मुकेन छन्त्याल,
बेलायत छन्त्याल संघको आयोजनामा बेलायतबासी छ्न्त्यालहरुले छन्त्यालहरुको महान चाड म्हिलाङे सोङ्ती तथा छार-म्हेङ हर्षोल्लासका साथ मनाएका छन् ।
कार्यक्रमको सुरुवात नेपालको राष्टि्य गानका साथ आदिबासी जनजाति गान बाट गरिएको थियो । बेलायत छन्त्याल संघका अध्यक्ष लगायत बेलायतको अस्तित्वमा रहेका छन्त्याल जातिको १२ थरको लागि १२ जना बिशेष ब्यक्तिबाट दिप प्रज्ज्वलन गर्दै छन्त्याल जातिका बिशेष परिकार तरुल, सेलरोटी, मासुका परिकार लगायत पेय पदार्थ (रक्सी) सहित पितृ पुजा गरी छन्त्याल जातिको छार-म्हेङ अर्थात नयाँ बर्षलाई औपचारिकताका साथ स्वागत गरिएको थियो ।
सर्बमान्य दिल बहादुर घरब्जा छन्त्यालको फोटो राखेर दिप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा कोषाध्यक्ष कप्रसाद झिंराजा छन्त्याल, संस्कृति सचिब नरसिङ घरब्जा छन्त्याल र सदस्य क्या. रुद्र छन्त्यालले सुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम महासचिब मुकेन घरब्जा छन्त्यालको सन्चालन ,उपाध्यक्ष हेम घरब्जा छन्त्यालको स्वागत र संघका अध्यक्ष झक घरब्जा छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सुभकामना मन्तब्यको क्रममा बक्ताहरुले बेलायतबासी हामी छन्त्यालहरु संघलाई ब्यक्तिगत स्वार्थ र ब्यक्तिगत बैमनस्यताको लागि प्रयोग गर्ने ठाउँ होईन ,यसलाई आफनो समुदायको पहिचानलाई संरक्षण, सम्ब्रद्धन गर्ने,दुख सुखमा हातेमालो गर्ने र जातिको हकहितको लागि काम गर्ने एउटा चौतारोको रुपमा सम्झिदिनको लागि पनि सबैमा हार्दिक अनुरोध गरेका थिए ।
कार्यक्रममा जातिय पहिरनमा सजिएका छन्त्यालहरुको जमघतले हलभित्रको रौनक र वातावरणले नेपालकै झल्को दिएको देखिन्थ्यो । सात समुन्द्र पारी रहेता पनि छन्त्याल जातिको ईतिहास, पहिचान, संस्कार, संस्कृति र भेषभुषा प्रतिको माया मोहमा उत्तिकै जिवन्तता भेटिन्थ्यो । यस बर्ष हङकङ र यूरोपका देशहरुबाट पनि छन्त्यालहरु बेलायतमा म्हिलाङे सोङ्ती तथा छार-म्हेङ मनाउन आएका थिए छन्त्याल जातिको महान चाड मनाउन बेल्जियम र हङकङ देखी बेलायत आएका अतिथिहरुलाई संघले खादा र फुलले बिशेष सम्मान गरेको थियो । केहि महिना अगाडी बेलायतको नागरिकता हात पार्न सफल हुनुभएको रिद्द बुढाथोकी छन्त्याललाई संघले खादाले बधाई दिएको थियो र शिक्षा क्षेत्रमा डा. लक्ष्मी घरब्जा छन्त्याललाई खादा र कदरपत्रले बधाईको साथ सम्मान गरेको थियो ।
संघका संस्कृति सचिव नर्सिङ घरब्जा छन्त्यालको परम्परागत लालै (खेली भाका) गीतको प्रस्तुतिले उपस्थित सबैलाई रमाइलो बनाएको थियो । साथमा खानपिनको स्वादमा युवायुवती र बालबालिकाहरुको विभिन्न नेपाली गीत र नृत्यहरुले भरपूर मनोरन्जन थपिएको थियो । संघले सहभागी सबैका लागि निशुल्क खानपिन तथा यातायातको सुविधा उपलब्ध गराएको थियो ।
बेलायत छन्त्याल संघले स्थापनाकाल देखी हरेक बर्ष जनवरी १ का दिन संघको आयोजनामा छन्त्यालहरुको महान चाड म्हिलाङे सोङ्ती तथा छार-म्हेङ बिशेष महत्वका साथ मनाउदै आएको छ ।