मगर युवाले हटाए ‘मलामीलाई राँगो’ को मासु

Read Time:3 Minute, 37 Second

राँगो काटेर भोजभतेर गर्दा कम्तीमा डेढ लाख खर्च हुन्थ्यो

कृष्णप्रसाद गौतम

रुकुम माघ ३, २०७२ – स्थानीय मगर समुदायको मृत्यु संस्कारमा राँगो र भेडा काटेर मलामीलाई भोज खुवाउने परम्परा थियो । मैकोट गाविसका युवाहरूको पहलमा अगुवाहरूको भेलाले यो रीति खर्चिलो भएको भन्दै निर्णय गर्‍यो– अब राँगो नढाल्ने ।

मलामीलाई राँगाको मासुसहितको भोज खुवाएर बिदा गरेपछि मात्र किरियापुत्री शुद्ध हुने जनविश्वास थियो ।

मलामीलाई राँगो काटेर भोजभतेर गर्दा कम्तीमा डेढ लाख रुपैयाँ खर्च हुने गरेको थियो । अगुवाहरूको सर्वपक्षीय भेलाले अब भेडा मात्र काटेर सामान्य सगुन बाँडेपछि किरिया उतार्ने चलन सुरु गरेको हो । ‘यसले खर्चिलो परम्परा र तडकभडकलाई नियन्त्रण गरेको छ,’ मगर समुदायका अगुवा लजिम पुनले भने, ‘परम्पराको चर्को मारमा परेका विपन्नलाई समेत मृत्यु संस्कार गर्न सजिलो भएको छ ।’

अब हुनेखानेले पनि राँगो ढाल्ने परम्परा अन्त्य भएको स्थानीय पुपाल युवा क्लबका उपाध्यक्ष कर्मसही घर्तीले बताए ।

मगर समुदायमा परिवारको सदस्यको मृत्यु भएको दिन शव चिहान भएको स्थान (विस्गा) मा गाडेर फर्किएपछि उसै दिन वा नभ्याए भोलिपल्ट भोजभतेर गर्ने चलन थियो । ढिँडो र भातसँगै मृतकका परिवारले राँगाको बलि दिएर किरियापुत्री र आफन्तको शुद्धि गराउने मान्यता थियो ।

‘परम्परालाई समेत कम खर्चिलो बनाउँदै मृत्यु संस्कारलाई निरन्तरता दिइनेछ,’ घर्तीले भने, ‘पुरानो संस्कारको संरक्षणसहित यसलाई व्यावहारिक बनाएका छौं ।’ यसअघि परिवारका सदस्यको मृत्यु संस्कार उतार्दा गरिबहरू ऋणमा चुर्लुम्म डुब्ने गर्थे ।

मगर समुदायमा मृत्यु संस्कारका केही फरक प्रचलन छन् । महिलाले लावैसिन्या (मृत्युमा गाइने गीत) गाएपछि शव उठाइन्छ । मलामी बनेर महिला र पुरुष दुवै जाने चलन रहेको घर्तीले बताए । मृतकका शोकमा जोर्बे (कपाल मुन्डन गरिने स्थान) मा आफन्त र किरियापुत्रीले मुन्डन गरेर घरमा आउने चलन यथावत् राखिएको छ ।

महिलाको मृत्यु भए गाई र पुरुषको भए गोरु भान्जालाई दान गरेपछि मृत्यु संस्कार सकिएको र शुद्धिकार्य भएको मानिन्छ । यो संस्कारमा बाजा बजाउनेलाई साँढे दान गरिन्छ । शव उठाउँदा बन्दुक पडकाउने चलन छ । ‘अचेल प्रहरीको अनुमति लिएर पडकाइन्छ,’ उनले भने । यस्ता प्रचलन भने कायम राखिएको छ । ‘खर्चिलो कुरो हटाइएको हो,’ उनले भने, ‘जसले गर्दा परम्परा पनि मर्दैन, भार पनि पर्दैन ।’

कान्तिपुर बाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %