बाहुनी भएकैले बिध्यालाइ राष्ट्रध्यक्ष बनाइयो तर, मगर्नी भएकैले पार्वतीलाइ आईजिपी बनाइएन

Read Time:27 Minute, 20 Second

हुम सुनारी मगर

खिलराज रेग्मी सरकारले उनको कार्यकालमा दुई महान गल्ति र गद्धारीहरू गरेका छन् । उ

नकै नेतृत्वमा भएको सरकारले कुनै पनि राष्ट्रिय नेतालाई पाँच लाख रुपैयाँ भन्दा बढी उपचार खर्च नदिने मापदण्ड बनाएर सर्वोच्चका तत्कालिन न्यायाधिश (वर्तमान प्रधानन्यायाधिश) रामकुमार प्रसाद शाहको उपचारमा राज्यकोष बाट ८० लाख  रुपैयाँ  भन्दा बढी राज्यले व्यहोर्ने निर्णय गरेको थियो भने राष्ट्रको महान समाजवादी नेता गोरेबहादुर खपाङ्गीमगरको उपचारमा जम्मा पाँच लाख रुपैयाँ दिलाएर आम उत्पीडितहरू माथि अन्याय गरेको थियो ।

राज्यद्धारा उपक्षामा पारिएकी सफल मगर महिला व्यक्तित्वका धनि पार्वती थापामगर नेपाल आमाका सँच्चा छोरी हुन । 

त्यस्तै गरि तत्कालिन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पार्वती थापामगर प्रति पनि ठुलो गद्धारी गरेका थिए खिलराज रेग्मी सरकारले । गत २०७० कात्तिक २९ गते तत्कालिन प्रहरी महानिरीक्षक कुबेर सिंह रानामगर सेवा निवृत्त हुँदै थियो । उनी पछिका सबै प्रहरी अतिरिक्त महानिरिक्षकहरू समेत सेवानिवृत्त हुँदै थिए । त्यसपछिका नायब महानिरीक्षक (डिआईजी)हरू मध्येमा पहिलो नम्बरमा आउने डिआईजी थिए पार्वती थापामगर ।

२०७० कात्तिक १४ गते नयाँ प्रहरी महानिरीक्षक नियुक्ति गर्ने बिषयमा रेग्मी सरकार मन्त्रीपरिषदको बैठक सिंह दरबारमा पुरै छ घण्टासम्म चलेको थियो । प्रहरी प्रशासनमा बिगतदेखि नै चल्दै आइरहेको परम्परा अनुसार वरिष्ठलाई स्वत प्रहरी महानिरीक्षक बनाउने परम्परा रेग्मी सरकारले तोड्यो ।

रेग्मी सरकारले पार्वती थापामगर भन्दा कनिष्ठ प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई पहुँच तथा वाहुन जाती भएको आधारमा अर्यालको बढुवा  गरियो । पार्वती थापामगर महिला र  त्यसमा पनि  जातले मगर भएकै कारणले प्रहरी महानिरीक्षक नबनाइएको हो भन्ने ठोकुवा गर्न सकिन्छ ।

जातीय र लैङ्गिक विभेदको बिरुद्धमा वकालत गर्ने केहि राजनीतिक दलहरू बिशेष गरि सबै कम्युनिष्ट पार्टी माओवादीहरू र पछिल्लो समयमा जातीय उत्पीडन कै बिरूद्ध र समावेशी नीति निर्माण गर्न कै लागि स्थापित केहि नयाँ राजनीतिक दलहरूले पनि आधिकारिक रुपमा पार्वती थापामगरलाई प्रहरी महानिरीक्षकमा पदोन्नति नगरिएकोमा बिरोधको कुनै रूप प्रकट गरिएन । केहि महिला अधिकारकर्मी र नेपाल आदिवासी जनजाती महिला महासंघले मात्रै पार्वती थापामगरमाथि राज्यले गरेको विभेद र त्यसको न्यायको लागि सर्वोच्चमा रिट दायर गरिएको थियो।

मगर जाती पार्वती थापामगरलाई प्रहरी महानिरीक्षक नबनाएर वाहुन जाती उपेन्द्रकान्त अर्याललाई बनाइएकोमा महिला अधिकारकर्मी लगायत केहि जातीय सामाजिक संघ संस्थाहरूले बिरोध गरिरहँदा वाहुन जाती त्यो पनि पार्वती थापामगर भन्दा कनिष्ठ व्यक्तित्वलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरिनु परेको बारे कुनै त्यस्तो तर्कसंगत कारण राज्यपक्षले जनतामा स्पष्ट नै गरेन ।

केहि वाहुन मित्रहरूले सामाजिक संजाल फेसबुक मार्फत पार्वती थापामगरलाई प्रहरी महानिरीक्षकमा नियुक्ति नगर्नुका कारण त्यो भन्दा अगाडि पनि मगर जात कै प्रहरी महानिरीक्षक पदमा रहिसकेको र मगरलाई नै पुनः प्रहरी महानिरीक्षक बनाउँदा प्रहरी प्रशासनमा मगर जातीको हालीमुहाली भएको देखिने भएको हुँदा पार्वती थापामगर भन्दा कनिष्ठ वाहुन उपेन्द्रकान्त अर्याललाई प्रहरी महानिरीक्षक बनाउनु परेको कुतर्क पनि गरेको भेटिएको थियो ।

त्यसो हो भने १८ जनासम्म राणा जातीहरू प्रधान सेनापति भएर नेपाली सेनामा लगातार राणा जातीय एकाधिकार भएको कुरा किन नगरेका होलान् ? २०४६ देखि २६ पटक सरकार परिवर्तन भए । सबै २६ सरकारहरूमा वाहुन नेताहरू मात्रै प्रधानमन्त्री भएको कुरा किन नगरेका होलान् ? राज्यको हरेक अङ्ग र निकायहरूमा एकल वाहुन जातीय अग्राधिकार र एकाधिकार भएको कुरा किन नगरेका होलान् ?

वाहुनहरू सक्षम र योग्यतावान हुन्छन् र उनीहरु राज्यको हरेक अङ्गहरूको निर्णायक तहमा पुग्छन् । तर, मगर जातीहरू असक्षम र अयोग्य भएकै कारणले राज्यको निर्णायक तहहरूमा पुग्न नसकेको हो भन्ने वाहुन लगायत हाम्रै मगर जाती भित्रका दासत्व र संकिर्ण मानसिकता भएका केहि मगर व्यक्तित्वहरूले कुतर्क अभिब्यक्तिहरू पनि दिने गरिएको पाइन्छ, यस सन्दर्भमा ।

त्यसो हो भने पार्वती थापामगरलाई प्रहरी महानिरीक्षकमा नियुक्ति नगरिनुमा के उनको असक्षमता र अयोग्यता कै कारण थियो ? मन्त्रीपरिषदले नियुक्त गर्नु अगाडि प्रहरी महानिरीक्षकको लागि खुला प्रतिस्पर्दात्मक नीति लागु गरिएको थियो ? जातमा वाहुन भएकै कारणले बिना प्रतिस्पर्दा वाहुन स्वतः सक्षम र योग्य हुने भन्ने नेपालको कुन चाँही ऐन कानूनमा लेखिएको छ ? जातले मगर भएकैले बिना प्रतिस्पर्दा मगर स्वतः असक्षम र अयोग्य हुनु पर्ने भन्ने नेपालको कुन कानूनमा लेखिएको छ ?

क्षमतावान, योग्य र प्रहरी महानिरीक्षकको लागि वरिष्ठतम हुँदाहुँदै पनि जातले मगर भएकै कारणले नेपाल प्रहरी प्रशासनको सवोच्च पदमा महिला त्यसमा पनि उत्पीडित समूदायकि एउटी चेलीले एउटा इतिहास कोर्नबाट बञ्चित गराइएको कीर्तिमानी पूर्व प्रहरी महानिरीक्षक पार्वती थापामगर बारे आम पाठक बृन्दहरूमा वहाँको छोटो जीवनी प्रस्तुत गर्न उपयुक्त ठान्दछु ।

वहाँको यस जीवनीले वहाँको क्षमता र योग्यता माथि शंका गर्ने केहि गलत तत्वहरूलाई पार्वती थापामगरको वास्तविकताले गजबको झापड दिनेछ भन्ने प्रमूख उदेश्यले वहाँको जीवनी यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । 

पार्वती थापामगरको छोटो जीवनी:

पार्वती थापामगर नेपालको प्रहरी सेवामा अनेक कीर्तिमान राख्न सफल व्यक्तित्व हुनुहुन्छ। जिल्ला प्रहरी कार्यालय प्रमुख हुने प्रथम नेपाली महिला पार्वती थापामगरले अञ्चल प्रहरी कार्यालयको प्रमुख पदमा पनि त्यस्तै गौरव हासिल गर्नुभएको थियो भने उहा“ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्नुभएको थियो ।

२०५२ जेठ २६ गते उहाँ जिल्ला प्रहरी कार्यालय प्रमुख हुनुभएको थियो । धादिङ जिल्ला उहाँको जिम्मेवारीको थलो रह्यो । अञ्चल प्रहरी कार्यालय प्रमुख चाँही २०६३ भदौ २० गते मेचीका लागि हुनुभएको थियो । २०६४ वैशाख ३ गते उहाँ गण्डकी अञ्चल प्रहरी कार्यालयको दायित्व सम्हाल्न पुग्नुभयो। २०६५ कात्तिक २० गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार उहाँ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा हुनुभएको थियो ।

नेपालको प्रहरी सेवामा अहिलेसम्म सबैभन्दा ठूलो पदमा पुग्न सफल महिला प्रहरीका नाताले सबैतिरबाट उहाँ प्रति बधाई, शुभकामना तथा हर्ष प्रकट गरिनु अस्वाभाविक थिएन । तर, दुःखको कुरो समाचार सार्वजनिक भएको केही हप्ता बितिसक्दा पनि उहाँले बढुवाको पत्र पाउनुभएको थिएन भने पत्रबेगर पदअनुसारको “फुली” लगाउने कुरै भएन ।

अन्य क्षेत्रमा  झैं प्रहरी सेवामा पनि महिलाप्रति अविश्वास र आलटालको भावना रहेको यथार्थलाई उहाँ नकार्न सक्नुहुन्न। तर, उहा“को भनाइ छ, “सेवाभाव, समर्पण, इमानदारी र मिहिनेतबाट सबै कुरा पाउन सकिन्छ” ।

प्रहरी सेवामा आउन चाहने महिलालाई उहा“ सहर्ष स्वागत गर्दै भन्नु हुन्थ्यो, “यो धेरै पवित्र र उपयुक्त स्थान हो। महिलाहरू प्रहरी सेवामा आउन अनकनाउनु हुँदैन। हालै भएको नेपाल प्रहरी नियमावलीको १२औं संशोधनले महिलाका निम्ति २० प्रतिशत स्थान आरक्षण गरेको छ। सरकारको नीति, कार्यक्रमअनुसार २० प्रतिशत स्थान प्राप्त हुनु निकै सकारात्मक कुरो हो। यस अवसरलाई हात पार्न महिलावर्ग जागरूक हुनैपर्छ। अन्यथा, यहाँ त्यति प्रतिशत पुर्याउन पनि हम्मे पर्ने स्थिति रहेको छ” ।

प्रहरी जवान, प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) यी तीन पदमा खुला प्रतिस्पर्धा हुन्छ । खाली रहेका पदमा २० प्रतिशत स्थान महिलाका लागि आरक्षण गरिएकाले महिलाहरू दरखास्त दिन आउनुपर्छ। निश्चय नै योग्यता र प्रतिस्पर्धा अत्यावश्यक कुरा हुन्। महिला भन्दैमा हुँदैन। तयारी त पहिल्यैदेखि हुनुपर्छ। महिलाबीचमा प्रतिस्पर्धा हुन्छ। “अरूभन्दा अगाडि आउँछु” भन्ने भावना हुनुपर्छ।

पार्बती थापामगर प्रहरी प्रशासनमा नायब महानिरिक्षकसम्म पुग्नु भएपछि नेपाल प्रहरीमा आउँन चाहने नयाँ महिला पुस्ताहरूको लागि सहज वातावरण बनेको कुरा बताउनु भएको छ । वहाँ कै पहलमा विभिन्न प्रहरी कार्यलयहरूमा महिला प्रहरीहरूलाई पुरूषसरह नै जिम्मेवारी दिन थालिएको रहेछ अहिले । वहाँले पुरूषसरह नै विभिन्न जिम्मेवारीहरू सम्हाल्दै आउनु भयो ।

राष्ट्रसङ्घीय कार्यक्रमहरूमा भाग लिन विभिन्न देशहरू जाने मौका पनि वहाँले पाउनु भएको थियो । यहि सिलसिलामा वहाँ ३० वटाभन्दा बढि देशहरू घुमिसक्नु भएको छ । प्रयाप्त आर्थिक उन्नति पनि गर्नुभयो । यस्तो उपलब्धी नेपाल प्रहरीमा आवद्ध जुनसुकै महिला प्रहरीले पाउनसक्ने कुरा थापामगर बताउनु हुन्छ ।

पार्वती थापामगरसँगै नायब महानिरीक्षक हुने नुवाकोट जमुनादेवी गाउँको खोलेमा जन्मनुभएकी विमला थापा शर्माले पाउनुभएको छ भने प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक पदसम्म महिला पुग्नुभएको छ। २००७ सालदेखि प्रारम्भ भएको प्रहरी सङ्गठनमा महिलाको प्रतिशत अत्यन्तै न्यून छ। प्रहरी जवानदेखि नायब महानिरीक्षकसम्म जम्मा पाँच हजार जति मात्र महिला प्रहरी छन्।

माता खेतकुमारी थापामगर तथा पिता सनकबहादुर थापामगरकी छोरी पार्वती थापामगर २०१६ साल फागुन ४ गते गोरखानगर क्षेत्र, गोरखामा जन्मिनु भएको हो। उहाँलाई बाल्यकालमा डाक्टर, इन्जिनियर बन्ने चाहना थियो। तर, विवाहपछि पतिको प्रेरणाले त यसमा काम गर्यो नै । साथै अन्य पेसाका तुलनामा यसमा जोखिम र चुनौती बढी रहेको र क्षेमता प्रदर्शन गर्न पनि उपयुक्त स्थान भएकाले प्रहरी सेवालाई अँगाल्नुभएको उहाँको भनाइ छ।

वीरेन्द्र प्रहरी अस्पतालमा प्रहरी नायब निरीक्षक पदमा २०४० सालदेखि सेवा थाल्नुभएकी पार्वती थापामगर २०४३ सालमा खुला प्रतिस्पर्धाबाट निरीक्षक (इन्स्पेक्टर) बन्नुभयो। महिला प्रहरी गुल्म हुँदै मिडिया शाखामा दुईवर्ष जति काम गर्नुभयो। यसबीच प्रहरी कार्यक्रम उद्घोघोषिका, समाचारवाचिका बन्दै सम्पादनको काममा समेत सक्रिय हुनुभयो। २०४९ मा प्रहरी नायब उपरीक्षक हुनुभई वर्षदिन जति “ट्राफिक”को काम सम्हाल्नुभयो। यसपछि बागमती अञ्चल प्रहरी कार्यालय तथा मध्ये प्रहरी कार्यालय, काठमाडौँमा एकवर्ष सेवा गरेर धादिङ पुग्नुभयो। धादिङमा उहाँको सेवाभाव र कर्तव्य परायणताबाट सबै जना निकै प्रसन्न रहेको र यसबाट आफूलाई थप प्रेरणा तथा हौसला प्राप्त हुनपुगेको उहाँको भनाइ छ।

वर्षदिनपछि उहाँ राष्ट्रसङ्घीय शान्ति स्थापना सेवाका लागि बोस्निया हर्जगोविना पुग्नुभयो। १४ महिनापछि अर्थात् २०५४ सालमा उहाँ केन्दिय प्रहरी महिला सेलको प्रमुख हुनुभई वर्षदिन सेवा गर्नुभयो । प्रहरी प्रधान कार्यालयको कार्यविभाग समन्वय शाखामा बिरामी, घाइतेका लागि समन्वयको कामका साथै प्रहरी स्मारक गुठीमा पनि दुईवर्ष संलग्न हुनुभयो । राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यका लागि उहाँ पुनः २०६१मा सियरालियोन पुग्नुभयो। वर्षदिनपछि फर्केर महिला सेलको पुरानै जिम्मेवारी सम्हाल्नुभयो। यसपछि मेची, गण्डकी अञ्चलमा सेवा कार्यमा तल्लीन रहनुभयो ।

जन्मथलो गोरखा भए पनि उहाँ सानै हुँदा बसाइँ सराई भएकाले उहाँको बाल्यकाल चितवनमै बित्यो । पाँच भाइ बहिनीकी ठूल्दिदी पार्वती सानैदेखि अदम्य उत्साह र साहसकी प्रतीक हुनुहुन्थ्यो। जनजीवन निमावि चैनपुर, चितवनमा सातसम्म पढेर बाँकी एसएलसीसम्मको अध्ययन खैरहनी मावि खैरहनी, चितवनबाट पूरा गर्नुभएको हो। पद्मकन्या कलेज, काठमाडौँबाट प्रमाणपत्र तह, स्नातक र स्नातकोत्तर गर्नुभयो।

२०३६ सालमा भीमबहादुर थापासँग उहाँको विवाह भएको हो। भीमबहादुर प्रहरी सेवामा “सब इन्स्पेक्टर” हुनुहुन्थ्यो। प्रहरी नायब उपरीक्षकका रूपमा उहाँले २०५८ मा अवकाश पाउनुभएको हो। उनिहरूको छोरी ज्योति र छोरा सुलभ छन्।

अमेरिका, बेलायत, स्वीडेन, चीन, जापान, फ्रान्स, इटली, थाइल्याण्ड, श्रीलङ्का, सिङ्गापुर, घाना, इथियोपिया आदि देशको भ्रमण गर्नुभएकी पार्वती थापामगरले आफ्नो सेवाबापत अनेक पदक, पुरस्कार पनि प्राप्त गर्नुभएको छ । २०६१ मा “लगन” (साङ्गीतिक अल्बम) जुराउनुभएकी पार्वतीको सोख साहित्य सिर्जना र सङ्गीत हो।

कुनै पनि महिलाले आफूलाई कमजोर ठान्न नहुने र प्रत्येक क्षेत्रमा साहसकासाथ अघि बढ्नुपर्ने आवश्यकता पूर्व प्रहरी नायब महानिरीक्षक पार्वती थापामगर औँल्याउनुहुन्छ।

आफु भन्दा कनिष्ठ डीआइजीलाई एआइजी बनाउने सरकारको निर्णय विरूद्ध पूर्व डिआइजी पार्वती थापामगरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । डिआइजी उपेन्द्रकान्त अर्याललाई पहुँच तथा प्रभावका आधारमा अर्यालको बढुवा गरिएको र आफुलाई महिला भएकै कारणले बढुवा नगरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी हुन ।

२०७१ कात्तिक १४ गते बसेको मन्त्रीपरिषद बैठकले डीआइजी अर्याललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनको बढुवासंगै उनलाई आइजीपी बन्ने बाटो समेत खुल्यो । तत्कालिन आइजीपी कुवेरसिंह रानामगरले २०७१ कात्तिक २९ गते अवकाश पाउने भएकोले उनको आइजीपी हुने बाटो खुलेको हो । रिटमा थापामगरले आफु एआइजीको दावेदार भएको उल्लेख गर्दै अर्यालको बढुवा रोकेर आफुलाई बढुवा गर्न सर्वोच्चसँग  अन्तरिम आदेशको माग गरेकी थिइन् ।

रिटमा थापाले मन्त्रीपरिषदको कार्यलय, गृहमन्त्रालय प्रहरी प्रधानकार्यालय लगायतलाई विपक्षी बनाएकी थिइन् ।

संविधान सभाको दोश्रो निर्वाचन हुँदै थियो । देश निर्वाचनमय बन्दै गइरहेको थियो । दलहरू आफ्नो योजना जनताहरु माझ लैजाने र आफुप्रति आकर्षित गर्न सबै उपायहरूअवलम्वन गरिरहेका थिए । निर्वाचनसँगै प्रमुख रूपमा आउने विषय हो सुरक्षा । दोश्रो संविधानसभा चुनाव अगाडि बारामा एमालेका सभासदका उम्मेदवार माथि दिनदाहाडै गोलीप्रहार भएको थियो । निर्वाचन र सुरक्षाको अवस्थासँगै प्रहरी प्रशासनको जिम्मेवारी परिर्वतन समेत हुने समय आएको थियो । प्रहरी तत्कालिन महानिरिक्षक कुवेर सिंह रानामगर कात्तिकमा सेवा निवृत्त हुँदै थियो । उनी पछिका सबै प्रहरी अतिरिक्त महानिरिक्षकहरू समेत सेवानिवृत्त हुँदै थियो । त्यसपछिका डिआइजीहरू मध्येमा पहिलो नम्बरमा आउने डिआइजी थिए पार्वतीथापामगर ।

त्यति बेला प्रहरी अतिरिक्त महानिरिक्षक रहेका विनोद सिंहसमेत सेवानिवृत्त हुने हुदाँ बढुवा हुने डिआईजीले नै महानिरिक्षक बन्ने अवसर प्राप्तगर्ने भएकाले पहिलो नम्बरमा रहेकी डिआइजी पार्वतीथापामगर नेपालको इतिहासमा पहिलो महिला महानिरिक्षक बन्ने महत्वपुर्ण समयको पर्खाइमा थिइन् ।

राजनैतिक, लैगिंक रजातीवादको प्रभाव नपरेको भए र कानुन सम्वत् रूपमा बरिष्ठता, कार्यदक्षता र क्षमतालाई मुल्याङ्कन गरिएको भए नेपालको समग्र महिलाहरूको प्रतिनिधीका रूपमा पार्वती थापामगर पहिलो महिला महानिरिक्षक बन्ने पक्का थियो ।

२०१६ सालमा गोर्खामा जन्मिएकी थापामगरले कानुन विषयमा स्नातक गरेकी छन् । २०४० सालमा सहायक प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी थापामगरले २०४३ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरिक्षकको रुपमा अगाडि आएकी हुन् । तत्कालिन समयमा प्रहरी महानिरिक्षकका रूपमा स्व. डि.वि. लामा थिए । २०४० मा नै आफु प्रहरी निरिक्षकको पदमा प्रतिस्पर्धा गर्न आउँदा महिला भएकै कारण निरिक्षकको फारम समेत भर्न नपाएकाले २०४३ मा मात्र निरिक्षकका रूपमा प्रतिस्पर्धा गर्न पाएको थाहा भएको छ । आफ्नो कार्यक्षमता, सहयोगी भावनाका कारण उनी संगठन भित्र एक शसक्त प्रहरी कर्मचारीका रूपमा अघि बढ्दै गइन । फलस्वरुप २०४९ मा डि.एस.पी, २०५८ मा एस.पि. २०६३ मा एस.एस.पि.र २०६५ मा डि.आइ.जीमा बढुवा भएकी पहिलो महिला डि.आइ.जि. समेत भईन् पार्वती थापामगर।

पहिलो जिल्लाप्रमुख, पहिलो अञ्चलप्रमुख,पहिलो क्षेत्रीय प्रमुख हुँदै आफ्नो जिम्मेवारीलाई पुरा गदै आएकी पार्वती थापामगर एक शसक्त नारी पात्र हुन् । जति वेला नेपालमा महिलाहरूलाई घरबाट बाहिर हिड्नसमेत नपाउने र पाईन्ट लगाउने कुरा सोच्न समेत नसक्ने अवस्था समाजमा थियो । उनी ती तमाम विषयहरूलाई चुनौती दिँदै अगाडी बढ्दै इतिहासमा स्वर्णीम अक्षरले पहिलो महिला महानिरिक्षक बनेर देश र जनताको सुरक्षाको जिम्मेवारी लिने संगठनको प्रमुखको व्यक्तिका रूपमा आफुलाई उभ्याउन तम्तयार थिइन् ।

तत्कालिन नेपाल सरकारका गृहमन्त्री र मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले यदि समावेशीता, कार्यदक्षता, वरिष्ठतालाई बढुवाको आधार बनाएको खण्डमा २०६४ सालमा नेपालको पहिलो संविधान सभा निर्वाचनमा उत्कृष्ट प्रहरी इन्चार्जको (गण्डकी अञ्चल) पुरस्कार समेत प्राप्त गरेकी डि.आइ.जी पार्वतीथापामगरको नेतृत्वमा दोश्रो संविधान सभा निर्वाचनको सुरक्षा अवस्था  मजबुत बन्ने आशा गरिएको थियो। उनिसँग अवसर र चुनौती दुवैलाई आत्मसात् गर्न सक्ने हिम्मत थियो । इतिहासको पानामा दोश्रो संविधान सभा निर्वाचनलाई सुरक्षाका दृष्टिकोणले सफल बनाउने र पहिलो महिला महानिरिक्षाकको रूपमा उदारहणीय कार्य गर्ने अवसर समेतको सदुपयोग गर्ने सोचमा आफु रहेको बताइएको थियो । प्रहरीमा बढुवाकोे अवस्थामा धेरै भन्दा धेरै राजनीति हुने गरेको र पैशाको समेत चलखेल हुने गरेको पाइएको छ।

संगठनमा आजसम्म हरेक परिक्षामा आफ्नो क्षेमता र परिश्रमका कारण यहाँसम्म आएको हुँदा र पहिलो पटक नेपाल प्रहरीमा महिला महानिरिक्षक बन्ने समय आएको हुदाँ नेपाल सरकार र प्रहरीका समकक्षी साथीहरुले समेत सहयोग गर्ने आशा लिएको बताएकी थिइन् । प्रहरी संगठनमा महिला र पुरूषले लगाउने पोशाक एउटै हुन्छ । काँधमा लाउने पद चिन्हपनि एउटै नै हुन्छ। तसर्थ, म महिला हुँ साथै म नेपाल प्रहरीको डिआईजी पनि हुँ । यदि म महिला भएकै कारण महानिरिक्षक पदमा जान नहुने वा नसक्ने अथवा मेरो पहुँच नहुदैमा प्रहरी महानिरिक्षक बन्न नपाउने हो भने आजसम्म मैले संगठनमा गरेको योगदान, मैले पाएका पुरस्कार, मेरो ३० वर्षको सेवा यात्रा, अनि सधै उत्कृष्ट बन्दै आएको नतिजालाई आम जनताले कसरि बुझ्ने भनि आम नेपाली जनतामाझ प्रश्न तेश्र्याउनु भएको छ ।पार्वती थापामगर महिला हुनु गलत थियो, महिला डिआईजी हुनु गलत थियो वा राज्य गलत कि हाम्रो समाज नै गलत हो ?

अन्तत, पार्वती थापामगर महिला त्यसमा पनि मगर जाती भएकै कारणले नेपालको प्रहरी प्रशासनले वरिष्ठतालाई मिचेर वहाँ भन्दा कनिष्ठ वाहुन पुरूषलाई महानिरिक्षक बनाइयो। पहिलो महिला प्रहरी नेतृत्व राष्ट्रले पाउन नसक्नु सिङ्गो राष्ट्र कै लागि अति दुर्भाग्य भयो। नेपालको राज्यसत्तामा वाहुन र पुरूष एकाधिकारवाद हा“वी भएको कुरा इतिहासमा दर्ज भएको छ।

क्षमतावान, योग्य र वरिष्ठ व्यक्तित्वलाई महिला त्यसमा पनि मगर जाती भएकैे कारणले नेपाल प्रहरीको सर्वोच्च पद महानिरिक्षकमा नियुक्त नगरेर नेपालकै इतिहासमा पहिलो पटक कनिष्ठलाई बढुवा गरिएकोमा जातीय र लैङ्गिक विभेदको विरूद्धमा खोक्रो नारा लगाउने राजनीतिक दलहरूको विश्वसनियता माथि प्रश्नचिन्ह खडा भएको छ ।

 

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %