मनोज घर्तीमगर
तस्वीर – छवि मगर
चैत ५ – पोखरा ‘नाईट लाईफ’ मा रमाउन थालेको अहिले होइन । फेसनेवल सहर पोखरामा नयाँ पुस्ता डिस्को, डान्स बार, रक कन्सर्टमा झुम्छ भने प्रौढहरु दोहोरी, गजल अनि लाइभ म्यूजिकका रमाउँछन् । हरेक हप्ता हुने डान्स पार्टीहरुमा टिनएजरदेखि अधवैशेहरु उत्तिकै झुमिन्छन् । यहाँको ‘नाईट लाईफ’ रवाफिलो छ । तर, जिल्लामा नयाँ प्रहरी प्रमुख (एसपी) परिवर्तन हुने बित्तिकै उनीहरुको निशाना यहाँको ‘नाईट लाईफ’ हुन्छ । अहिले पनि त्यस्तै भएको छ । फागुन १० गते कार्यभार सम्हालेका एसपी घनश्याम अर्यालले बुधबारदेखी रात्रीकालिन व्यवासाय १० बजे बन्द गरिसक्नुपर्ने उर्दि लाएपछि व्यवसायी र प्रशासनबिच दोहोरी चलेको छ ।
एसपीको उर्दिको विरोध गर्दै बिहिबार यहाँका दोहोरी साँझ, गजल, लाइभ म्यूजिकहरु बन्द भए । व्यवसायीहरु एउटा समिति बनाएर त्यसको विरोधमा उत्रिएका छन् । पोखरामा गोधुली साँझको संकेतसँगै रात्रि जीवनको मजा लिनेहरु धेरै छन् । यति सम्म कि लेकसाइडलाई यूरोपको संज्ञा दिइन्छ । यहि कुरो बुझेका तत्कालीन पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीले पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउन भन्दै पोखराको लेकसाईडक्षेत्र २४ सै घण्टा खुल्न दिने निर्णय गरेका थिए चार वर्ष अघि । तर, रातको समयमा बढी आपराधिक गतिविधि र होहल्ला हुने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले रात्रीकालिन व्यवसाय १० बजे नै बन्द गर्न लगाएको छ । ‘हामीले ११ बजेसम्म चलाउँदै आएका छौं । ५० प्रतिशत व्यापार त १० बजेपछि हुन्छ’ पोखरा लोक दोहोरी रेष्टुरेण्ट व्यवसायी समितिका अध्यक्ष एवं संघर्ष समितिका संयोजक सिम गुरुङ भन्छन्,‘यहि अवस्था रहि रहे हामी सडक आन्दोलनमा जान्छौं । अन्य संघ संस्थाको पनि सहयोग माग्छौं ।’
पोखरामा दोहोरी साँझ १६ वटा, डान्सबार १८, लाइभ म्यूजिक १४÷१५, डिस्को ४÷५, गजल ३ लगायत गरि ५० भन्दा बढी रात्रीकालिन व्यवसायिक संस्था छन् । उनीहरुले सरकारबाट लाइसेन्स लिँदा नै रात्रीकालिन व्यवसाय संचालन गर्ने भनेर लिइएका हुन् । कानुनी रुपमै रात्रीकालिन व्यवसाय गर्ने भनेर अनुमति पाएका व्यवसायिक संस्थालाई १० बजे नै बन्द गर्नुपर्छ भन्नु सरासर गलत भएको लेकसाइडस्थित आइरिस पपका संचालक नारायण थापा बताउँछन् । ‘हाम्रो व्यवसाय चल्ने भनेकै राती हो । नाइट लाइफ नै १० बजेपछि हो’ नारायण भन्छन्,‘लेकसाइड एरियामा त्यस्तो सुहाउँदैन । त्यो सरासर गलत हो । लेकसाइडमा किराना पसल, ग्रोसरी सबै राती अबेलासम्म खुल्छन् । तर, लाइभ म्यूजिक मात्रै बन्द गर्नु भन्ने गलत हो ।’
त्यसो त पोखरामा दुईबजेसम्म संचालन हुने डिस्को पनि छ । महेन्द्र गुरुङले संचालन गर्ने ओजन डिस्कोलाई प्रहरीले ११ बजे नै बन्द गर्न लगाएपछि उनी त्यसका बिरुद्ध अदालत गए । अदालतले राती दुई बजेसम्म संचालन गर्न पाउने आदेश दिएपछि ओजन ढुक्कसँग राती अबेरसम्म संचालन हुन्छ । पोखराकै अन्य रात्रीकालिन व्यवसाय १० बजे नै बन्द गर्दा यहाँ प्रहरी प्रमुखले आफ्नो नियम लाउन खोजेको हो वा चर्चामा आउने नयाँ स्टन्ट धेरै अलमलमा छन् । ‘सार्क सम्मेलनका लागि भनेर केही दिनका लागि १० बजे बन्द गर्ने हो भने हामी पोजेटिभ छौं सचेत नागरिकका तर्फबाट’ गजलबाट मनोरञ्जन दिइने मेलोडी क्याफेका संचालक बिनोद बानिया भन्छन्,‘तर, जो नयाँ एसपी आउँछ उसले आफूलाई एक्ट्रा देखाउन यस्तो गर्छ वा चर्चा कमाउन हो भने त्यो ठिक होइन । पर्यटकिय क्षेत्र भन्ने, दश बजे नै बन्द गरे पर्यटक होटलमा सुत्न मात्रै त आउँदैन ।’
व्यवसायीहरुले १० बजेसम्म मात्रै खुला राख्न पाउने हो भने रात्रीकालिन व्यवसाय गर्नु र नगर्नु उस्तै हुने भन्दै विरोधमा उत्रिएका छन् । विरोधस्वरुप उनीहरुले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । व्यवसायीले प्रमुख जिल्ला अधिकारीबाट सार्क सम्मेलनपछि यसबारे नीति परिवर्तन गरिने आश्वासन पाएका छन् । व्यवसायीको विरोधलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी घनश्याम अर्यालले सुनेकै छैनन् । उनी आफ्नो निर्णयलाई कार्यान्वयन गराएरै छाड्ने पक्षमा छन् । ‘सार्कको बैठकलाई मध्यनजर गरेर रात्रीकालिन व्यवासायलाई राती १० बजे बन्द गर्न लगाइएको हो’ एसपी अर्याल भन्छन्,‘तपाइलाई फेरी यो विषय किन चाहियो । मैले यो विषयमा पहिले नै बोलिसकेको छु । सार्कपछि खुकुलो बनाउने वा कडा गर्ने भन्ने पछिको कुरा म अहिल्यै भन्न सक्दिन ।’