– विष्णुकुमार सिङ्जाली
पिएच डी शोधार्थी, त्रि.वि.
(१) परिचय
मगराँत ऐतिहासिकता हो । लिच्छवीकालमा “मग्वर बिषय” भनेर उल्लेखित भएको पाईन्छ भने, बेद पुराण लगायत बौद्ध दर्शनहरुमा पनि मगराँतको ऐतिहासिकता भेटिने गरिएको पाइन्छ, जसको सिलसिलेवार इतिहास भने मगराँतका बासिन्दा र मगर स्वयँले लेखेको पाइँदैन । नेपालको भूगोल एकिकरण गर्ने राजा पृथ्वीनाराययण शाहलेले समेत आफ्नो दिव्योउपदेशमा आफुलाई मगराँतको घोषणा गरेका छन् । यसले के देखाउँदछ भने मगराँतको ऐतिहासिकता, आवस्यकता र पहिचान रहेको देखिन्छ र राजा माहाराजहरुले नेपालको राजनीतिमा मगराँतका बासिन्दा मगरहरुलाई साथमा लिएर ऐतिहासिक कार्यहरु सम्पन्न गरेको देखिन्छ । तर मगराँतका आदिबासी बासिन्दा मगरहरुले के पाए, के गुमाए त्यो आज चर्चाको विषय बनेको छ र धेरैको निश्कर्ष छ मगरहरुले पहिचान गुमाए, भाषा संस्कृती गुमाए, राज्यमा उपस्थीति गुमाए । यसले गर्दा आज मगर जनसँख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भेट्न सकिँदैन राज्य सत्ता र कर्मचारीतन्त्र तथा राज्यका अँगहरुमा । त्यसैले आज पिछडिएको जातिको रुपमा मगरलाई आफुलाई राज्यसत्ताका वपिरी राखेका तथा आफुलाई मगर जाति भन्दा विकसित मान्ने जाति र वर्गहरुले लिएका हुन्छन् र त्यही मनोविज्ञानका आधारमा हेपाहा व्यवहार गर्दछन् ।
यो व्यवहार, दमन, शोषणका कारण मगराँतका आदिवासीहरुमा आज इन्फेरियर सोचाई विकास भएकोले शासक जातिको मनोविज्ञान भन्दा पनि सधैं शासित जाति स्वीकार गरेको मनोविज्ञान छ, जसले गर्दा अधिकाँस मगरहरुमा आजको प्रतिस्पर्धामा उत्रने सबल मनोविज्ञान विकास भैसकेको छैन ।
नेपालको भौगोलिक एकिकरण भएपछि बनेको नेपाली भाषा र संस्कृतिको जग मगराँतको सभ्यताबाट सम्भव भएको कुरा प्रा. बालकृष्ण पोखरेल, प्राज्ञ डा.जगमान गुरुङ लगायत थुप्रै विद्वानहरुको मत छ्यापछ्याप्ती पाइन्छ । हुन त आज जस्तो मिडियाको विकास नहुँदै र नेपाल अत्याधिक रुपमा भारतसँग परनिर्भर नबन्दैको भाषा र संस्कृति हेर्ने हो भने त्यो पुष्टि पनि हुन्छ । तर आजका आफुलाई राष्ट्रबादी भन्ने मिडिया, लेखक, नेता तथा अभियन्ताहरुले भारतीकरण गर्दैछन् भाषा र संस्कृतिमा नेपाली पहिचान मेटाएर ।
मगराँतमा खस आर्यहरुको संस्कृतिको प्रवेश र सत्तामा माथ गरेपछि पनि मगरहरु आफ्नो मौलिक पहिचान जोगाएरै राख्न सकेका छन्, तर पनि समय समयमा राज्यको दमन, उत्पीडन र हिँसाका कारण त्यो पहिचान ढिपिरढिपिर छ । धेरैले मातृभाषा विर्सन बाध्य भए । मातृभाषा र मातृसंस्कृतिलाई राज्यले सम्मान नगर्दा आज मगर जातिका युवाहरु खरो प्रतिस्प्रधामा जान सकिरहेका छैनन् । आज मगराँत क्षेत्रमा विस्तारै भौतिक विकास भए पनि अभौतिक विकास कमजोर छ । सबै जाति, भाषा, संस्कृति र लिङ्गको विकास समान रुपमा हुन सकेको छैन ।
मगराँतको ठूलो भु–भागको भौतिक र अभौतिक सम्पदाको असमान विकासले गर्दा मानिसका मनहरु जोडिन सकेका छैनन् र त आज हाम्रो देश नेपाल संसारको गरीब राष्ट्र, मानिस बेचविखन गर्ने राष्ट्र मगन्ते राष्ट्र आदि भनेर उपमा पाएको छ, जसले हामी आत्मनिर्भर छैनौं भन्ने देखाउँदछ, जुन कुरा केही दिन छिमेकी राष्ट्रले लगाएको नाकाबन्दीमा हाम्रो हालतले देखाउँदछ । यसले नेपालको अन्य भु–भाग सँगै ऐतिहासिक मगराँत पनि हरेक पक्षबाट विकसित हुनुपर्दछ भन्ने देखाउँदछ, समग्र नेपालको विकासका लागि ।
(२) किन पछाडि पर्यो त मगराँत ?
ऐतिहासिक कालखण्डमा खस आर्यहरु मगराँत आइपुग्नु भन्दा अगावै किराँत मूल भित्र गनिने सुँगुरको मासु खाने संस्कृतिका मगरहरुको बसोबास भएको देखिन्छ । मगराँतको भुमिलाई मानव बस्न योग्य बनाउने आदिवासीहरु मगरहरु हुन भनेर पनि स्वीकार गरिएको पाइन्छ । खस आर्यको प्रवेशमा मगराँतले हार्दिकताकाथ स्वागत गरेको ऐतिहासिक तथ्यबाट खुल्दछ र मगराँतको संस्कृतिको प्रभावले गर्दा भारतिय हिन्दुको भन्दा नेपाली हिन्दुको संस्कृति फरक पर्न गएको भेटिन्छ, यद्यपी हालमा त्यो समिश्रणको नेपाली संस्कृतिलाई हिन्दुस्तानकरण गर्ने मार्गमा द्रुत गतिले अघि बढेको छ । यसरी ऐतिहासिकता बोकेको मगराँत र प्राकृतिक सम्पदाहरु भरिएको मगराँत तथा अभौतिक साँस्कृतिले भरिपूर्ण मगराँत आज पछाडि परेको छ । विकासको समानुपातिक गति सकेको छैन । मगराँतका अभौतिक सम्पदाहरु आदिम भाषा, संस्कृति माथीको दमन, आदिवासी र पिछडीएका समुदाय तथा वर्गहरुमाथी दमन यथावतै छ । राज्यसत्ताको व्यवहार आज पनि सौतेनी व्यवहार छ ।
त्यस्तो किन भयो त ?
हामी त्यसमा घोत्लीएर हेर्ने हो भने, मगराँतका आदिबासी मगरहरु सँधै प्रयोग भए, आफै नेतृत्व लिन सकेनन् । पूर्व मन्त्री बलाराम घर्तीमगरको पुस्तकलाई आधार मान्ने हो भने मगरहरुलाई (१) चङ्गेज खाँ (२) राजा पृथ्वीनारायण शाह (३) बेलायत र (४) माओबादीहरुले प्रयोग गरे भनेर तर्क गरिएको पाइन्छ । हुन त यो तर्क आँफैमा बेठिक छैन । मगरहरुलाई हतियार बोकाएर आफ्नो आफ्नो स्वार्थ सिद्ध ति बादशाहहरु र पार्टीहरुले गरे त्यो घाम जस्तै छर्लङ्ग देखिन्छ । पछिल्लो समयमा माओबादी पार्टीहरुले पहिचानको मुद्दा मगराँतको उठाउन नसकेकोले छर्लङ्ग देखाउँदछ । पहिले ति पार्टीहरु नेपालका आदिवासी जनजाति, दलित, महिला, मधेशी तथा पिछडीएका वर्ग र क्षेत्रको अधिकारहरु दिनुपर्दछ भनेर पार्टी फोरेर शासक जाति र वर्गको हितमा काम गरे ; दोस्रोमा सडकमा पहिचानको मामलामा आन्दोलन चर्काउने चेष्टा पनि गरेनन् र तेस्रो संविधान सभामा पहिचानको मामला र मगराँतका विषयमा कुनै कुरा उठाएर पारीत गराउने चेष्टा गरेनन् । आज फेरी त्यही मुद्दालाई बोकेर मगरहरुलाई उल्लु गराउन पार्टी र नेताहरु मगराँतका गाउँगाउँमा पसेका छन् ।
मगराँतका आदिवासी मगरहरुलाई हतियार नबोकाईकन चिल्ला र गुलिया कुराहरु गरेर काँग्रेस, एमाले, जनमोर्चा, राप्रप्रा आदि साना ठूला पार्टीहरुले पनि मगरहरुलाई सधैं अलमलाउने खेल खेलिरहे । मगर लगायत आदिवासी जनजातिहरुको नाम बेचेर जनमुक्ती पार्टी, संघिय समाजबादी पार्टी लगायतका अन्य साना पार्टीहरुले पनि मगराँतको पहिचान र उत्थानका लागि केही गर्न सकेनन्, मगरहरुलाई उल्लु बनाएर सत्तामा चढ्ने भर्याङ मात्र बनाए । यसले गर्दा सबैतिरबाट मगरहरु प्रयोगमा मात्र आए ।
पूर्वमन्त्री बलाराम घर्तीमगरले भने जस्ते हतियार बोकाएर वा झण्डा बोकाएर मगरहरुको प्रयोग मात्र भयो । अर्कोतर्फ मगराँतका आदिबासिहरु एउटै पहिचानको कुराको लागि धेरै पार्टीमा बाँडिए, जसले गर्दा भाई “फुटे गवाँर लुटे” भने झै मगराँत तीन टुक्रामा बाँडियो । राजनैतिक पार्टी र राज्य सत्ताले मगराँत र आदिवासी मगरहरुको हितमा काम गरेनन् भनेर खोलिएको समाजिक संस्था नेपाल मगर सँघले पनि कुरा नउठाएको होईन, तर त्यहाँ पनि राजनैतिक पार्टीहरुले हस्तक्षेप गरे । मगर सँघमा जाने नेताहरु पनि पार्टीको लाहाछापले गर्दा सम्पूर्ण मगर नेतृत्वहरुलाई समेटेर जान सकेन । जब जब मगराँतको माग, पहिचानको माग र भाषा संस्कृतिको माग पेचिलो बन्दै गयो, राज्यसत्ता र पार्टीहरुले मगर सँघका नेताहरुलाई कुनै पद दिएर, आर्थिक लाभ दिएर भुलभुलैयामा राख्ने, अनि आन्दोलन शिथिल पार्ने रणनीति अख्तियार गरे र जुन सफल भयो । अर्कोतर्फ सामाजिक संस्थाभित्र पार्टीबाजीले गर्दा मगर सँघका नेताहरु एकजुट हुन कहिल्यै सकेनन्, साझा अवधारणा बनाउन सकेनन् ।
नेताहरु मगर सँघलाई पार्टीमा बार्गेनिङ गर्ने, पदमा जाने भर्याङ र चन्दा उठाएर तथा आदिबासी जनजाति प्रतिष्ठानबाट दिईने बार्षिक बजेटले जिविकोपार्जन गर्ने माध्यम बाहेक अरु गर्न सकेनन् । पार्टी भन्दा माथी उठ्न नसकेको कारणले गर्दा पनि मगरका सामाजिक सँघ संस्थाहरुमा विकृती मौलायो, जसले गर्दा संविधान बन्ने बखत आन्दोलनको आँधीबेहरी ल्याएर दबाब सिर्जना गर्न सकेन ।
हुन त मगराँत राजनैतिक मुद्दा हो । यो मगर सँघ जस्ता सामाजिक संस्थाहरुले उठाउँदैमा त्यो पुरा हुन सक्दैन । किन भने सामाजिक संस्थाको दायरा फरक हुन्छ, समाजीक विकास, संरक्षण र सम्बद्र्धनमा बढी जोडबल रहेको हुन्छ । यसैले पनि मगर सँघले पहिचानको मुद्दामा बलियो आवाज उठाउन सकेन भनेर मगर सँघलाई गाली गर्नु पनि नालायकीपन नै हुन्छ । त्यो संस्थाले जे सक्यो त्यो गर्यो बरु गद्दारी त जसले गरे जुन पार्टीहरुले मगराँत र मगरको विषयलाई लिएर पार्टीमा भातृसँगठन खोले (जस्तै काँग्रेस, एमाले, माओबादी, संघीय समाजबादी, जनमुक्ती, जनमोर्चा आदि) । मगराँतका आदिबासीहरु पनि सबै पार्टीहरुले मगर जाति सम्बन्धी भातृसँगठन खोलेका र मगराँतका विषय उठाएकाले पहिचान स्थापित हुने विश्वासमा थिए, तर पार्टीहरुले मगरहरुलाई एक आपसमा जुधाएर “माछो माछो भ्यागुतो” पारे ।
तराई मधेशमा मधेश तथा थारुहरुको मुद्दालाई उठाउने पार्टीहरु भए जस्तो मगराँतको मुद्दालाई दह्रो रुपमा उठाने क्षेत्रिय रुपमा उठाउने पार्टी नभएको कारणबाट पनि मगराँतको मुद्दा असफल भयो र मगराँत तीन टुक्रामा विभाजित गरियो । किन कि राज्यसत्ताका वर्ग वा जाति मगराँतका अभौतिक सम्पदाहरुलाई दमन गर्नुछ, ऐतिहासिक पहिचान मेट्नुछ, रंगीचङ्गी फुलबारीलाई तोरीबारी बनाउनु बनाउनु छ र प्राकृतिक साधन स्रोत एकछत्र एकाधिकार कायम गर्नु छ ।
३) मगराँत पार्टीको आवश्यकता
मगराँत क्षेत्रमा भएको प्राकृतिक, भौतिक तथा अभौतिक सम्पदाहरुको संरक्षण, प्रबद्र्धन, विकास तथा दिगो उपभोग गर्न मगराँतका बासिन्दालाई हक छ । मगराँतका साधन स्रोतहरु केन्द्रीय राज्य र सत्तासिन जातिका उच्च वर्गले हालीमुहाली चलाउँदै आएको छ । जसले गर्दा मगराँतको ऐतिहासिक पहिचानलाई गुमनाम पारिएको छ । त्यहाँका ऐतिहासिक र आदिबासी भाषा संस्कृतिहरु ध्वस्त पारीएको छ । त्यहाँको पहिचान बोकेको स्थाननामहरु धमाधम परिवर्तन गरिएको छ । काल्पनीक कथाहरु हाले भारतीय वा हिन्दीकरण गरिएको छ । यति मात्रै होइन यहाँका आदिबासीहरुले सकस झेल्नु परेको कुरा माथी नै चर्चा गरिसकिएको छ । पहिचान सहितको मगराँतको मुद्दा विगतको दुई दशक भन्दा बढी समयदेखि नेपाल मगर सँघ नामक समग्र मगरहरुको सामाजीक छाता सँस्थाले बोक्यो त्यसलाई मिडिया र सत्तासिनहरुले जातिबादीको बिल्ला भिराइदिए र त्यसलाई जनमासमा बैचारिक तवरले चिर्न पनि सकेन र सफल हुन सकेन, जसको बारेमा चर्चा पनि माथि गरिसकियो । यसका साथै ठूला साना पार्टीहरुले पनि मगर जातिको जनसँख्यालाई हेरेर मगरका नाममा भातृ संगठनहरु खोले, जसले मगरहरुलाई जुधाउन र फुटाउन सफल भए शासक वर्ग र जातिको हितका लागि ।
मगराँतका आदिबासीहरु, दलितहरु, गरिब वर्गका मानिसहरु आज पनि पिडित छन्, त्यहाँको भौतिक तथा अभौतिक सम्पदाको अधिकारका बारेमा बोल्ने दह्रो क्षेत्रिय पार्टीहरु भएनन् । केन्द्रीय कार्यालय मगराँतमा राखेर कुनै पार्टीहरु खुलेनन् । मगर र मगराँत फरक बिषय हुन् तर यसलाई एकै रुपमा हेरियो र यसलाई जनमानसमा चिरेर मगराँत भनेको राजनैतिक मुद्दा हो भन्ने पार्टीहरु जन्मेनन् । जसरी तराई मधेशमा मधेश तथा थारुको मुद्दा उठाउने क्षेत्रिय पार्टीहरु थिए । दबाबमूलक आन्दोलन गर्न सके जसले धेरै मुद्दाहरुको सम्बोधन हुने क्रममा छ । तर मगराँतमा यो कुराको अभाव खड्क्यो । मगरहरु र मगराँतले साना–ठूला पार्टीहरुलाई विश्वास गरे तर अहिले धोका भयो । यसैले पनि पहिचान सहितको मगराँतका लागि मगराँतमा केन्द्रीय कार्यालय रहने गरि क्षेत्रिय पार्टी खोलेर राजनीति शुरु हुनुपर्दछ ।
पहिचानका मुद्दामा सहि सिद्धान्त र सहि रणनीति लिने हो भने, पहिचानको मुद्दा मुटुमा साँच्न ठूला तथा साना पार्टीका नेताहरु क्षेत्रिय पार्टीमा आउँदछन् । जसरी हिँजो ठूला पार्टीहरु त्यागेर मधेशवादी दलमा नेताहरु आए भलै त्यहाँ पनि फुतको विकृती देखिए त्यसरी नै मगराँत क्षेत्रिय पार्टीमा पनि त्यो हुन सक्दछ र मधेशमा भएको विकृतिलाई समयमै नजरअन्दाज गरि त्यस्ता विकृति नदोहोर्याउन सकिन्छ ।
४) निश्कर्ष
मगराँतमा अहिले पहिचान सहितको संघियता र मगराँतको माग मानिसहरुको मुटुको ढुकढुकीमा छ तर पार्टीहरुको बदमासी, उल्लु बनाउने खेल, पद र लाभको ललिपपले तथा नेपाल मगर सँघले दबाब दिन नसकेको कारणबाट पहिचान सहितको मगराँत प्रदेशको माग हाल धरापमा परेको छ । पार्टीहरु मगराँतका आदिवासी, दलित तथा पिडितहरुलाई फुटाएर मगराँतको साधान स्रोतको दोहनबाट व्यक्तिगत स्वार्थसिद्ध गर्ने, मगराँतको भौतिक तथा अभौतिक सम्पदाहरु नष्ट गर्ने कार्यमा शासक वर्गहरु लागिरहेका छन् जसलाई चुनौति दिन जरुरी छ । राजनैतिक चुनौति राजनैतिक पार्टीले नै दिनुपर्दछ, त्यसको लागि मगराँतमा शसक्त क्षेत्रिय पार्टीको स्थापना हुनुपर्दछ ।
मुद्दा पुरानो भए पनि पार्टी नयाँ भएकोले केही दशक लाग्न सक्दछ परिणाम आउन जसरी हिँजो आदिवासी जनजातिका बिषयमा गोरेबहादुर खपाङ्गी लगायतकाले दशकौं लगानी गरे, जनमानसमा चेत आयो, आदिवासी जनजाति सम्बन्धी आन्दोलनहरु भए, दबाब समुहहरु बने, जसले गर्दा नेपालमा आदिबासी जनजातिहरु पनि छन् भन्ने अवधारणा बन्यो, राज्यले मान्यता दिन बाध्य भयो । यसरी नै मगराँतमा पनि अर्को कोही नेता जन्मनु पर्ने देखिन्छ, जसले दशकौं सम्म मुद्दा बोकेर हिँड्न सक्छ, र आफ्नो नाम इतिहासमा लेखाउन चाहान्छ । यस्तो कार्यले मगराँतको उद्धार गर्न सक्नेछ ।
राजनैतिक पार्टी खोलेर मगराँतको मुद्दा बोक्न बोल्ड डिसिजन गर्न सक्ने नेता जरुरी पर्दछ, बौद्धिक वर्गले नेतृत्व दिन सक्दैनन् उनीहरु बौद्धिक खुराक प्रदान गर्न सक्दछन्, किनकि माओले भनेजस्तै बौद्धिक व्यक्तित्वहरु बढी जसो अवसरबादी हुन्छन् र व्यक्तिगत भोगविलासमा विक्न सक्दछन् । यसले गर्दा पनि मगराँतका बौद्धिक व्यक्तित्व भन्दा पनि नेतृत्वबाट आश गर्नुपर्ने देखिन्छ भने बौद्धिक जमातबाट बौद्धिक खुराक, पार्टीको दर्शन, रणनीति, कार्यनीति आदिको आश गर्न सकिन्छ । अर्कोतर्फ पहिचान सहितको संघियताको विषयलाई मिडिया, शासक जाति र वर्गले जातिबादमा व्याख्या विश्लेषण गरेर प्रचार प्रसार गरेको कारणबाट पनि त्यसलाई बैचारिक रुपमा चिर्न जनताको घरदैलोमा दिनहुँ जाने क्षेत्रिय पार्टीको आवस्यकता परेको छ । मगराँतमा भएको विविधता, भौतिक र अभौतिक सम्पदाहरु (जस्तैः भाषा संस्कृती)को संरक्षण गर्न, विकास र विस्तार गर्न तथा यहाँको प्राकृतिक साधन स्रोतको सही उपयोगबाट मगराँतबासीको जिवन स्तर उकास्न र समग्र नेपाललाई विश्वमा चिनाउन र हालमा मगराँत भएको शोषण, दमन, विभेद हटाउनको लागि एक शसक्त क्षेत्रिय पार्टीको आवस्यकता परेको छ, त्यसको नाम जे सुकै होस् जसले मगराँतमा केन्द्रीय कार्यालय राखेर राजनीति गरोस् ।
जय मगराँत ! जय नेपाल !!