लोकनेश ढेंगा मगर
मगर परीवारमा जन्मिएका लखन थापामगर देश र मानव स्वतन्त्रताका निम्ति लड्ने सच्चा ब्यक्ति थिए । ४२ वर्षको अल्पायुमा जनताका लागि प्राण त्याग गर्ने उनी नेपालकै पहिलो शहीद हुन् । यस्ता वीरहरु इतिहाँसमा धेरै होलान तर अन्धकारमा फ्याँकिएका वीरहरुको यस्तो भीडबाट प्रथम शहीद लखन थापामगर अलग रहनुको एउटा कारण हो, उनको चेतनामूलक विद्रोह । लखन थापामगरबारे जति लेखिनपथ्र्यो त्यति लेखिएन तर पनि उनका चेतनाका डोबहरुलाई समयले मेटाउन सकेन ।
राज्यसत्ता खोसी राजा बन्ने जंगबहादुरको योजना लखन थापामगरको विद्रोहले चकनाचूर पारिदियो । लखनको विद्रोहको कारणले नै जंगबहादुर पछिका राणाहरुले राजा बन्ने सपना त्यागी केही मात्रामा भए पनि जनहितका कार्य गर्ने प्रयास गरे । लखन थापामगरले गरेको विद्रोहको यो एउटा ठूलो उपलब्धि मान्नु पर्दछ । राणा शासनप्रति जनमानसमा जुन रोष र असन्तोष थियो, त्यो निश्चय पनि मुक थियो । त्यस मुक असन्तुष्टिलाई वाणी दिने कुनै ब्यक्ति थिए भने लखन थापामगर नै थिए ।
लखन थापामगरको जन्म गोर्खाको बुङ्गकोट, काउले गाउँमा वि.सं. १८९१ मा भएको हो । आफ्ना नातेदार अलमोडामा हुनाले उही गई प्रारम्भिक शिक्षा लिएका थिए । त्यस समय नेपालमा आम जनतालाई शिक्षाको सुविधा थिएन । आफ्ना खानदानले गोरखा राइफलमा (कुमाउ बटालियन) सेवा गर्ने परम्परा बसालिसकेकाले उनलाई पनि सोही पल्टनमा भर्ती हुन उनका नातेदारले बारम्बार आग्रह गरेका थिए । आफ्नो अन्तरहृदयले विदेशी सेनामा भर्ती हुन पटक्कै स्वीकृत नदिएका कारण राष्ट्रिय सेनामा भर्ती हुन काठमाण्डौं पुगे । वि.सं. १९११ मा २० वर्षको उमेरमा उनी आफ्नै पुख्र्यौली पल्टन ’पुरानो गोरख गण’ मगर पल्टनमा भर्ना भएका थिए ।
भर्ना हुँदा लक्ष्मण थापामगर नामबाट भर्ना भएका थिए (शाही नेपाली सेनाको इतिहास–टेकबहादुर खत्री–२०४१) । सन् ४ मार्च १८१६ सुगौली सन्धिपछि लखन थापा गोरखा पल्टन’ सँग काठमाण्डौ फर्केका थिए । बाँकी रहेका आधा इष्ट इण्डिया कम्पनीको फौजमा सेवा गर्न बसेकाहरु तेश्रो गोर्खामा नोकरी गरी कालान्तरमा अलमोडालाई आफ्नो भारतीय वतन बनाउन पुगेका थिए जहानीय राणा शासनमा घटित कोतपर्व, भण्डारखाल पर्व र अरु डरलाग्दा घटनाविरुद्ध आवाज उठाउने साहस कोही पनि गर्दैनथे । जीउधन सरकारकै भनेर सहेर बसी छोराछोरीहरुलाई ‘हुकुमको जवाफ छैन, कालको औषधी छैन’ भनी मातापिता शिक्षा दिन्थे । सन् १९५७ को भारत स्वतन्त्रता आन्दोलनमा त्यहाँका सैनिकहरुले ब्रिटिश हुकुमतका विरुद्ध ठूलो विद्रोह गरे । यो आन्दोलन दबाउन जंगबहादुर आफै २५ नेपाली पल्टन लिएर ब्रिटिशको हिमायती भएर लखनऊ पुगेका थिए । पुरानो गोरखगणमा बहाल रहेका लखन थापा र जयसिंह चुमिराना साथै श्रीपत गुरुङ्ग ‘कालिबहादुर गण’सँगै लखनऊ पुगेका थिए । (टेकबहादुर खत्री–२०४१) यिनीहरुले नबाव बजिद अलि शाहको दरबारको लुट र साथै स्थानीय जनताहरुसँग गरेको अन्याय–अत्याचारका दृश्य देखेका थिए । व्यक्तिगतरुपमा धेरै सिपाहीहरुले पछिसम्म पछुताउ गरेका थिए । भारतलाई अंग्रेजको दास्ताबाट मुक्त गराउन बलिदान हुने सयौं शहीदहरुको संघर्ष पनि देखेका थिए । यसैकारण लखन थापामगरले उद्घोष गरेका थिए, ‘जंगेले नेपाल म्लेच्छलाई बेच्यो ।’
‘लखनऊबाट फर्किने वित्तिकै खरामिजासका श्रीपत गुरुङ्गले सैनिक विद्रोह गर्न खोज्यो, तर सुइको पाउन साथ काठमाण्डौं टुडिखेलमा आयोजित विजय परेडको अवसरमा सोझा गुरुङ्ग सैनिकहरुलाई शब्द जालमा फसाई भडकाई गुरुङ्ग सैनिकहरुद्वारा नै श्रीपत गुरुङ्गलाई खुकुरीले हानी मारे ।’ (बालचन्द्र शर्मा–२०३३) वि.सं. १९१० मा विजयराज पाण्डे द्वारा लिखित हिन्दु शास्त्रमा आधारित मुलुकी ऐन बन्नु भन्दा पहिले सैनिक जनजातिले आफूलाई युद्ध जीवीवर्गको (क्षेत्रीय) समकक्ष ठान्दै आएका थिए भने व्यापारी जनजातिले (नेवार) वैश्य हुँ भन्ने गर्दथे । उक्त मुलुकी ऐन बनेपछि सबै जनजातिहरुलाई पानी चल्ने ‘शुद्र’ वर्गमा समावेश गराइयो । उच्च पदमा नियुक्ति पाउने तागाधारी हुनुपर्ने बाध्यताले गर्दा जनै पहिरिरहेका मगर र अन्य जनजातिहरु तागाधारी वर्गमा परे भने जुन जनजाति आदिवासीले जनै पहिरिन चाहेनन् उनीहरुलाई मतबाली शुद्र वर्गमा राखियो । यी सब असन्तुष्ट ब्राहम्णहरुलाई खुशी पार्ने उद्देश्यले र सत्ता गद्दी कब्जा गर्दा विरोध नआओस् भन्ने योजना अनुसार ब्राहम्णलाई माथिल्लो स्थान गुरुपरोहितको सम्मान दिए, मृत्युदण्डबाट पनि पृथक राखे ।
सनातन हिन्दू धर्ममा ल्याइएका अन्धविश्वास, कुरिती र रुढीवादी प्रवृतिका विरुद्धमा जनतालाई सचेत गर्नुपनि लखन थापाको उद्देश्य रहेको पाइन्छ । लखन थापामगर राजा र प्रजा दुबैलाई मान्ने जोसमनी सम्प्रदायतिर आकर्षण भएको पाइन्छ । निर्गुण उपासना र जातिपाति नमान्ने जोसमनी सम्प्रदायको मूल दर्शन हो । लखन थापामगरले यस सम्प्रदायमा सिद्धी प्राप्त गरेका थिए । त्यतिखेरका जनता पूर्णरुपमा अशिक्षित भएको हुँदा उनीहरुमा मानसिक चेतना फैलाई जाग्रत बनाउनका लागि समय धेरै लाग्ने भयो । उपर्युक्त समयको निम्ति लामो पर्खाई गरेर बस्ने हो भने राणा शासनले जरो गाडि सक्ने स्थिति भएको हुँदा लखन थापाले धर्म र दैविक शक्तिको नामबाट जनचेतना जगाउने जमर्को गरेको पाइन्छ । ठाउँ ठाउँमा गाउँले जनतालाई जम्मा गराएर उनी भन्ने गर्दथे, “जंगेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियालाई त्राही–त्राही पारिरहेको छ, जातपात छुवाछुत झन् चर्काएको छ ।
जंगेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ । नेपालमा सत्य युग फिराऊ, मनकामना माइले वरदान दिएकी छन् । भाई हो तैयार होऔं ।” (‘भिमभक्तमान सिंह – नेपाल २००५’) जनजागरण फैलाउँदै २००० जति युवकहरुको फौज बनाउन सफल भएका थिए र बुङ्गकोट गोर्खामा तीनतले दरबार पनि निर्माण गर्न सफल भएका थिए । ठिक सय मिटर तलतिर सिपाहीको पिटी परेड खेल्ने र युद्ध कौशलताका निम्ति तालिम प्राप्त गर्न टुंडिखेल बनाएका थिए । दरबारको चारैतिर कम्पाउण्डले घेरिएको थियो । (हाल लखन थापामगरको नामबाट स्कूल सञ्चालन भएको छ ।) धेरै थोरै अस्त्रशस्त्र पनि जम्मा गरेका थिए । उनको सेनामा सबै जातजातिका मानिसहरु थिए । एकतन्त्रीय राणा शासनको विरोधमा नेपाली जनताले सशस्त्र विद्रोह गरे, लखन थापा मुख्तियार (प्रधानमन्त्री), सेनापति जयसिंह चुमिमगर, जनरल लमजुङ्गका सुपति गुरुङ्ग र मन्त्रीहरुमा रुम्जाटारका ज्ञानदिलदास ब्राहम्ण र कानु लम्साल आदि संगठित थिए । PADAM JUNG RANA – ” LIFE OF MAHA RAJ SIR JUNG BAHADUR OF NEPAL – 1909″ मा लेखेका छन्, “लखन थापा सन्तको भेषमा जनचेतना जगाउन हिंडेको बेलामा उनलाई पक्रेर जंगेसमक्ष पुर्याइदिएका थिए । उनमा सन्तशुलभ गुण पाएपछि जंगेले छाडिदिन विवश भएका थिए ।”
पुरुषोत्तम शमशेर राणाले ‘राणाकालिन शिकार कूटनीति’ (साधना, माघ २०५६) लेखेका छन्, “श्री ३ जंगे सन् १८७६ (फागुन १९३२) फेब्रुअरीमा नेपालको तराई सुदूरपश्चिम नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली) मा बेलायतका तत्कालिन युवराज, एडवर्ड अल्बर्ड (सम्राज्ञी भिक्टोरियाका जेठा छोरा) आउँदा प्रिन्सको स्वागतार्थ पुगेका थिए । उनको स्वागतमा ८ सय हात्तीका लस्कर निकालेका थिए । शिकारको दौरान सयौं जनावरहरु मारियो, साथै जिउँदा चराहरु र जनावरहरु उपहार दिइएको थियो । जंगबहादुरले ‘शिकारलाई कूटनीतिको एक अंगको रुपमा प्रयोग गरेका थिए ।’
प्रमोद शमशेर राणा ‘RANA INTRIGUES’ पुस्तकमा GORKHA UPRISING शिर्षकमा लेख्दछन् :
“लखन थापा मगरले सन् १८७६ मा आफ्नो नेतृत्वमा २००० जति युवाहरुको जनसमूह संगठन गरी बुङ्गकोटमा ठूलो किल्ला बनाउन सफल भएका थिए । धेरै धेरै अस्त्रशस्त्र पनि जम्मा गरेका थिए । जंगबहादुर काठमाण्डौं फर्किने बेलामा अवसर छोपी चन्द्रागिरीको भञ्ज्याङमा घात लगाएर जंगेलाई मारी लखन थापा मगर आफ्नो उद्देश्य पूरा गर्न चाहन्थे । यसबारे सुइको पाउनासाथ तुरुन्त काठमाण्डौैं फर्की त्यहाँबाट ‘देवीदत्त गण’ बटालियनलाई गोर्खा पठाए ।” चन्द्रागिरीको भञ्ज्याङमा घात लगाएर जंगेलाई मारी लखन थापामगरले नेपाली जनतालाई राणा शासनदेखि मुक्ति दिन चाहन्थे तर टीकादत्त भूसाल जैसीले पोल खोलेपछि लगभग डेढ महिना शिकार कार्यक्रमलाई दुई हप्तामा नै छोडी तुरुन्त काठमाण्डौं फर्की देवीदत्त बटालियनलाई (बेलायतका युवराजलाई श्री ३ बाट श्री ५ बन्नका लागि हात लिइरहेको बेलामा विद्रोह हुँदा) क्रोधित हुँदै ‘लखनलाई मनकामना बाराही देवीले जंगेलाई मार्ने वरदान दिएकी छन् । त्यसलाई मनकामना बाराहीले त्यस्तो वरदान दिएको छ भने त्यस्तै छेउमा झुण्डाई मार्नु हुकुम दिएर पठाएका थिए ।
जंगबहादुरको पल्टनसित लखन थापाको फौज बुङ्गकोटमा भिडन्त भयो । लगभग १० महिनासम्म चलेको छापामार संघर्षमा गोली र खाद्यान्न सिद्धिएपछि लखन थापा र उनका सहयोगी सजिलै भाग्न सक्दथे तर त्यस्तो गरेनन् । किन भने भर्खर मात्र सुरु भएको चैतन्यमय जनआन्दोलनका नेता लखन थापामगर प्राण जोगाउनका निम्ति भागेनन्, बरु प्रत्यक्षरुपमा मृत्युवरण गरेर आउने पिंढीलाई बलिदानी बाटो देखाउन उचित सम्झे । जंगबहादुर अंग्रेजलाई विश्वासमा लिई राज्यसत्ता खोसी राजा बन्ने ठूलो योजना बनाएका थिए । यसै कारणले जंगबहादुरका खलकबाहेक योग्यभन्दा योग्य व्यक्ति कर्णेलसम्म हुन नपाउने भए । यी सबै अन्याय र असमान व्यवहारबाट क्षुब्ध भई वि.सं. १९२७ मा क्या.लखन थापामगर र क्या.जयसिंह चुमि रानामगरले पल्टन छोडी बुङ्गकोट आई जंगबहादुरको विरुद्धमा जनसेना बनाउनतिर लागे ।
वि.सं. १९३३ फागुन २ गतको दिन बुङ्गकोट आफ्नो दरबारको अगाडि खिर्राको रुखमा लखन थापामगर, जयसिंह चुमी रानामगर र अन्य ५ जनालाई झुण्डाइएको हेर्नु उपस्थित जनसमूहलाई सम्बोधन गर्दै, “म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ । मलाई झुण्डाइएको बेला कोही पनि नरुनु र पीर पनि नगर्नु ।” भन्ने आग्रह गरेका थिए । लखन थापाले वि.सं. १९२७ सालमा सैनिक जागीर छाडी एकतन्त्र राणाशासन विरुद्ध चेतना मुलक विद्रोह गर्दै आएको प्रमाणहरु भेटिन्छन् । त्यसै दौरानमा युवाहरुलाई गोप्यरुपमा युद्धकला सिकाइन्थ्यो । गोरखाको बुङ्गकोट स्थित काउलेमा लखनथापाले दरबार (किल्ला) समेत निर्माण गरेको पाइन्छ ।
बेलायतका युवराजलाई खुशी पार्ने मनशायले स्वयं जंग बहादुर राणा शिकार खेल्न फागुन १९३२ मा नयाँ मुलुक (पश्चिम) पुगेका थिए । शिकार खेली काठमाण्डौं फर्किने बेलामा लखन थापा र उनका साथीहरुले मौका छोपी चन्दागिरीको भन्ज्याङ्गमा आक्रमण गरी जंग बहादुर लाई मारी नेपाली जनतालाई राणा शासनबाट मुक्ति दिन चाहन्थे । यी सबै उद्देश्य बोकी वि.सं. १९३३ बैशाखमा सशस्त्र विद्रोह गरेका थिए उनले । प्रमोद शमशेर राणा – “राणा इन्ट्रिगज’मा उनीहरु मारिए तर उनका सहयोगी कानु लम्साल र ज्ञानदिलदासलाई भने बाहुन भएको कारणबाट मृत्युदण्ड दिएनन् ।” सुकदेव गुरुङ्गलाई पछि गोर्खाको जेलमा यातनापूर्ण ढंगले मारे, उनी पनि शहीद भए ।
लगभग १० महिनासम्म चलेको यस सशस्त्र प्रथम जनविद्रोहलाई दबाउन स्वयं जनरल धीरशम्शेर बुङ्गकोट आउनु परेको थियो भने जंगबहादुर पत्थरघट्टामा शिकार खेल्दै थिए । विद्रोहको दौरान बेनीघाटनिर रहस्यात्मक ढंगले जंगे घायल हुनु, केही दिनपछि मृत्यु हुनु (लखन थापामगरले शहादत प्राप्त गरेको साता) आजसम्म रहस्य बन्न पुगेको छ । जंगेपछिका प्रधानमन्त्री रणोद्वीप सिंहका विरुद्धमा सुपति गुरुङ्गले नेतृत्व गरे, उनलाई लमजुङ्गमा अज्ञातरुपमा हत्या गराई मारे । हाम्रा केही इतिहासविद्ले लखन थापा र उनको विद्रोह प्रति पूर्वाग्रही बनेका छन् । इतिहासमा कतै पनि लखन थापाको विद्रोहबारे गम्भिर चर्चा गरिएको छैन । यति ठूलो चेतनामूलक विद्रोहलाई मतवाली र जनजातिको विद्रोहको रुपमा हेर्ने भेदभाव पूर्वाग्रह त्यागी सम्पूर्ण शहीदलाई समानरुपमा हेर्ने दृष्टिकोण राख्नु प्रथमशहीद लखन थापामगरप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । सुपती गुरुङ्ग लगायत अनेक क्रान्तिकारीहरु धर्मभक्त, गंगालाल, दशरथचन्द्र, शुक्रराज शास्त्री आदि ज्ञात–अज्ञात शहीदहरुलाई शहादतको बाटोमा डो¥याउने जनआन्दोलनका प्रथम शहीद प्रणेता लखन थापा मगर नै थिए । अखिर ढिलै भए पनि नेपाल सरकारले शहिद क्या. लखन थापालाई प्रथम सहिदको दर्ज दिएको छ । र नेपाल सरकार मन्त्री परिषद्को असोज ३ गते बसेको बैठकले उनलाई प्रथम सहिदको रुपमा घोषणा गरेको हो । यसरी प्रथम सहिदलाई राज्यले भुल्नुहुँदैन ।
(यो लेख कान्तिपुर २०५७ फागुन २ गते प्रकाशित भएको हो । त्यस्तै नेपाल समाचारपत्र (उपाहार) असार देखि क्रमश ८ पटक, लगायत ५०औं पत्रपत्रिका, म्याग्जिन र मुखपत्रहरुमा प्रकाशित भैसकेको छ – लेखक।)