मनोज घर्ती मगर ,
खासमा उनी बडिबिल्डर हुन् । पेशाले रेष्टुरेन्ट व्यवसायी । यिनको परिचय यतिले पुग्दैन । थुप्रै ठाउँमा समाजसेवा गरिसकेका उनी अधिकारकर्मी पनि हुन् । त्योभन्दा ठूलो परिचय उनी मगर समुदायका वापा (गुरु) हुन् । जसले जन्मदेखी मृत्युसँस्कारको काम मगर सँस्कार अनुसार गराइदिन्छन् । उनी हुन् नवलपरासी घर भई हाल हङकङमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका तिलक सोमैमगर । सोमै बहुमुखि प्रतिभाका धनि छन् । अहिलेसम्म बनाएका परिचयलाई अझै फराकिलो बनाउन उनले नयाँ काम थालेका छन्–त्यो हो समावेशी गायक ।
कर्मथलो हङकङ बसाइमा उनले नेपालका विभिन्न जातजातिको गीत उनीहरुकै भाषामा गाउन कस्सिएका छन् । अहिलेसम्म सोमैले मगर, नेवार, गुरूङ, लिम्बु र राई भाषामा गीत रेकर्ड गराईसकेका छन् । उनले नेपाल सरकारले सूचीकृत गरेका ५९ वटै आदिवासी जनजातिका उनीहरुकै मातृभाषामा गीत गाउने योजना बनाएका छन् । त्यसका लागि तामाङ, शेर्पा, थारू, थामी, सुनूवार जातिको गीत संकलन गरिसकेका छन् भने, बाँकी गीत संकलन गर्दै जाने उनले बताए । ‘गायन क्षेत्र आफैमा कठिन हो, तैपनि प्रयास गरे नहुने केछर भनेर लागिरहेको छु’ तिलक भन्छन्,‘मर्दै गएका विभिन्न जातिका मातृभाषालाई गीत मार्फत जोगाउने महाअभियानमा लागेको छु । जसले मलाई समावेशी गायकको परिचय पनि दिएको छ ।’ बिभिन्न भाषाभाषीको गीत गाउन, शब्द उचारण गर्न गाह्रो र चुनौतीपूर्ण रहे पनि त्यस्ता चुनौतीलाई सामान गर्न कस्सिएको उनले सुनाए ।