रूद्र श्रीसमगर
पोखरा, २९ पुस
केही समय अघिसम्म तामझामका साथ जन्म दिन मनाउने प्रचलन खासै थिएन, नेपाली समाजमा । तर, पछिल्लो समय पश्चिमा संस्कृतिको अनुसरण गर्दै जन्म दिन मनाउन थालिएको छ । नेपाली समाजमा जन्म दिन मनाइन्थ्यो त, केवल ठूला बडा र त्यसमा पनि राजा महाराजाहरूको ।
जन्म दिन मनाउने आफ्नै संस्कार छ, नेपाली समाजमा । आजभोली आफ्ना आफन्त, परिवारजन, साथीभाइसँग जन्म दिन मनाउनेहरू त धेरै नै भेटिन्छन् । तर, अलि फरक तरिकाले त्यो पनि सामाजिक कार्यमा आफ्नो जन्म दिनलाई समर्पित गर्नेहरू पनि बिस्तारै बढ्न थालेका छन् ।
नेपाली लोकसंगीत क्षेत्रका एक चर्चित एवं लोकप्रिय हस्ती लोकदोहोरी गायक मिलन लामाले आफ्नो गृह जिल्ला चितवनमा सामाजिक कार्यमा समेत आफूलाई सक्रिय बनाउँदै आएका छन् । गीत गाएर समाज सेवामा लागेका गायक मिलन लामाले पुस १ गतेदेखि २५ गतेभित्र जन्म दिन परेकाहरूलाई चेपाङ बालबालिकाको सहयोगार्थ कार्यक्रममा सहभागी गराउने मौका जुटाए ।
गायक लामाले चितवनको खैरहनी–१, करैयामा अवस्थित चेपाङ बालबालिकाले मात्र अध्ययन गर्ने अन्त्योदय जनजाति आवासीय विद्यालय प्राङ्गणमा बृहत सांस्कृतिक कार्यक्रम गरेर जन्म दिन मनाउन आह्वान गरे । उनको आह्वान बमोजिम चितवनका सामाजिक मन भएकाहरू भेला भए र चेपाङ बालबालिकाका लागि दैनिक उपभोग्य सामानसहित शैक्षिक सामग्री सहयोग समेत गरे ।
गायक मिलनले चितवनलगायत विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएका छन् । गायक मिलनले भने, ‘विगत लामो समयदेखि चेपाङ जनजाति विद्यार्थीलाई आवाससहित शिक्षा दिँदै आएको यस विद्यालयलाई सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो, सोही अनुसार सबैले यसमा सहयोग गर्नुभयो, म धेरै खुशी छु ।’ जन्मदिन पर्नेहरूको लागि मात्र बनाइएको सांस्कृतिक कार्यक्रमबारे उनले फरक तरिकाले कार्यक्रम गर्न लागेको प्रष्टीकरण दिए ।
कार्यक्रममा गायक मिलन लामासहित कल्पना श्रीपाललगायतका अन्य कलाकारहरूले समेत सांगीतिक प्रस्तुती राखेका थिए । आफ्नो जन्म दिन मनाउन पोखराबाट चितवन पुगेकी देउकी सिंजाली ‘दिपिका’ले जन्मदिनको पार्टी भनेर विभिन्न रेष्टुरेष्टमा गएर खुशी मनाउनु भन्दा विद्यालयका विद्यार्थीहरूबीच सामूहिक जन्मदिन मनाउन पाउँदा खुशी लागेको बताइन् । मिलन फाउण्डेशन नेपालको कोषाध्यक्ष समेत रहेकी उनी भन्छिन्, ‘अहिलेसम्म मैले यसरी आफ्नो जन्म दिन मनाएको थिइनँ, यसपालीको मेरो जन्म दिन अविस्मरणीय रह्यो, सानै भएपनि सहयोग गर्न पाएँ ।’
त्यस्तै, पोखराबाट चितवन पुगेकी मिलन फाउण्डेशन नेपालकी कार्यसमिति सदस्य गौरी गुरुङलाई पनि कार्यक्रममा सहभागी हुन पाएकोमा औधी खुशी लागेको छ । उनी भन्छिन्, ‘चेपाङ विद्यार्थीहरूलाई सानै भएपनि सहयोग गर्न पाइयो, त्यही खुशीको कुरा रह्यो ।’ यो कार्यक्रमले आगामी दिनमा समेत सामाजिक कार्यमा अरू समर्पित हुन प्रेरणा मिलेको उनको भनाइ छ । विद्यालयका संस्थापक स्व. ईश्वरकाजी ढुंगाना हुन् । उक्त विद्यालयमा अहिले १८० चेपाङ विद्यार्थी अध्ययनरत छन् ।