कवि केशर नाम्जालीको ४९ औं जन्मजयन्ती मनाइयो

Read Time:5 Minute, 30 Second

केशर स्मृति सम्मानबाट युवा साहित्यकार राना सम्मानित
रूद्र श्रीसमगर
पोखरा, २ पुस
मगर भाषाका स्वर्गीय कवि केशर नाम्जाली भुरुङ मगरको ४९ औं जन्मजयन्ती पोखरामा बिहीबार मनाइयो ।


कवि भुरुङको जन्मजयन्तीका अवसरमा मगर भाषा प्रतिष्ठान, कास्की शाखाद्वारा आयोजित कार्यक्रममा मगर भाषाका युवा साहित्यकार रिमबाबु रानामगर सम्मानित हुनुभएको छ । चित्रेभञ्ज्याङ–८, चित्रे, स्याङ्जानिवासी स्थानीय शिक्षक समेत रहनुभएका साहित्यकार राना यस वर्षको ‘कवि केशर नाम्जाली भुरुङ मगर स्मृति सम्मान–२०७२’बाट ताम्रपत्र र मगर जातिको जातीय पहिरन भाङ्ग्रासहित सम्मानित हुनुभएको छ ।

साहित्यकार रानालाई सम्मान गर्दै मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं अग्रज साहित्यकार लोकबहादुर थापामगरले मगर भाषामा साहित्य लेख्दा मगर भाषाको लेखकीय परम्परालाई मार्न नहुनेमा जोड दिनुभयो । समाजमा वर्ग भएजस्तै साहित्यमा पनि वर्ग हुने बताउँदै साहित्यकार थापाले गरि खाने वर्गको साहित्य जीवनसँग जोडिएको हुने उल्लेख गर्नुभयो । मगर भाषा, साहित्यको विकास र विस्तारमा युवा पुस्ताले महŒवपूर्ण भूमिका खेलेको बताउँदै साहित्यकार थापाले साहित्यमा चलेको कलम निरन्तर चलाइरहन सुझाव दिनुभयो ।


सम्मानित व्यक्तित्व मगर भाषाका युवा साहित्यकार रिमबाबु रानामगरले आफूले पाएको सम्मानले थप जिम्मेवारीबोध गराएको र आगामी दिनमा साहित्यको विकासमा लागिपर्ने प्रेरणा प्राप्त भएको उल्लेख गर्नुभयो । साहित्यकार रानाले स्वर्गीय कवि भुरुङले देखाएको बाटोलाई कहिले नभुल्ने प्रण गर्दै मगर भाषा, साहित्यको विकासका लागि स्वर्गीय कवि भुरुङले देखेको सपना पूरा गर्न प्रयत्न गर्ने बताउनुभयो ।
प्रतिभा छनौट समितिका संयोजक एवं नेपाल मगर संघका पूर्व महासचिव अधिवक्ता सुरेन्द्र थापामगरले सम्मान पाउनु ठूलो कुरा भएको भन्दै मगर भाषा, साहित्यको विकासका लागि यस्ता कार्यक्रमले महŒवपूर्ण सहयोग पुग्ने बताउनुभयो । स्वर्गीय कवि भुरुङले छोटै समय भएपनि मगर भाषा, साहित्यका लागि अतुलनीय योगदान गरेको बताउँदै अधिवक्ता थापाले सम्मानले कवि भुरुङको योगदानलाई स्मरण गराइरहने उल्लेख गर्नुभयो ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषा बोल्न जानेर पनि बोल्न नचाहेका कारण मगर भाषा लोप हुँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै सबैले आफ्नो मातृभाषा बोले मात्र भाषाको जगेर्ना हुने बताउनुभयो । सबै मातृभाषालाई राज्यले संरक्षणका लागि विशेष चासो दिनुपर्ने बताउँदै अध्यक्ष रानाले मातृभाषा जोगाउनका लागि समुदायको पनि चासो हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कवि केशर नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषका संरक्षक एवं स्वर्गीय कवि भुरुङका मामा क्या. नरेश थापामगरले स्वर्गीय भुरुङको कवित्व, कृतित्व र व्यक्तित्वलाई अमर बनाइराख्न सानै भएपनि अक्षयकोषको स्थापना गरिएको बताउनुभयो । सम्मानित साहित्यकार रानाका मगर तथा नेपाली भाषामा हालसम्म ‘याँभू’ (इन्द्रेणी), पूर्वाद्र्ध, ‘मीजा’ (सन्तान), अर्को पुस्तालगायतका कृति प्रकाशित छन् भने स्वर्गीय कवि भुरुङका मगर भाषामा ‘मीछास’ (कसिड्डर), ‘म्हे’ (आगो)लगायतका कृति प्रकाशित छन् ।
प्रतिष्ठानका अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मीना थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष रूद्रबहादुर हितानमगरले स्वागत मन्तव्य, कार्यसमिति सदस्य यामबहादुर बरहीमगरले स्वर्गीय कवि भुरुङको जीवनी र अर्का कार्यसमिति सदस्य रूद्र ‘सन्देश’ मगरले सम्मानित साहित्यकार रानाको स्रष्टा परिचय दिनुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %