पोखरा ,
सय बढी गीत गाइसकेका गायक नरजंग गुरुङले नायकका रुपमा उदाएका छन् । स्टेज कार्यक्रममा गीत गाएर हजारौं दर्शकलाई आफ्नो इसारामा नाँच्न बाध्य बनाउने नरजंग अहिले कसैको इसारामा नाँच्न थालेका छन् ।

गुरुङ भाषाको फिल्म ‘च्ह च्हमी’ बाट सेतो पर्दामा हाम फालेका उनी गायकबाट एकाएक नायक बन्न पाउँदा हौसिएका छन् । ‘गाउनु मेरो पेशा हो, फिल्ममा अभिनय गर्ने सोख’ सोख पूरा गर्न फिल्म खेलेको बताउन उनले लाज मानेनन्, ‘गायक मात्रै होइन, नायक हुँदा पनि राम्रै प्रतिक्रिया पाएको छु । उस्तै परे अर्को फिल्ममा नायककै रुपमा देखिने संभावना छ ।’
स्याङ्जा बानेथोक देउरालीका नरजङले २०६१ बाट रहरै रहरले गीत गाउन थालेका हुन् । २०६३ सालमा नारायण गोपाल खोजी प्रतिभामा कास्की प्रथम भएपछि गायनमा रुची बढ्यो । २०६४ मा लेखनाथ महोत्सवमा पहिलो गण्डकी ताराको उपबिजेता र बिग आइकनमा टप फाइभमा ंपरेपछि गायनमै करिअर खोजे नरजंगले । २०६५ मा सोलो एल्बम ‘फ्यूचर’ निकाले पनि सोचेजस्तो भएन । ख्यालख्यालमै फिल्ममा छिरेका उनी ‘नरे’ फिल्ममा पनि नायकै रुपमा दर्शकमाझ आए । ‘अभिनय र गायनमै लागे पनि धेरै गीत तिरै हुनेछु’ नरजंग भन्छन्,‘गीत जति लगानी गरे पनि आम्दानी छैन । फिल्ममा त कम्तीमा केही न केही रकम आउँछ ।’ फिल्ममा दुई चार सुक्का भए पनि आम्दानी हुने भएकाले यो क्षेत्रमा लागेको उनको भनाइ छ ।
