ओनसरीको छापामार देखि सभामुख सम्म सफल यात्रा

Read Time:6 Minute, 18 Second

खेमबुढा मगर  

लिबाङ :‘सानोमा हक्की, जिज्ञासु र मेहनती ओनसरी सभामुखजस्तो पदमा पुगिन्’,उनका गुरु गिरमान पुनमगरले भने, ‘आफैले कखरा सिकाएकी चेली देशको ठूलो पदमा पुग्दा गर्वले छाती फैलिँदो रहेछ। हर्षले भरिएको छु ।’
 

संसद्मा ओनसरी घर्तीमगर सभामुख निर्वाचित हुँदै गर्दा उनका बाल्यकालका गुरु पुनमगरले यस्तो प्रतिक्रिया दिएका हुन् । घर्ती माथि डाँडामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कखरा पढ्न जान्थिन् ।

उतिबेला जंकोटकै गिरमान सोही विद्यालयमा प्रधानाध्यापक थिए । सामाजिक सवालमा चासो राख्ने, समाजमा चाँडै घुलमिल हुने र कक्षामा पनि जिज्ञासु स्वभाव उनका गुरु स्मरण गरिरहेका छन् । आफूले पढाउँदा यति ठूलो पदमा पुग्लिन् भन्ने गुरुहरूले कल्पनासमेत गरेका थिएनन् ।

बुबा प्रसाद घर्तीमगर र आमा नौमती घर्तीको कोखबाट २०३४ साल कात्तिक २७ मा जंकोट ७ माडीचौरमा जन्मिएकी ओनसरी नेत्रीमात्र होइन, राज्यको गरिमामय पदमा पुगेकोमा उनका छिमेकी नौमाली पुनमगर पनि दंग छिन् ।

‘गाउँघरमै मेलापात, घाँसदाउरा गर्दै हुर्किएकी चेली देशको सभामुख भएको सुन्दा धेरै खुसी लागेको छ’, उनकी सानीआमा नौमाली भन्छिन्, ‘आफू नेत्री भए पनि कहिल्यै ठूली पल्टिनन् । गाउँमा आएका बेला सबैसँग भेट्ने, सन्चोबिसन्चो सोध्ने गर्थिन् ।’ छोराभन्दा छोरी पनि कम छैनन् भन्ने स्वभाव सानैमा ओनसरीमा भएको उनका आफन्त एवं नेपाल रेडक्रस सोसाइटीका सभापति नौलसिंह पुनमगर बताउँछन् ।

  ‘परिआएमा बल प्रयोग गर्न पछि नपर्ने, अन्याय नसहने तर अति मिलनसार थिइन्’, सभापति पुनमगरले स्मरण गरे, ‘महिला, त्यसमाथि जनजाति र दुर्गम क्षेत्रबाट सभामुख हुँदा गौरवान्वित भएको छु ।’तीन दाजु र एक दिदीपछि उनको जन्म भएको हो । उनीपछि एक बहिनीको जन्म भयो । सानैदेखि तीक्ष्ण र जिज्ञासु स्वभावकी घर्तीले कक्षा ६ र ७ छिमेकी गाविस कोटगाउँको नेपाल माविमा अध्ययन गरेकी थिइन् ।

८ कक्षाबाट सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा अध्ययन थालिन् । उनले एसएलसीभन्दा माथि अध्ययन गर्न पाइनन् । भूमिगत राजनीतिमा होमिएपछि बाँकी पढाइ रोकियो ।

सानै उमेरबाट जलजला युवा क्लबको सांस्कृतिक टोलीमा रहेर महिलामाथि हुने हिंसा, असमान व्यवहार र विकृतिविरुद्ध जनचेतना जगाउन तल्लीन भइन् । महिला उत्पीडन र वर्गीय शोषणका विरुद्ध जुध्न हाईस्कुल जीवनबाटै सुरु गरिन् ।

एमाओवादीका नेता कृष्णबहादुर महरा त्यसबेला उनले पढ्ने विद्यालयमा विज्ञान शिक्षक थिए। उनकै प्रभावले विद्यार्थी संगठनमा आबद्ध भइन् ।उनका आफन्तका अनुसार २०४६ मा बहुदलीय व्यवस्था आएपछि कम्युनिस्ट प्रचारमा हिँड्ने र सांस्कृतिक कार्यक्रमका अभियन्ता भइन् । अभियानमा सशक्त भूमिका निर्वाह गरेकी घर्तीलाई २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाले सदस्यता दिएको थियो ।

०५२ पूर्व नै अर्धभूमिगत भएकी उनी युद्ध सुरुआतका बेलाका दुई महिला छापामार मध्येकी एक हुन् । राङ्सी रोल्पाकै तारा घर्ती र उनी नै हुन् लडाकु दस्तामा होमिएका पहिलो छिमलका महिला । दर्जनौं युद्धमोर्चामा मुस्किलले बाचेको सम्झना अझै उनमा ताजै छ । ‘सिन्धुपाल्चोको आक्रमणमा झन्डै ज्यान गयो’, ओनसरी सम्झना गर्छिन् ।२०५७ मा उनी केन्द्रीय सदस्य भइन् । २०५९ सालमा क्रान्तिकारी महिला संघकी केन्द्रीय सदस्य भई काम गरिन् । २०६४ सालको संविधानसभा निर्वाचनपछि उनी समानुपातिक सभासद् भइन् ।

२०६८ सालमा युवा तथा खेलकुदमन्त्रीसमेत भइन् । संविधानसभा सदस्यका हैसियतले उनी राज्य पुनर्संरचना समितिको सदस्य रहिन् । प्रक्रियागत समितिमा संसदीय सुनुवाइ समितिमा रहेर काम गरिन् । दोस्रो संविधानसभामा उनी रोल्पाको निर्वाचन क्षेत्र नं. २ बाट १४ हजार ९ सय ६४ मत ल्याएर विजयी भइन् । दोस्रो संविधानसभामा उनी उपाध्यक्ष भइन् ।

२०५२ भदौ ११ गते आफ्नै गाउँका वर्षमान पुनमगरसँग उनले जनवादी विवाह गरेकी हुन् । एउटै पार्टीमा रहेर काम गर्ने बेलामा उनीहरूबीच प्रेम बसेको थियो । वर्षमान अर्थमन्त्री भइसकेका छन् ।

घर्तीका १६ वर्षकी छोरी शिला र ११ वर्षका छोरा उत्सव छन् । एमाओवादी नेता रहेका ओनसरीका पति पुन भने संविधानसभा चुनावमा विजयी हुन सकेनन् ।ओनसरी सभामुखमा निर्वाचित भएपछि उनको गृहजिल्लामा हर्ष छाएको छ । उनका घरपरिवार, नातागोता, जिल्लावासी, एमाओवादी नेता र कार्यकर्तामा खुसी भएका छन् ।

फोटो कान्तिपुर

लेखक : अन्नपूर्ण सम्बादाता हुन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %