मनोज घर्तीमगर
क्यानोनिङ शब्द धेरैलाई नौलौ लाग्छ । खासै चर्चा नहुने क्यानोनिङसँग धेरैलाई मतलब पनि छैन । तर, पोखरामा भने यसले बजार लिन थालेको छ । मुटु दह्रो हुनेले मात्रै क्यानोनिङ गर्ने आँट गर्छन् । त्यहि भएर पनि धेरैलाई यसबारे चासो नहुनु स्वभाविक हो । पानीमा भिज्दा पनि शरीरको तापक्रमलाई सन्तुलित राख्ने पोसाक अनि हार्नेस सुट लगाएर डोरीमा झुन्डिदै छहरामा झर्ने खेल नै क्यानोनिङ हो ।
धेरैले क्यानोनिङ रहर गरे पनि अवसर नपाउन सक्छन् । पोखरेलीलाई भने क्यानोनिङ गर्ने अवसर आगनमै छ । पोखराबाट नजिकै ल्वाङ घलेलको कुदी छहरामा क्यानोनिङको मजा लिन पाइन्छ । स्थानीय युवा राम गुरुङले २०७१ बैशाखमा गाउमै पर्यटकलाई आकर्षित गराउन क्यानोनिङ भित्रयाएका हुन् ।
अग्लो छहरोमा डोरी लगाएर झुन्डिदै तल ओर्लने खेल क्यानोनिङ (छागोवरहण) निकै चल्न थालिसकेको छ । ‘नेपाली पर्यटक निकै आकर्षित छन्’ क्यानोनिङ संचालक राम गुरुङको विश्वास छ, ‘दुई चार वर्षमा क्यानोनिङ गर्न अग्रिम बुकिङ गर्नुपर्नेछ ।’
रामका अनुसार कुदी छहरोमा अहिलेसम्म नेपाली २ हजार २ सय र विदेशी २ सय जतिले क्यानोनिङको मज्जा लिइसकेका छन् । सुरुमा नेपाली मात्रै आउने यहाँ बिस्तारै विदेशीको समूह पनि बढ्दैछ । केही वर्षमा साहसिक क्यानोनिङका लागि संसारभरका मानिस नेपाल आउन थाल्ने उनी बताउछन् । अमेरिकन क्यानोनेयरिङ एकेडेमीले गाउकै युवालाई तालिम दिएको थियो । सुरुमा १५ र पछि १२ जनाले तालिम लिएपछि क्यानोनिङ व्यवसायिक रुपमा सुरु भएको हो । अहिले उनीहरुले गाउमै रोजगारी पाएका छन् ।
क्यानोनिङमा आउनेलाई आत्मविश्वास बढाउनेदेखि गाइडिङ गर्ने काम अन्तिम गुरुङ, भक्त विश्वकर्मा, वासुदेव गौतम, खुसीमान गुरुङ र बल बहादुर गुरुङले गर्छन् । उनीहरु सुरुमा क्यानोनिङ गर्न आउनेलाई ठाउको वस्तुस्थितिबारे जानकारी गराउछन् । छहराबाट झरेर डेमो देखाउँछन् । फिल्डमै पनि डेमो गरेर क्यानोनिङबारे जम्मै ब्रिफिङ गर्छन् । ‘सबै जानकारी गराएपछि मात्रै क्यानोनिङका लागि पाहुनालाई तयार पार्छौं,’ गाइड वासुदेव गौतम भन्छन्, ‘क्यानोनिङ शतप्रतिशत सुरक्षित छ, ढुक्क भए हुन्छ । बिचमा सक्दैन भने गाइडले रेस्क्यू पनि गर्छन् ।’
कलकल बगिरहेको झरना । झरनामा डोरीमा झुन्डिएर झर्नेको ताती । एकपल्ट क्यानोनिङ गरेपछि लत बसे जस्तो हुन्छ । यस्तै भयो, लेकसाइडस्थित कम्यूनिटि फाउण्डेसनका प्रशासकिय अधिकृत उत्सव गुरुङलाई । समूहसहित सबैभन्दा पहिलो पटक ब्यवसायिक क्यानोनिङ गरेका उत्सवले त्यतिबेलै दुई तीनपटक झरनाको तलमाथी गरे । ‘पहिलो पटक क्यानोनिङको अनुभव गरेकाले निकै रमाइलो भयो’ उत्सव भन्छन्,‘अहिले पनि बेलाबेला जाउँजाउँ लाग्छ । केही समयपछि फेरी क्यानोनिङ जाने हो ।’
पोखराबाट २० किमिको दूरीमा रहेको क्यानोनिङ स्पट आधा करोड लगानीमा खुलेको हो । क्यानोनिङ गर्दा एक नेपाली पर्यटकले २ हजार रुपैया तिर्नुपर्छ । पोखराबाट आउनेजाने र खाना तथा खाजा खाने सुविधा पनि लिने भए ३ हजार ५ सय रुपैया लाग्छ । त्योसगै एक रात बस्ने सुविधा चाहिए ४ हजार ५ सय रुपैया तिरे पुग्छ । यी तीनथरी सुविधा लिन विदेशीले भने क्रमशः ३५, ५५ र ६५ अमेरिकी डलर तिर्नुपर्छ । ‘एक रात बस बसेर क्यानोङि गरियो, असाध्यै रमाइलो हुँदोरहेछ’ मणिपाल शिक्षण अस्पतालमा कार्यरत राम मण्डल भन्छन्,‘आफ्नै घरमा बसेजस्तो रमाईलो थियो । अस्याध्यै सेफ्टी रैछ । गाइडले राम्रोसँग कोर्डिअनेसन गर्ने रैछन् । अब अर्को पटक दोहो¥याउने हो ।’
क्यानोनिङका लागि यहा दुई लेवल छन् । भर्खर सिकारुका लागि तयार पारिएको विगिनर लेवल ४५ मिटर छ भने प्रोफेसनल लेवलको जमिनबाट झन्डै ३ सय मिटरको दूरी छ । ठूलो छागोमा डोरीको सहायताले झुन्डिदै
उत्रिने यो खेल कास्कीमा अन्त छैन । नेपालमा सन् २००७ देखि मात्रै यो खेलको सुरुवात भएको हो । लमजुङ, मनाङ, सिन्धुपाल्चोकको भोटेकोसी, नुवाकोटको ककनी, काभ्रेमा पनि क्यानोनिङ खेलको सुविधा छ ।तस्वीर सौजन्यः राम गुरुङ