मनोज घर्तीमगर
लप्पनछप्पन मात्रै जान्दैनन् अहिलेका युवा ।

भविष्यको चिन्ता गर्दै भौतारिने युवा जमात पनि उत्तिकै छन् । १८–३० को उमेर यस्तो हो, जुन उमेर भविष्यको चिन्ता गर्नैपर्ने बाध्यता ल्याउँछ । प्रायः प्रगतिको ढोका खोल्ने उमेर पनि यहि हो । त्यही भएर धेरै युवायुवतिका मनमा अनेकन तर्कना आउँछन् । जागिर गर्ने कि, विदेश जाने , पढाइलाई निरन्तरता दिने वा व्यवसाय गर्नेै ? यो गरौं कि त्यो गरौं । उ गरौं कि यो गरौं ? यस्तै अन्तरद्वन्द्वले धेरै युवायुवतिलाई पिरोल्छ ।
पोखरा लखनचोकका भिमसेन घिमिरेका मनमा पनि अनेकन तर्कले अन्तरद्वन्द्व चलाउँछन् । अघिल्लो वर्ष स्नातक सकेका भिमसेन के गर्ने, के नगर्ने भन्नेमा अलमल छन् । उनका अघिल्तिर के गर्ने भन्नेबारे अनेकौं अप्सन छन् । दोधारमा रहँदा रहँदै उनले स्नातकोत्तर भर्ना गर्नै भुले । विदेश जानलाई थुप्रै पटक प्रयास गरे, सफलता अझै टाढा छ । जागिर खान गरेको प्रयासले दिक्दारी बनाइसकेको छ । ‘के गरौं के नगरौं तनावै तनाव छ’ भिमसेन दिक्दारी पोख्छन्,‘कसैले के सुझाव दिन्छन् । कसैले के । केके गर्नु के नगर्नु हैरान भइसकेँ ।’

मनमा जति तर्क आए पनि उनी नेपालमा बसेर प्रगती हुँदैन भन्नेमा ढुक्क छन् । मनमा कुरा खेलाउँदखेलाउँदै कहिलेकाँही त एक ठाउँमा जान खोजेको अर्को ठाउँमा गएका घटना थुप्रै छन् । स्नातकोत्तर गरेकाहरु सिरानी मुनि सर्टिफिकेट राखेर जागिरको चिन्ता गर्नेहरु दिनदिनै बढेको उनलाई थाह छ । ‘डिग्री गरे पनि सर्टिफिकेटले खान दिँदैन’ उनी भन्छन्,‘त्यही भएर मास्टर गर्न लागिन । अहिले कोरियन भाषा सिकिरहेको छु ।’
छोरेपाटनकी झुमा थापा पनि कुइराको कागजस्तै भएकि छिन् । बिएको परिक्षा दिएर बसेकी उनलाई जागिर खाउँ कि नखाउँ भन्ने लागिरहन्छ । जागिर खाएपछि फ्रि भइँदैन भन्ने भयले उनलाई जागिर खान रोकिदिन्छ । साथीभाईले पढ्दै जागिर खाँदै गरेको देख्दा त्यस्तै गरौं कि भन्ने तर्कले जित्न खोज्छ झुमालाई । तैपनि निर्णय लिन सक्दिनन् । ‘पढाइ गर्दै जागिर खाँदै गाह्रो हुन्छ’ उनी भन्छिन्,‘के गर्ने के, हैरान भइन्छ । यतिबेला सोच्नै नसकिने रैछ ।’
स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत कृष्ण भट्टराईको मनमा अनेकौं सोचाइले द्वन्द्व चलाएको चार÷पाँच वर्ष भइसक्यो । कैलाली घर भई पोखराबाट भर्खरै काठमाडौं गएका उनलाई कहिलेकाँही त सोच्दासोच्दा दिमागले काम गर्न छाड्लाजस्तो हुन्छ । ‘केही काम गरौं कि पढाइलाई निरन्तरता दिउँ, लोकसेवा आयोग तयार गरौं कि, केही सोच्नै सकिराछैन । के गरौं के गरौं भन्ने लाइराछ । जिन्दगी बोर छ’ कृष्ण भन्छन्,‘मास्टर गरेर पनि काम छैन । जागिर पाउँछु भन्ने छैन । लास्टमा दुवै कतार जाने त होला भन्ने पनि लाग्छ ।’
स्नातकोत्तर पढ्ने कास्की काँहुकी अनिता आचार्यलाई पनि भविष्यको चिन्ताले कम्ता सताउँदैन । उनलाई यस्तो लाग्छ, साथीभाईले जे गर्यो आफूले पनि त्यस्तै गरौं । तैपनि निर्णय लिनै सक्दैनिन् । ‘सबैले जागिर खाँदा जागिर खान पाए हुन्थ्यो भन्ने लाग्छ । जस्तो देख्यो त्यस्तै हुन पाए हुन्थ्यो भनेर मन त डुलिरहन्छ’ उनी भन्छिन् ।
के गर्दा राम्रो भविष्यमा र के गर्दा नराम्रो ? सबैजना दुईधारे हुन्छन् जिन्दगीका सवालमा । सोचविचार गर्दैगर्दै धेरैजसो सानातिना जागिरमा अलमलिन्छन् । तनाव कम गर्ने बहानामा गोरखा फुजेलकी मिना सापकोटाले पनि एक एनजीओमा जागिर खाइन् । स्नातक पास भएपछि पोखरा बस्दै आएकी उनलाई अहिले पोखराभन्दा काठमाडौंमा जान पाए हुन्थ्यो भन्ने लागिरहन्छ । ‘मास्टर पढौं कि नपढौं भन्ने पनि लाग्छ । मास्टर गरेर काम छैन भनेर पढ्दैपछिन्’ मिना भन्छिन्,‘बरु अब टेक्निल लाइनतिर छिर्नपर्ला भन्ने सोचेको छु ।’
अंग्रेजीमा मास्टर डिग्री सकाएर बिहान प्लस टु र दिउँसो माविमा पढाउँदा पनि सन्तोष छैन, शुसील थापा क्षेत्रीलाई । भविष्यको चिन्ता गर्दैगर्दै पढाउने काम माथलेका उनको मन एकछिन स्थिर बस्दैन । कहिले विदेश जान खोज्छ । कहिले विहे गरिहालौं कि भन्ने सोच पलाउँछ । कहिले घर फर्केर गाउँकै स्कुलमा सेवा गर्ने कि भन्ने लाग्छ । कहिले काठमाडौं जाउँझै हुन्छ । भविष्यको चिन्ता गर्दैगर्दै अहिले उनी लोक सेवा आयोगको ढोका ढकढक्याउन पुगेका छन् । ‘खै के हो के, के गर्ने के भन्नेबेला लोक सेवा छिर्ने जोश जाग्यो, फस्ट पेपर कटेको छ, बाँकी तयारी चल्दैछ’ शुसिल भन्छन्,‘अफिसरै भए पनि तलब त खासै छैन । हेरौं के हुन्छ ।’
बाग्लुङकि कल्पना श्रीसको मनमा पनि के गर्ने भन्नेबारे अनेकन तर्कले हैरान बनाए । एउटा विद्यालयमा स्थायी नियुक्ति पाएकी उनलाई भविष्यको चिन्ताले यति सतायो कि, छँदाखाँदा जागिर छाडेर उनको दिमागमा सरकारी जागिर खाने भुत चढ्यो । अहिले उनी काठमाडौं बसेर लोकसेवा आयोग तयारी गरिरहेकी छिन् । अधिकृतको पहिलो पेपर पास गरेर हौसिएकी उनी अहिले पनि दोधारमा छिन् । स्नातकोत्तर ज्वाइन गरौं कि नगरौ. । ‘जागिर छाडेर गल्ति पो गरेकीँ, नाम निस्के त ठिकै छ ननिस्के के गर्ने हो भन्ने चिन्ता लाग्छ’ उनी भन्छिन्,‘फेरी मास्टर पढ्ने कि नपढ्नेमा दोधार । जिन्दगी दोधारमै जाने भो ।’
तस्वीर सौजन्य : भिमसेन घिमिरे
(दुई तस्वीरमा कोड गरिएका भिमसेन र कृष्ण हुन)
