मनोज घर्ती मगर
रसियाका ग्लेव सुखात्सकीले पोखरामा भएको १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताको उपाधि जितेका छन् । फागुन १५ गतेबाट सुरु भएको प्रतियोगितमा उनले ९९ जनालाई पछि पार्दै उपाधि जिते । शनिबार सम्पन्न पाँच दिनको टाक्सको आधारमा उनले ३ हजार ३ सय १४ अंक ल्याउदै उपाधि जितेका हुन् ।
भारतका अजय कुमार शर्मा उपविजेता भए । उनले ३ हजार २ सय ८५ अंक ल्याए । चाईनाका जुम्मिङ सन्ङ ३ हजार २ सय ४१ अंकका साथ तेस्रो भए । महिला तर्फ कोरीयाकी युन हि कीम प्रथम भइन् । ५ दिनको टाक्समा उनले २ हजार ५ सय ५१ अंक जोडिन् । रसियाकी ईम्गेनीया बेलोभाले २ हजार ३ सय ८ अंकका साथ उपबिजेता भइन् । काजकीस्थानकी डिनारा अस्मानोभाले १ हजार २ सय ७९ अंक जोड्दै तेस्रो भइन् । नेपाली प्याराग्लाईडिङ पाईलटहरु मध्ये ३ हजार ६३ अंकका साथ विशाल श्रेष्ठ प्रथम भए । कृष्ण सुनुवार दोश्रो र राजेश बम्जन तेस्रो भए । स्पोर्टस क्लासमा विशाल थापा प्रथम, रविन गुरुङ दोस्रो र अनिस भट्टराई तेस्रो भए ।
नेपाली वेष्ट डेव्युमा शेर बहादुर गुरुङ र शंकर गुरुङले जिते । समुहमा उत्कृष्ट क्रिमिया भयो भने दोश्रो युक्रेनको टीम र तेश्रो रसियनको टिम भएको छ । खुल्लामा विजेतालाई ४० हजार, उपविजेतालाई ३० हजार र तेस्रोलाई २० हजार रुपैंयाँ, ट्रफी र मेडल पुरस्कार दिइयो । अन्य ईभेण्टमा विजेतालाई ३० हजार उपविजेतालाई २० हजार र तेस्रोलाई जनहि १० हजार, ट्रफी र मेडल पाए ।
प्रतियोगिहरुको अंक तोकिएको दुरीको आधारमा कुनकुन क्षेत्रमा पुगे भन्ने ग्लोबल पोजीसनीङ सिस्टम (जिपिएस) मा हेरेर अंक दिईएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए ।