रूद्र श्रीसमगर,
पोखरा, १४ चैत्र – नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा शनिबारदेखि पोखरामा सुरु अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनको बन्दसत्र सुरु भएको छ । सो अवसरमा बौद्ध विद्वान् एवं पूर्व मन्त्री डा. केशवमान शाक्य, एमएस थापा, टीबी पुन ‘रोशन’लगायतले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल भएको थियो । कार्यक्रममा सहभागी प्रतिनिधिहरूले बौद्ध धर्म एवं मगर संस्कार आ–आफ्ना धारणा राखेका थिए भने टिप्पणीकारहरूले कार्यपत्रमाथि टिप्पणी गर्दै मगर समुदायमा बौद्ध जागरण अभियान नै सञ्चालन गर्नुपर्ने बताएका थिए । सम्मेलनमा नेपालका ४० भन्दा बढी जिल्ला तथा भारत, भुटान, बर्मा, हङकङ, बेलायतलगायतका देशबाट समेत करिब तीन सय प्रतिनिधि सहभागी छन् ।
यसअघि, सम्मेलनको शनिबार भिक्षु श्रद्धानन्द र पञ्चकन्याले उद्घाटन गरेका थिए । सम्मेलन सोमबार पोखरा घोषणापत्र जारी गर्दैै सकिने र सम्मेलनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना समेत गरिएको सम्मेलनका व्यवस्थापन संयोजक टीबी पुनमगर ‘रोशन’ले जानकारी दिनुभयो । मगर समुदायमा बौद्ध जागरण ल्याउन र बौद्ध धर्मलाई विश्वभर फैलाउने उद्देश्यले आयोजित सम्मेलन मगर विहार निर्माणमा केन्द्रित भएको समेत संयोजक पुनले जानकारी दिनुभयो ।