माया घले मगर
मैले सुनेको सत्यता
मैले बुझेको यथार्थ
त्यहिँ सत्यता र यथार्थ भित्र
मीठा कविताहरु खोजे
तर फेवातालको पानीमा पनि भेटिन
माछापुछ्रेको शिरमा पनि भेटिन
सगरमाथामा पनि भेटिन
हुम्लामा पनि भेटिन
मान्छेको भिडमा
बस्ती बस्तिमा
अँह भेट्दै भेटिन
बरु लाशको थुप्रै -थुप्राहरू भेटे
डढेका झुप्रै झुप्राहरू भेटे
अनिकाल र अभाबहरू भेटे
बलात्कार र चित्कारहरू भेटे
शोषण र पीडाहरू भेटे
मान्छे-मान्छेमा
ठूलो र सानो जातीहरू भेटे
मान्छेहरुको वर्गीय तह भेटिए
बिबादै-विवादहरू भेटे
हुलका-हुल जुलुसहरू भेटे
मुर्दावाद-जिन्दाबादहरू भेटे
नेपाल त बन्दै-बन्द भेटे
मैले सुनेको थिए कबिताहरुमा
नेपाल छिट्टै शान्ति हुन्छ सदभाब हुन्छ
त्यहिँ शान्ति र सदभाब भित्र
जनताहरुको आकांक्षा पुरा हुन्छ
तर मैले शान्ति र सदभाब पनि भेटिन
मीठा-मीठा कबिताहरु पनि कतै भेटिन
जनताहरुको आकांक्षा पनि पुरा भेटिन ।