मनोज घर्तीमगर-पोखरा
तस्वीर : छवि मगर
हप्ता दिनदेखी एकै दिन तीन/चार ठाउँका तीजे कार्यक्रममा पुगिरहेकी छन् मिना गुरुङ । आफू किशोरी हुँदा तीज कस्तो हुन्थ्यो भन्न सक्दिनन् ।
गुरुङ समुदायले तीज खासै मनाउँदैनथे, त्यसैले उनलाई तीज थाहा हुने कुरै भएन । गाउँ छँदा बाहुन, क्षेत्री समुदायका महिलाले चौतारीमा बसेर गीत गाउँदै दुःख र वेदनाका गीत गाएको भने घुर्मैलो सम्झनामात्रै छ । तीज त परै अरु कुनै बेला रातो गुन्युचोलो लाउँदा पनि बाह्मणी कहलाइन्थ्यो गुरुङ गाउँमा । मिनालाई तीजे कार्यक्रममा रातो साडीमा देखियो भने अचम्म नमाने हुन्छ । साडीमा सजिएरै आईतबार एउटा तीजे कार्यक्रममा भेटिएकी उनले भनिन्, ‘रातो साडी लगाउँदा महिलाले उर्जा बढेको आभास गर्छन् । रातो रङ क्रान्तिको प्रतिक हो ।’ आइतबारे कार्यक्रममा मिठु गुरुङ पनि धपक्कै बल्ने गरी रातो पहिरनमा आएकी थिइन् । उनी त छमछमी नाचिन् पनि तीजे भाकामा । ननाचुन् पनि किन ? उनी अध्यक्ष रहेको भानु मागए आमा समुहले नै दर खाने कार्यक्रम राखेको थियो ।
समाजसेवी सरस्वति गुरुङको पहिरन पनि तीजमय थियो । मिना किशोरावस्थामा हुँदाको समय बेग्लै थियो र अहिलेको समय बेग्लै हो । बेग्लै त्यही समयसँगै तीजमा पनि फरकपन आयो । पहाडे हिन्दु बाहुन क्षेत्री समुदायका महिलाको मात्रै जस्तो बनेको पर्वलाई अरुले पनि आफ्नो ठान्दैछन् । एक त सहर जीवनको व्यावसायिक सम्बन्धले जेलिएका महिलाहरु एकअर्को समुदायको संस्कृतिमा घुलमिल हुँदैछन् भने तीजका आफ्नै रंगीला गुणहरुले पनि अरुलाई तान्दैछ । थरीथरी समुदायबीच अन्तरघुलन र एकल्चरेसन बढाउँदैछ ।
‘गुरुङ समुदायमा तीजका बेला दिदीबहिनीलाई दाजुभाइले दर खान बोलाउन चलन थिएन,’ मिना भन्छिन्, ‘आजभोलि हामीलाई दर खान र थरीथरी कार्यक्रममा जान भ्याइनभ्याई हुन्छ ।’ गुरुङहरुको साझा संस्था तमु धीं नेपालले परारदेखि दर खाने कार्यक्रम सुरु गरेको छ । यो वर्ष पनि सामूहिक दर खाने कार्यक्रम छ । यो संस्थाले वर्षेनी जोडतोडका साथ मनाउने २ मुख्य पर्व ल्होसार र ट्होंटेलाई अरु समुदायले पनि सम्मान गर्दै जाँदा तीजलाई पनि यसले पराई मान्न छाडेको छ ।
तमु धींले सुरु गर्नुअघि आदिवासी जनजाति समुदायका अरु धेरै संघसंस्थाले तीजको दर खुवाउने कार्यक्रम गर्न थालिसकेका थिए । ‘वास्तवमा तीज समावेशी चाड बन्दै गएको छ, अहिलेसम्म म २० बढी कार्यक्रममा गइसके जहाँ सबै जातजातिका महिलाको उत्तिकै सहभागिता हुन्छ’ सभासद बिन्द्रा रानामगर भन्छिन् । बिन्द्रा आफैं किशोरी वा २०/२२ को हुँदा तीजको त्यति मेसोमेलो हुँदैनथ्यो । ‘तीज अब हिन्दु नारिको मात्रै हो भन्नु गलत हुन्छ, धर्म निरपेक्ष नेपालमा तीज सबै धर्म र जातजातिकाले मनाउन थालेका छन्’ गायिका सिता बराल भन्छिन्, ‘गुरुङ/मगर साथीहरुका बज्यै आमाहरुले तीज मनाएनन् । अहिले मेरा दौतरी गुरुङ/मगर लगायतका जनजातिले मान्न थाले अब तीज सबैको भइसक्यो ।’ जातीयमात्रै होइन लैंगिक समावेशिता तीजमा देखिएको अर्को नौलोपना हो । कुनै बेला महिलाको स्वरमात्रै हुने तीजे गीतमा अचेल पुरुष आवाज पनि थपिएको छ ।
लोकभाका होस् या तीजे देशमै पश्चिमाञ्चलले अगुवाइ गर्दै आएको छ । कास्की, पर्वत, स्याङ्जा, पाल्पा, लमजुङ, तनहुँ, बाग्लुङ लगायत जिल्लाका आदिवासी जनजाति मगरगुरुङका आवाजमा धेरै लोकभाका घन्किएका छन्, अब तीजे भाका थपिए र थपिएको छ यो पर्वमा उनीहरुको पनि बलियो उपस्थिति । जनसांख्यिक हिसाबले गुरुङ र मगरको उपस्थिति पोखरा र आसपासमा धेरै छ । तीजमा मिसिएको अनुहारमा पनि अरुभन्दा त्यही समुदाय बढी देखिए पनि नेवार र थकाली लगायतको सहभागिता पनि उल्लेख्य नै देखिन्छ । नेवार समुदायमा जन्मेकी समाजसेवी सुनयना पालिखेले नौ वर्षदेखि तीज धुमधामसँग मनाउँदै आएकी छन् । केही सीमित जातिमा केन्द्रित तीज फराकिलो बन्दै जानु जातियता र धार्मिक सहिष्णुताले काम गरेको बताउँछिन् ।
‘केही निश्चित जातिमा रहेको तीज पर्व सबैले मनाउनु संस्कृति आदानप्रदानको राम्रो नमुना हो,’ उनी भन्छिन्, ‘फरकफरक अनुहार भएका महिला दिदीबहिनी सँगै भएर तीज मनाउन पाउँदा रमाइलो लाग्छ । तीज अहिले नेपाली परम्परा भइसक्यो ।’ संस्कृतिविद डा. जगमान गुरुङ तीजमा हुने रंगरमाइलो र तामझामका कारण आदिवासी जनजाति महिलाको आकर्षण बढेको बताउँछन् । ‘आदिवासी जनजाति समुदायमा नाँचगान, खानपिन भनेपछि हुरुक्कै हुने चलन छ । त्यसैले उनीहरु त्यतातिर गएका हुन्,’ उनी भन्छन्, ‘यो खस संस्कृतिको उपज हो । अर्को कुरा देखासिकी संस्कृतिले पनि प्रवेश पायो ।’ सबै जातजातिका महिलाहरु तीजमा छड्के तिलहरि र अन्य थुप्रै गरगहना लगाएर तीजे कार्यक्रममा सहभागी हुन्छन् । अनेकन गहनाले झकिझकाउ हुनलाई उनीहरु आधुनिक तीज ठान्छन् । त्यसो त तीजको व्यवसायीकरण हुनु, तीज गीतको शब्द र भाका परिवर्तन हुनुले पनि देखाउँछ तीज हरेक वर्ष तामसी बन्दै गएको छ ।
घरपरिवारमा सीमित तीज ठूलो पर्व बडा दसैंलाई ओझेलमा पर्न थालेको छ तीजले । ह्यापी तीजका नाममा विभिन्न समुदायमा महिला मात्रै होइन पुरुषले समेत शुभकामना आदानप्रदान गर्नु र दर खाने कार्यक्रम गर्नु तीजलाई सबैले पछ्याउनुको उदाहरण हो । तमु धिँ नेपाल केन्द्रिय आमा समूहले पोखरामा गरेको दर खाने कार्यक्रममा गुरुङ महिलाहरु आफ्नो जातीय पहिरनमा नाँचगान गर्दै ।