अभावसँग पौंठेजोरी

Read Time:9 Minute, 26 Second

मनोज घर्तीमगर

दसैं अभावकाबिच सकियो । सन्निकटमा तिहार छ । विभिन्न कारणले बाहिर बसोबास भएकालाई कहिले घर पुगिन्छ पत्तो छैन ।

(पोखरा बजारमा स्थानीयको चहलपहल)

अघिपछि खाली भए पनि दसैंमा भरिने यातायातका साधन इन्धन अभावमा थन्किएका छन् । बजारमा पैदल हिड्नेको चहलपहल छ । दसैंको मुखमा भारतीय नाकाबन्दी र मुलुकभित्र मधेसवादी दलको आन्दोलनको बन्दले धेरैलाई हैरानी बनाएको छ । नाकाबन्दीले तनाव बनाए पनि पोखरा लगायतका पश्चिमेली आत्तिएका छैनन् । जस्तो संकटमा पनि धर्य गर्न सक्ने नेपालीपनमा खासै असर परेको छैन ।

जनजीवन कष्टकर छ । उपभोग्य वस्तुको अभाव छ । नाकाबन्दीले पेट्रोलियम अभाव हुँदा गाडी खासै चलेका छैनन् । बजारमा चिनी, दाल, तेल, पिठो, मैदा, मसला लगायत सामग्रीको सहज पाइदैन । तरकारीका लागि चाहिने आलु र प्याज पाइए पनि भाउ आकासिएको छ । ग्याँसको हाहाकारले सबै अत्तालिएका छन् । तैपनि तिहार मनाउन पोखरेली ढुक्क छन् । ‘हरेक समस्याको समाधान हुन्छ, यो नाकाबन्दीले केही असहज बनाए पनि दैनिक जीवन अस्तव्यस्त पारेको छैन’ पोखरा–१४ रामबजारका भिमबहादुर गुरुङ भन्छन्,‘बन्दको हल्ला हुनेबित्तिकै खाद्यान्नको जोहो गरेँ । हिड्नलाई साइकल प्रयोग गर्छु । ग्याँसको विकल्प राइस कुकर र दाउरा भएको छ ।’

पोखरामा अहिले पनि भीडभाड उत्तिकै छ । बजारमा उपलब्ध वस्तुको मूल्य आकासिएको छ । अभाव देखाउँदै खाद्यान्नदेखि तरकारीको मूल्य वृद्धि गरिएको छ । जेजस्तो भए पनि स्थानीयले सामान खरिद गरेकै छन् । धादिङकी सुशीला अधिकारीले दसैं राम्रै मनाइन् । तिहारको मुडमा कुनै परिवर्तन आएको छैन । पोखराको फुटपाथमा फलफूल बिक्रि गरेर गुजारा गर्ने उनी सधैं झैं तिहार मनाउन घर जानु छ यसपाली । बस नचले पनि उपायै सकिएजस्तो लाग्दैन शुसिलालाई । सुशीला गतवर्ष फूलपातीको दिन घर गएकी थिइन् । माचामाच व्यापार हुने समयमा उनलाई न छिट्टै घर जान मन छ न पोखरामै बस्न । ‘सरकाले केही न केही व्यवस्था गर्ला नि, कति दिन यस्तो होला’ दोधारमा रहेकी शुसिला ग्राहकले दिएको पैसो मिलाउँदै मुसुक्क हाँसिन्,‘केही उपाय नलागे यतै तिहार मानम्ला । यो वर्ष घर नजाँदैमा केही बिँग्रदैन ।’

धेरैलाई नाकाबन्दीको तनावले सताए पनि पोखरेली भने अभावसँग पौंठेजोरी खेलिरहेका छन् । तेल छैन । पेट्रोल सकियो । ग्याँस पाइदैन, बस चल्दैनन् । खाद्यान्न छैन भनेर गनगन गर्नेहरु कमै छन् । जस्तो पर्ला उस्तै टर्ला भन्ठान्नेहरु कम छैनन् । जसले नाकाबन्दीको यो तनावमा पनि केही आशाका संकेत देखाउँछन् । अप्ठ्यारोमा पनि जीवन चलाउने उर्जा दिन्छन् । त्यस्तै उर्जा दिने युवा हुन्, शिक्षण  पेसामा रहेका विकास कार्की । उनलाई पेट्रोल अभावमा कुनै चिन्ता छैन, किनकि बन्दको हल्ला चल्ने बित्तिकै साइकल किने । ‘पेट्रोल नभए पनि स्कुल जानैपर्ने भएकाले साइकल किनेँ । अहिले सजिलो भयो’ उनले विकल्पको फेरिहस्त सुनाए, ‘धेरैजना त्यसै अत्तालिन्छन् । ग्याँसको सट्टा राइस कुकुर, बिक्रेट, चलाए भान्साको तनाव हट्छ ।’

भारतले नाकाबन्दी लगाएको तीन साता नाघिसकेको छ । थुप्रैको दैनिकी भताभुङ्ग नभए पनि प्रभावित बनेको छ । पोखरा न्यूरोडमा बस्दै आएका अर्जुन थापाको दैनिकीमा भने केही फरक परेको छैन । उनी छोरीलाई हिडेरै  विद्यालय पु¥याउँछन् । त्यसपछि खाइवरी समयमै अफिस पुग्छन् । नाकाबन्दीले धेरैलाई तनाव दिए पनि उनले समस्यालाई सजिलै सल्टाएका छन् । हरेक कुरालाई सकरात्मक दृष्टिकोणबाट हेर्ने र समस्यालाई ठूलो नदेख्ने बानीले उनलाई सजिलो भएको छ । पेट्रोलको अभाव देखिन थालेपछि तेल रिजर्भमा नआउँदै किफायती तरिकाले बाडइक चलाउन थाले । अफिस जाने र अत्यावश्यक कामबाहेक उनी बाइक प्रयोग नगरि पदैल हिड्छन् । ‘वास्तावमा मलाई नाकाबन्दीको कुनै समस्या छैन’ मान्छेको स्वभावप्रति अर्जुन टिप्पणी गर्छन्,‘धेरैजसो बिकल्प खोज्नुको साटो अत्तालिन्छन् । यसले समाधान होइन, जीवन झ्न कष्टकर बनाउँछ । खोज्ने हो भने हरेक समस्याको समाधान हुन्छ ।’

अघिपछि पेट्रोलियम पदार्थ बेच्ने सरस्वती गुरुङलाई पनि हैरानी त भएको छ, तर अभावसँग जुध्ने आत्मविश्वास हराएको छैन । यहि अवस्था पैदल, नसके साइकल चढेरै पनि दैनिकी चलाउनुपर्छ भन्ने मनस्थितीमा छिन् । पेट्रोलियम पदार्थको अभावले जति तनाव दिएको छ त्योभन्दा बढी उनलाई आउने फोनले सताएको छ । पेट्रोल, डिजेल उपलब्ध गराइदिन अनुरोध गर्नेहरुको कयौं टेलिफ«ोनको सामान गरेकि छिन् सरस्वतिले । ‘पेट्रोलियम पदार्थ आएको छैन भन्ने सबैलाई थाह छ, तैपनी फोन मात्रै होइन, भाइबर, स्काइपी, फेसबुक जताबाट पनि तेल मिलाइदेउ भन्दै हैरान बनाउँछन् मैले कहाँबाट दिनु ?’ कास्की लेखनाथकी बिनिता पोख्ररेलले दुई वर्षअघि स्कुटर किनिन् । अफिस जानआउन सबैभन्दा सहज बनाइदिने स्कुटरले यतिबेला साथ छोडिसकेको छ । पेट्रोल नपाएपछि उनी बिनिता साइकल किन्ने सुरमा छिन् । ‘अब साइकलको बिकल्प छैन’ उनी भन्छिन्,‘केही सीप नचले यसमै चढेर अफिस जानेछु ।’ ग्याँसको विकल्प पनि सोचिसकेकी छिन् उनले । चलिरहेको ग्याँस सकिए माटोको चुलो बनाएर दाउरा बाल्ने बताउँछिन् उनी । ‘जेजस्ता समस्य आए पनि जीवन त जसरी पनि चलिहाल्छनि,’ यतिबेलाको बजार अभावबाट उनी  आत्तिएकी छैनन्, ‘खाने कुरा अभाव भए गाउँबाट मगाउँछु, ल्याउन नसके गाउँ फर्कन्छु ।’

गण्डकी मेसिनरी प्रोडक्टका म्यानेजर कपिल शर्मा ३५ जना कर्मचारीलाई कसरी तलब खुवाउने भन्ने चिन्तामा छन् । सहज वातावरण बन्दा कुनै पनि कच्चा पदार्थ ल्याउन नपाएका उनको व्यापार शून्य छ । तयारी अवस्थामा रहेका सामान पनि ग्राहसम्म पुर्याउन पाएका छैन डिजेल अभावले । तैपनि उनको आत्मविश्वास घटेको छैन । ‘ब्यापार नभए पनि कर्मचारीलाई तलब दिन्न भन्न मिलेन’ उनी भन्छन्,‘यो पटक नभए अर्को पटक राम्रो गरौंला ।’ एकातिर कर्मचारी व्यवस्थापन अर्कोतिर घरपरिवार ।

समाजशास्त्री रामचन्द्र बराल अहिले धेरै नेपालमा आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतना पलाएको सुनाउँछन् । संकट लम्बिएको लामो समय भइसक्दा पनि सरकारले सहज अवस्था बनाउन सकेको छैन । यस्तो संकटमा गुज्रिएका नेपालीहरुहरुमा आत्मनिर्भर बन्नुपर्छ भन्ने भावना बढ्नु र धैर्यशील हुनु सकारात्मक पक्ष हो । ‘भारतले फेरि दुःख दिन सक्छ भनेर दिगो विकल्प खोजौं भन्नेहरु बढेका छन्’ समाजशास्त्री रामचन्द्रको भन्छन्,‘बाबुबाजेले हिडेरै जीवन चलाए हामी पनि चल्छौं भनेर हिड्न थालेका छन् । दाउरा बालेर पनि गुजारा चल्नुपर्छ भन्नेहरु पनि उत्तिकै छन् ।’

तस्वीरः सञ्जय शाक्य

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %