दशकपछि फर्कियो ‘मध्यान्ह’

Read Time:4 Minute, 53 Second

मनोज घर्तीमगर
तस्वीर ः युनुस गुरुङ÷जक्सन डटकम

पोखरा सभागृहको हलमा दर्शकको बाक्लो भिड लागेको थियो । मौसम चिसो छ । चिसोले कक्रक्क पारे पनि शनिबार तातिने मडुमा थिए पोखरेली । सन्दर्भ थियो– मध्यान्ह ब्याण्डका चर्चित गायक कर्णदासको एकल सांगीतिक कार्यक्रम । धेरैपछि गायनमा फर्किएका कर्णदासलाई सुन्न आतुर थिए । सबैका आँखा मञ्चतिर एकहोरिएका थिए । अधैर्य भइरहेका थिए दर्शक ।


लामो पर्खाइपछि मञ्चमा झुल्किए कर्णदास । दर्शकको भिडले उत्साहित उनले गाउनुअघि आमालाई स्टेजमा बोलाए । आमालाई ढोगेर आर्शिवाद थापेपछि आमाकै हातबाट माइक लिए, अनि सुरु गरे गाउन । ‘ठूलाठूला महल हैन, सिप सिकाउने झुपडी देऊ…’ गीत गाएर कर्णदासले भरपुर मनोरञ्जन लिन तम्तयार दर्शकलाई सुरुमै गम्भीर बनाइदिए । गम्भीर बनेका दर्शकको मनोभावना बुझेपछि उनले विदेश यात्राबारे बोले । ‘म मात्रै होइन, जिविकोपार्जनका लागि उपाय खोज्दै मान्छे दुर देश पुग्छ’ उनले भावुक हुँदै भने,‘तर केही समयको अन्तरालमा उ आफ्नो घर अवश्य फर्कन्छ । हो म आज आफ्नो घर फर्केको छु ।’
दर्जनौं कालजयी गीतका गाएका कर्णदास अमेरिकातिरै भासिए पनि नेपाल फर्केर दर्शकमाझ गाउने रहर हराएको रहेनछ । वर्षौंअघि यही सभागृहमा दुइटा एकल कन्सर्ट गरेको भएर पनि होला, उनी अमेरिका हुँदै पोखरा सभागृहमा गाउने कल्पना गरेका रहेछन् । यहि मौका छोपेर लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले उनलाई मञ्चमा उभ्याएको हो । गाउँदै गर्दा उनले भने,‘सपना देख्नुपर्दोरहेछ, एक दिन अवश्य पूरा हुन्छ । लामो समयपछि पोखरा सभागृहमा गाउने मेरो सपना पनि आज साकार भयो ।’
कर्णदासले गाउँदै गए । दर्शक उनको स्वरमा ताल मिलाउँदै रहे । गाउँदागाउदै आमाको महिमा पनि सुनाए । अनि आमाभन्दा ठूलो कोही नभएको भाव झल्कने गीत गाए ‘मन्दिर पनि हैन, भगवान् पनि हैन आमाभन्दा ठूलो अरू कोही छैन…।’ भावुक र आमाको महिमा बोल्ने गीतपछि उनी प्रेमिल हुन चाहे । युवापुस्ताको बाक्लो भिड देखेका उनले प्रेमकै गीत गाइदिए ‘मनमनै मन पराई सकेछु ।’ यो गीतलाई वान्समोरको बाढी आइरह्यो । प्रेमलाई मलजल गर्दै कर्णदासले अर्को गीत गाए, ‘यो प्रेमको बलिदान म कसरी भुल्न सक्छु ।’ उनले स्वर्गीय गायक सुन्दर थापालाई पनि सम्झिए । थापाको रचना उनीप्रति सपर्मण गर्दै ‘पुरानो डुङ्गा, पानीको छाल’ गाइदिए ।
देशमा बढेको अशान्तिप्रति कर्णदासलाई पनि उत्तिकै चिन्ता थियो । उनले शान्ति कायम राख्न आग्रह गर्दै ‘शान्ति तिमी फर्की आऊ’ सुनाए । कर्णप्रिय स्वरका धनी उनले राष्ट्रिय, सुगम र पप सबै प्रकारका गीत पालो पु¥याएर गाए । दर्शकले उनलाई ताली बजाउँदै हौस्याइरहे । ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो…’, लगायत गीत गाइरहँदा दर्शक खुब रमाए ।
‘जिन्दगीको के भरोसा’ सुनाएर कर्णदासले एकल गायनको बिट मार्दा दर्शकले झन्डै दुई घण्टा बितेको पत्तै पाएनन् । कर्णदासलाई आफ्नौ ब्याण्ड मध्यान्हृका सदस्यले साथ दिए । गायनमा रुवी गौली र रजनी राईले साथ दिएका थिए । अमेरिकाबाट फर्केपछि कर्णदासले पहिलो पटक आफ्नै जन्म थलोमा गाएका हुन् । लायन्स क्लव अफ आदर्श चौतारीको आयोजनामा भएको कार्यक्रम भुकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माण र त्यसबाट प्रभावित वालवालिकाको अध्ययनमा सघाउने उद्देश्यले गरिएको बताइएको छ । कार्यक्रममा कर्ण दासले निःशुल्क प्रस्तुती दिएका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %