बुद्ध जन्मेको देशमा बुद्धकै हेंला ः भिक्षु श्रद्धानन्द

Read Time:5 Minute, 7 Second

-पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु

रूद्र श्रीसमगर
पोखरा, १३ चैत्र
नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा शनिबारदेखि पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु भएको छ ।सम्मेलनको बौद्ध धार्मिक विधि अनुसार भिक्षु श्रद्धानन्दले उद्घाटन गर्नुभएको थियो । सम्मेलनको उद्घाटनका लागि उप–राष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ आउने भनिएपनि अन्तिम समयमा आएर उप–राष्ट्रपति आउने कार्यक्रम रद्द भएको आयोजकले जनाएको छ ।

सम्मेलनको उद्घाटन गर्दै भिक्षु श्रद्धानन्दले महामानव सिद्धार्थ गौतम बुद्धले देखाएको बाटोमा अघि बढे मात्रै देशमा शान्ति हुने बताउनुभयो । बुद्ध जन्मेको देशमा बुद्ध आफैं हेंलामा परेको भन्दै भिक्षु श्रद्धानन्दले अरू देशमा बौद्ध धर्मको विकास र विस्तार भएपनि नेपालमा बौद्ध धर्मको अवहेलना हुनु दुर्भाग्य भएको बताउनुभयो । त्यस्तै, बौद्ध धर्मका पूज्य गुरु मिन गुरुले मगर समुदायमा बौद्ध जागरण आएकोमा खुशी व्यक्त गर्दै मगर समुदाय बौद्धमार्गी भएको बताउनुभयो । मगर समुदायको संस्कारका हिसाबले पनि बौद्ध धर्मसँग सम्बन्धित भएको भन्दै बुद्ध शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले मगर जाति धार्मिक र राजनीतिक रूपमा विभाजित भएकाले एकताबद्ध हुन गाह्रो परिरहेको भन्दै धार्मिक रूपमा एउटै बुझाइ बनाउनका लागि मगर बौद्ध सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ संविधानले मगर समुदाय र मगर भूमिलाई विभाजित गरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष थापाले नयाँ संविधानले धर्मनिरपेक्षताको गलत व्याख्या गरेको बताउनुभयो । साथै, उहाँले मगर विहार निर्माणका लागि मगर बौद्ध सम्मेलनले महत्वपूर्ण निर्णय गरोस् भन्ने शुभकामना दिनुभयो ।

संघीय जनमुक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री एमएस थापामगरले ऐतिहासिक र सांस्कृतिक पक्ष केलाउँदा पनि मगर जाति बौद्ध नै भएको प्रमाणित हुने दाबी गर्दै मगर समुदायले बौद्ध दर्शनलाई अँगालेर अघि बढ्नु युगीन आवश्यकता भएको बताउनुभयो ।
सो अवसरमा बौद्ध विद्वान् एवं पूर्व मन्त्री डा. केशवमान शाक्य, नेपाल मगर संघका पूर्व महासचिव अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल मगर भूपू सैनिक संघका केन्द्रीय अध्यक्ष हुमबहादुर थापामगर, नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासुमगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, तमु धिं नेपालका महासचिव रूद्रकुमारी तमु ‘मैना’लगायतले बोल्नुभएको थियो ।

नेपाल मगर बुद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देउबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमल थापामगरले गर्नुभएको थियो भने सम्मेलनका व्यवस्थापन संयोजक टीबी पुनमगर ‘रोशन’ले स्वागत गर्नुभएको थियो ।
सम्मेलन अघि पोखराको वीपीचोक, चिप्लेढुंगाबाट सुरु भएको सांस्कृतिक झाँकीसहितको विशाल शान्ति ¥याली भीमसेनचोक, महेन्द्रपुल, नयाँबजार, लखनचोक, सभागृहचोक हुँदै पोखरा सभागृहमा पुगी कार्यक्रममा परिणत भएको थियो । सोमबारसम्म हुने सम्मेलनमा ४० भन्दा जिल्ला तथा भारत, भुटान, हङकङ, बेलायतलगायतका देशबाट समेत गरी करिब तीन सय प्रतिनिधि एवं पर्यवेक्षक सहभागी छन् । साथै, सम्मेलनमा विभिन्न बौद्ध विद्वानहरूबाट छ वटा कार्यपत्र प्रस्तुत हुनेछन् भने सोमबार पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिने संयोजक टीबी पुनमगर ‘रोशन’ले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %