर्ने गरेको जनाउँदै तामाङले राज्यले आदिवासी जनजातिका सांस्कृतिक मूल्यको अवमूल्यन गरेको उल्लेख गर्नुभयो । ‘आदिवासी सांस्कृतिक विमर्श जरुरी छ’, तामाङले भन्नुभयो, ‘अब संस्कृति संरक्षणका लागि पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु गरौं ।’ सामाजिकीकरणमा जोड नदिइकन समाजको विकास प्रक्रिया अघि नबढ्ने बताउँदै उहाँले सांस्कृतिक पैरवीको जरुरी भएकोमा जोड दिनुभयो ।
अब नयाँ दर्शनको विकास आवश्यक भएको समेत उहाँको भनाइ थियो । नेपाल तामाङ घेदुङ सिम्पानी कस्येरी एकाइ समितिको व्यवस्थापनमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् कास्कीका सचिव पूर्ण Þयोल्मोले संविधानसभाबाट जारी नयाँ संविधानमा प्राप्त उपलब्धीलाई संस्थागत गर्दै थप अधिकारका लागि संगठित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य एवं प्रदेश नं. ४ का संयोजक दीपक वाइबा तामाङले संस्कृतिलाई राजनीति र राजनीतिलाई राज्यसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै तामाङ पहिचान र सभ्यताको पुनर्जागरणका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगरले आदिवासी जनजाति संस्कृति संरक्षणका लागि सांस्कृतिक रूपमा सचेत हुनुपर्नेमा जोड दिँदै विकृति र अन्धविश्वासको अन्त्य गर्दै नयाँ सोंच र संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । भुजेल संस्कृति मञ्चका केन्द्रीय संयोजक कुलबहादुर भुजेलले भुजेललगायतका अति सीमान्तकृत आदिवासी जनजाति समुदायहरूको संस्कृति संरक्षणमा अन्य ठूला आदिवासी जनजाति समुदायले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल तामाङ घेदुङ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद सम्देन तामाङ, तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केशबहादुर तामाङ, नेपाल तामाङ घेदुङ सिम्पानी कस्येरी एकाइ समितिका अध्यक्ष वीरबहादुर तामाङलगायतले आदिवासी जनजाति समुदायमा सांस्कृतिक जागरणको आवश्यकता औंल्याउनुभएको थियो । नाङ्साल तामाङ सेवा समाजका अध्यक्ष चन्द्र ग्याबक तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मोहनकुमार तामाङ र रेशम तामाङले स्वागत गर्नुभएको थियो ।