समाजसेवी दुर्गा गुरुङ ‘मिलन’द्वारा एक जना तेक्वान्दो प्रशिक्षक प्रायोजन
रूद्र श्रीसमगर
चितवन, १९ पुस
चितवनको खैरहनी नगरपालिकास्थित अन्त्योदय आवासीय माविमा स्थापित अन्त्योदय मिलन तेक्वान्दो डोजाङका प्रशिक्षार्थी चेपाङ विद्यार्थीलाई तेक्वान्दो पोशाक वितरण गरिएको छ ।
माउण्टेन भ्यू होटल, घान्द्रुक, कास्कीका सञ्चालक विक्रम गुरुङ र शान्ता गुरुङले सो डोजाङका चेपाङ बालबालिकालाई १० जोर तेक्वान्दो पोशाक सामाजिक क्षेत्रमा क्रियाशील संस्था मिलन फाउण्डेशन नेपालमार्फत् वितरण गर्नुभएको हो ।
कार्यक्रममा पोशाक वितरण गर्दै सशस्त्र प्रहरी बल गढीमाई गणका गणपति प्रहरी उपरीक्षक कुमार न्यौपानेले चेपाङ बालबालिकाको सहयोगका लागि सरकारी तवरबाट समेत आफूले पहल गर्ने जानकारी गराउनुभयो । त्यस्तै, चर्चित लोकदोहोरी गायक मिलन लामाले आफूले सुरुदेखि समाजसेवाको क्षेत्रमा आफ्नो रुचि अनुसार काम गरिरहेको जनाउँदै चेपाङ बालबालिकाको सहयोगका लागि आफ्नो तर्फबाट पूरै सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । लोकदोहोरी गायक लामाले आफूले देश तथा विदेशमा गीत गाएर कमाएको पैसा समाजका दीनदुःखीको सेवामा लगाउने गरेको बताउनुभयो ।
पोशाक वितरण कार्यक्रममा मिलन फाउण्डेशन नेपालका तर्फबाट सचिव मदन गुरुङ, कार्यसमिति सदस्य गौरी गुरुङ र जापानी सामाजिक अभियन्ता मेगुमी सेकिनको उपस्थिति रहेको थियो भने विद्यालयका प्रधानाध्यापक घनश्याम प्रधान, डोजाङका अध्यक्ष प्रकाशबहादुर उप्रेतीले बोल्नुभएको थियो ।
यसैबीच, मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले अन्त्योदय मिलन तेक्वान्दो डोजाङमा एक जना प्रशिक्षकलाई मासिक चार हजार रुपैयाँ पारिश्रमिक पाउने गरी प्रायोजन गर्नुभएको छ । नियुक्त हुने तेक्वान्दो प्रशिक्षकको पारिश्रमिकका लागि नेपालको ग्रामीण क्षेत्रमा सामाजिक सेवामा क्रियाशील हङकङनिवासी समाजसेवी गुरुङले सम्पूर्ण खर्च व्यहोर्नुहुने भएको हो । मिलन फाउण्डेशन नेपालले सोही डोजाङका प्रशिक्षार्थी चेपाङ बालबालिकालाई यसअघि पनि समाजसेवी गुरुङको पहलमा हङकङमा संकलित सहयोगमार्फत् करिब एक सय जोर तेक्वान्दो पोशाक वितरण गरेको थियो ।