बैगुनी भारत–बेलायत

Read Time:13 Minute, 26 Second

मनोज घर्तीमगर
पूर्खाले देखाएको देशभक्तिबारे धेरैजसो नेपाली जानकार छन् । विश्व जित्ने अभिलासासहित साम्राज्य विस्तारमा हिडेको बेलायतलाई आच्छुआच्छु बनाएर नेपाल छिर्न दिएनन् । उतै फर्काइदिएर अहिलेको नेपाल बनाए । गोर्खालीको युद्धकलाबाट प्रभावित भएपछि बेलायले शत्रु सेनालाई पनि आफ्नो सेनामा भर्ती गरायो । सन् १८१५ देखी गोर्खाली भर्ती गर्न थालेको बेलायतले अहिलेसम्म त्यो क्रमलाई टुटाएको छैन । त्यसयता गोर्खालीले बेलायतको सार्वभौमिकता र सिमा रक्षाका लागि गर्नुपर्ने कुनै कसुर बाँकि राखेनन् ।
सन् १८५७ मा अङ्ग्रेजले गोर्खा रेजिमेन्टको सहयोग लिएरै भारतको सिपाही विद्रोह दबायो । लाखौँ गोर्खाली युवाले ब्रिटेनका तर्फबाट सन् १८८९ मा इजिप्ट, सन् १८९० मा रसिया र मध्यएसिया युद्ध लडेर बेलायतलाई जिताइदिए । त्यसपछि पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, टर्कीको ग्यालिपोली, इराक, इरान, थाइल्यान्ड, ट्युनिसिया, प्यालेस्टाइन, ग्रिस, इटली, जापान, जर्मनी र ककेससमा गोर्खा सैनिक ब्रिटिसको शक्तिशाली हतियार बने । ती युद्धमा गोर्खालीले अद्भूत बहादुरी प्रदर्शन गरेको इतिहासमा लेखिएको छ ।
साइप्रस, लिबिया, बेलिज, अफगानिस्तान, काश्मीर, तिब्बत, चीन, भुटान, बर्मा, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलायाको गुरिल्ला वार, सिङ्गापुर, बोर्नियो कन्फ्रन्टेसन, इन्डोनेसिया र मलेसियाबीचको सीमा विवाद, बु्रनाई विद्रोह, बर्मासम्म नेपाली युवा बेलायतकै लागि लडिदिएर उसको साम्राज्य विश्वभर फैलाइदिए । गोर्खालीको रगत पसिनाले नै बेलायत कहिल्यै सूर्य नअस्ताउने देश कहलियो । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबिच फोकल्यान्डमा लडाइँ हुँदा बेलायतले गोर्खाली सेना पठाएपछि अर्जेन्टिनीले नलडि आत्मसमर्पण गरे । बेलायतले विश्वभर गोर्खालीलाई बहादुर सिपाहीका रुपमा मार्केटिङ गरेर आफ्नो साम्राज्य फैलाएको इतिहास छ ।
बेलायतकै लागि गोर्खा सैनिकले अनेक युद्ध लडिदिए । यी सबै युद्धमा गोर्खा सैनिक फ्रन्ट लाइनमा रहेकैले ऊ विजयी हुन्थ्यो । आफ्नो भूमि रक्षाका खातिर नभई लाहुरे भएर उनीहरुले आफ्ना शत्रु नै नभएका सेनाका छातीमा सङ्गिन घोचे । जर्मन, जापानी सेनाका टाउका मुला काटेझैँ काटे । बेलायती साम्राज्य जोगाउन गोर्खा सैनिकले ठूलो बलिदानी गरे । बेलायती सेनामा भएका गोर्खाली त उसकोको पक्षमा लडे नै, तत्कालीन नेपाली सेनाका ४४ पल्टनले पनि उसको पक्षमा विभिन्न युद्ध लडिदिएर आजको बैभवशाली बेलायत बनाउन सघाए । बेलायत रक्षार्थ अहिले पनि थुप्रै गोर्खाली तैनाथ छन् ।
कुरो बेलायतको मात्रै होइन, आजको भारत बनाउन पनि थुप्रै गोर्खालीले रगत र पसिना खर्चेका छन् । भारतकै सिमा रक्षार्थ कयौं गोर्खालीले पाकिस्ताीसँग लडाइँ गरेका छन् । भारत र चिनबिचको युद्धमा थुप्रै गोर्खालीले रगतको खोलो बगाए । अहिले पनि भारतको सिमा रक्षार्थ जम्मु कश्मिर लगायत क्षेत्रमा गोर्खाली फौजले पहरा दिइरहेको छ । यसको मलतब के हो भने, नेपालीहरु आफ्ना मित्रलाई परेको बखत जस्तो सुकै सहयोग गर्न पनि तयार छन् । उनीहरु परेको बखत आफ्नो ज्यानको बलिदानी गर्न तत्पर छन् । गोर्खालीले बेलायत र भारतलाई अनेकौं गुन लगाएको कुरा इतिहासमा लेखिएको छ । दुर्भाग्य, नेपालले धेरै पटक गुनको बदला बैगुन भोगेको छ । यतिबेला पनि त्यही बैगुनको शिकार भइरहेको छ ।
मधेशसमा सुरु भएको आन्दोलन टुंगिने ठेगान छैन । संविधानको विरोधमा तीन महिनादेखि मधेस तहसनहस छ । यसले नेपाली राजनीतिलाई चरम संकटमा पु¥याइदिएको छ । ठिक यतिबेलै भारतको अघोषित नाकाबन्दीले दुई महिना नाघिसक्दा मुलकभर जीवन कष्टकर बनाएको छ । नाकाबन्दीले देशवासी आजित भएका छन् । निर्धक्क गरिखाने अवस्था छैन । पेट्रोलियम पदार्थको अभावले जनजीवन अस्तव्यस्त छ । घरमा चुलो बल्न छाडेको छ । ग्याँस पाउने आशमा सर्वसाधारण रातभर लाइनमा छन् । पेट्रोलको लाइन उस्तै छ । जनजीवन यति चरम संकटमा परेको छ कि, यहि अवस्था रहिरहे खाद्यान्न सामाग्री पनि अभाव हुने निश्चित छ । यस्तो विकराल अवस्थामा छिमेकी सहयोगी हुनुपर्ने हो । तर, हाम्रो छिमेकी (भारत)संविधान जारी भएदेखि नै नेपाललाई अप्ठ्यारो पार्ने उद्यममा लागेको छ ।
नेपालको झन्डै ९० प्रतिशत सभासदको निर्णयबाट जारी गरिएको संविधानप्रति असन्तुटि देखाएर उसले नेपालप्रति ठूल्दाईको व्यवहार गरिरहेको छ । नेपालको संविधान जारी भएपछि विश्वका विभिन्न देशबाट बधाई आए । धेरैले संविधान निकै प्रगतिशिल भएको टिप्पणी गरे । तर, भारत सुरुदेखी नै असन्तुष्ट छ । यो असन्तुष्टि कति देखिएको छ भने उसले मधेसमा आन्दोलन गरिरहेका राजनीतिक दललाई सहयोग गरिरहेको आरोप लागेको छ । उसले नेपालका बिरुद्ध, नेपालको संविधानका विरुद्ध विदेशीहरुसँग लविङ सुरु गरेको छ । त्यसको पछिल्लो उदाहरण हो– बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हालै भएको भेटवार्ता । समकक्षी भेटवार्तापछि उनीहरुले कात्तिक २७ गते जारी गरेको संयुक्त वक्तव्य अहिले चर्चामा छ ।
संविधान जारी भए लगत्तै अघोषित नाकाबन्दी गरेको भारतले जेसुकै गरोस् मतलब छैन । भारतसँगको नेपाली साइनो बेलायतभन्दा धेरै कान्छो हो । तर, सबैभन्दा पहिले (सन् १८१६ मार्च ४) दौत्य सम्बन्ध रहेको देश बेलायतले भारतकै कुरा सुनेर नेपालले उसमाथी लगाएको गुण बिर्सनु ठूलो भूल हो । संयुक्त वक्तव्यमा नेपालको नितान्त व्यक्तिगत मामिलामाथी भारतले ठाडै हस्तक्षेप गर्ने प्रयत्त गर्दा दुई शताब्दी पूरानो सम्बन्ध भएको बेलायतले पनि भारतसँगै मतो मिलायो । क्यामरन र मोदी दुवैले नेपालमा दिगो र समावेशी संवैधानिक समाधानमा जोड दिएर संयुक्त वक्तव्य निकाल्नु दुर्भाग्यपूर्ण हो । नेपालले समावेशी राज्यप्रणालीको बाटो रोजेको भर्खर हो । यसलाई संस्थागत गर्न नसकिएको साँचो हो । तर नेपालले जननिर्वाचित संविधान सभाबाट पहिलो पटक संविधान निर्माण ग¥यो । १२ वर्षे युद्ध टुंग्यायो । सेना समायोजनजस्तो गाह्रो काम सजिलो सक्यो । यस्ता महत्वपूर्ण उपब्धिलाई बिर्सेर नेपालको आन्तरिक मामिलाबारे बोल्नु भारत र बेलायत दुवैको हस्तक्षेपकारी नीति हो । नेपाललाई यो कदापी सह्य हुन सक्दैन । एउटा सार्वभौम देशको आन्तरिक मामालिमाबारे बोल्नु उनीहरुको हस्तक्षेप बाहेक केही होइन ।
क्यामरुन र मोदीको संयुक्त वक्तव्यमा उल्लेख गरेझै नेपालले केही गर्न नसकेको होइन । मित्र राष्ट्र नेपाललाई सुझा दिइरहँदा तिनकै देशमा संविधान पुनर्लेखनको माग त उठेकै छ । स्कटल्यान्डदेखि नागाल्यान्डसम्म उठेका संविधानको पुनर्लेखनलाई वास्ता नगर्नेले यस्तो वक्तव्य निकाल्न सुहाउँदैन । आफ्ना देशमा उठेका मागलाई नसुल्झाई नेपाल मामिलामा सुझाव दिनुलाई हार्दिकता होइन हस्तक्षेप भन्दा फरक पर्दैन । दुवैले नेपाललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम सुरु गर्न पनि सुझाव दिएका छन् । तर भूकम्पले थिलथिलो भएको देशलाई भारतले नाकाबन्दीको चोट दिनु गलत हो भन्ने आँट किन गरेन बेलायतले । गोर्खालीले बेलायतका खाँतिर लगाएको गुनको बदला किन बैगुन ग¥यो उसले । कम्तिमा क्यामरुनले नेपालमाथी लगाइएको नाकाबन्दी गलत छ भन्ने आँट देखाउनुपथ्र्यो मोदीसँगको भेटमा । यसो गर्दा गोर्खालीले उसप्रति लगाएको गुण दिर्ने सुनौलो अवसर पनि हुन सक्थ्यो । बेलायतले त उल्टै भारतले नेपालमाथी लगाएको नाकाबन्दी अहिलेसम्म थाहा नपाएजस्तो गरेर गोर्खालीले लगाएको गुनको घोर अपमान गरेको छ । हैन भने भारतले लगाएको नाकाबन्दिका कारण नेपालमा अहिले औषधी आपूर्ति नभएको, पेट्रोलियम पदार्थ नभएर भोकेको संकटबारे किन क्यामरुनले एक शब्द खर्चेनन् ।

नेपालमा संविधान जारी हुँदा बेलायतले बधाई व्यक्त गरेको थियो । तर दुई महिनापछि यो कदमले उसको कूटनीति भूल हो वा नेपालमाथीको बैगुन ? नेपाल मामिलामा नचाहिँदो चासो व्यक्त गर्ने भारतसँगै मतो मिलाएर विश्वकै सबभन्दा पुरानो लोकतान्त्रिक मुलुक तथा नेपालको दौत्य सम्बन्ध स्थापना भएको पहिलो मित्रराष्ट्र बेलायतले उस्तै बोली बोल्न सुहाउँदैन । बेलायतका लागि नेपालीले के गरेनन् ? ज्यानको बली लगाएनन् कि ? अंगभंग हुने गरी लडेनन् कि ? अहिलेको बेलायत बनाउन लाखौं नेपालीले रगत र पसिना बगाएका छन् । बेलातयका खाँतिर लाखौँ नेपाली युवा लडेका छन् ।
भारतले नेपालको आन्तरिक मामिलामा बेलाबेला हस्तक्षेप गर्न खोज्नु अस्वाभाविक भए पनि अनौठो होइन । तर बेलायत पनि उही शैलीमा प्रस्तुत हुनुले उसको बैगुनी पारा झल्काएको छ । नेपाली उखान छ, गुनको बदला गुन । तर, उसले भारतसँग मिलेर नेपाललाई गुनको बदला बैगुन गरेको छ । बेलायतका लागि गोर्खालीले लगाएको यति ठूलो गुनलाई बिर्सनु बेलायतको महाभूल हो । क्यामरुन महोदलाई यो थाह हुनुपर्छ कि उनी बस्ने भव्य महलमा गोर्खालीका रगत र पसिना पनि लतपतिएको छ । गोर्खालीको यति ठूलो गुनलाई बिर्सेर बेलातयतले भारतलाई धाप मार्नु दुःखद पक्ष हो ।

‘भर्तीको फन्दा’ किताबका लेखक घर्तीमगर पत्रकार हुन् ।
manojg.com.np

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %