ज्ञानेन्द्रले पनि त्यति मारेन जति कोइरालाले मार्दैछन्
बलदीप प्रभाश्वर चामलिङ
मुलुक अहिले आन्दोलनको ज्वालामा जलिरहेको छ तर सत्ताधारीहरू कुर्सीको खेलमा रमिरहेका छन् ।
फोटो:फोटो फाइल
प्रत्येक दिन सत्ताको गोलीले मधेशी जनता ढलिरहेका छन् । तर, को प्रधानमन्त्री बन्ने र को राष्ट्रपति बन्ने भन्ने कुराले कोइराला, शार्माओली र दाहालहरू सत्तामोहको मातले लट्ठ छन् । जनताको यो रगतको मुल्य चुकाउन उनीहरूले भोली कस्तो मूल्य चुकाउनुपर्ने हो, त्यो कुरामाथि उनीहरूले त्रिकालदर्शी भएर सोच्न सकेका छैनन् ।
पहिलेको जनआन्दोलनमा पनि त्यति जनता मारिएको थिएन जति अहिलेको सत्ताले मारिरहेको छ । जनता सडकमा ओर्लिरहेका छन् तर त्यसको नजरअन्दाज गर्दै संविधान जारी गरिछाड्ने मूर्खता त्रिव्रह्मणले गर्दैछन् । सारा जनतालाई बाईपास गर्दै ल्याइने सविधान आत्मघाती धृष्टता हो । तर यसको परिणाम के हुन्छ भन्ने ख्याल गरिएको छैन ।
विभिन्न हाउगुजी देखाएर अहिले नै संविधान जारी नगरे मुलुकमा फेरि राजतन्त्र आउने भन्ने कुतर्क गर्दै नेपाली जनतालाई भ्रममा राख्न खोजिएको छ । उनीहरूको नियत भनेको यही मौकामा संविधान जारी गरिए पहिँचानसहितको संघीयताबाट तर्कन सकिन्छ भन्ने हो । सकभर मधेशी, जनजाति, दलित र थारूहरूको मुद्दा सम्बोधन गर्न उनीहरू चाहिरहेका छैनन् । यो मुलुकलाई प्रतिगमन गरेर राजतन्त्र ल्याउने अन्य शक्ति को छन् यहाँ ? यो मुलुकलाई अनिर्णयको बन्दी बनाएर निकास नदिने कुन अर्को शाक्ति यहाँ ?
वास्तवमा यी तीन बाहुन नै यो देशका निर्णायक शक्ति होइनन् र ? यो देशमा हिन्दु राजतन्त्र आउनु भनेको कांग्रेस, एमाले र माओवादीले त्यो अभियानलाई साथ दिनु हो । यी दलहरूले नचाहने हो भने हिन्दुराजतन्त्र कुनै पनि हालतमा आउनै सक्दैन । तर, अहिले संविधान जारी नगरे राजतन्त्र फिर्न सक्छ भनेर उनीहरूले भन्नु भनेको जनजाति, थारू, मधेशी र दलितहरूलाई पहिचान र अधिकार प्रदान गरेको संविधान बनाउनु भन्दा त हिन्दुराजतन्त्रको आगमन नै आफूहरूलाई स्वीकार्य हुने भन्ने कुराको छनक दिएका हुन यी तीन दलका वाहुन नेताहरूले । यो मुलुकको अनिर्णयको बन्दीको कारण उनीहरू नै हुन् । मुलुकको समस्या समाधानको साँचो आफैसंग राखेर अरूलाई दोष दिनु कहाँसम्मको नाजायजी हो यो ?
स्पष्ट जातीय कित्ताको विभाजन
विचार र सिद्धान्तले फरकफरक भए पनि काग्रेस, एमाले र माओवादीका नेताहरू एक ठाउँमा छन् अहिले । किनभने उनीहरू बाहुन हुन् । उनीहरू हिन्दुजातीय एकाधिकारवादलाई निरन्तरता दिन चाहन्छन् । उनीहरू अरु कसैलाई अधिकार सम्पन्न भएको देख्न चाहन्न । यी दिनदलका अधिकार र पहिचान चाहने सभाषदहरू एक ठाउँमा ध्रुवीकृत हुन खोज्दैछन् । मधेशी र थारू सभाषदहरूले खुलेरै मधेश र थारूहटका आन्दोलनलाई सम्बोधन नगरी ल्याइने संविधान आफूहरूलाई पनि मान्य नहुने भनेर पार्टीलाई दबाव दिइरहेका छन् ।
उता जनजाति र दलित सभाषदहरू आन्तरिक रूपमा असन्तुष्टी छन् तर खुलेर आउन सकिरहेका छैनन् । किनभने उनीहरूको हैसियत भनेको अझैसम्म कमैयाको हो र मालिकको अगाडि मुख खोल्न सकिरहेका छैनन् । कुनै पनि जनजाति, मधेशी, दलित र थारूको आन्दोलन जायज हो भनेर सहानुभूति प्रकट गर्ने कुनै बाहुन नेताहरू देखिएका छैनन् । यो सबै जातीय विभाजनको रेखा हो । अहिले मुलुकमा स्पष्ट रूपमा जातीय कित्ताको विभाजन सत्ताधारीहरूले गरिदिएका छन् । सारा बाहुनवादी एका पट्टी छन् । अर्थात यो मुलुक बाहुनवाद भर्सेज लोकतन्त्र भएको छ । नेपालको राज्यसत्तादेखि निजी क्षेत्रका मिडियाहरू पनि वाहुनवादी भएका छन् ।
हिजो यथास्थितिवादी तथा प्रतिगामीहरूले कैलालीमा थारू समुदायले संचालन गरेका एफएमलाई ध्वास्त बनाइयो । थारू पत्रकारहरूलाई कुटियो र चुटियो । तर पत्रकारहरूको छाता संगठन पत्रकार महासंघ चुप छन् । तर पत्रकार नै नभएको कुनै नक्कली पत्रकारलाई केही भए सारा संचारमाध्यमले प्रमुखताको साथ समचार बनाउछन् । उनीहरूको कुनै मिडिया प्रशारण गृहमा केही भए राज्य नै लागेर त्यसको बचावट गर्दछन् । तर मधेशी तथा थारू पत्रकार र उनीहरूको व्यवसायमा केही हुदा सरकार मौन बस्दछन् ।
जातीय नरसंहार र सेना परिचालन
सामान्यतः सेना परिचालन भनेको त्यो बेला गरिन्छ जुन बेला मुलुकलाई बाहिरी आक्रमणको खतरा रहन्छ । आन्तरिक मामलामा सेन परिचालन गरिन्न । त्यसको लागि प्रहरी प्रशासन नै काफी छ । अझ नेपालमा त जनपद र सशस्त्र प्रहरी राज्यले पालेरै राखेको छ । तर राज्यले अहिले भैरहेका जनताहरूको आन्दोलन दबाउन किन सेना नै परिचालन गर्ने मनोस्थिति बनायो ? प्रश्न गम्भीर छ ।
आजसम्म शान्तिपूर्ण आन्दोलनहरूमा सेना परिचालन गरिएको छैन, हिजोका माओवादी सशस्त्र विद्रोहीहरूलाई दबाउन बाहेक । न पञ्चायत सरकारले गर्यो न त ज्ञानेन्द्रको सरकारले नै । तर लोकतान्त्रिक भनिने सरकारले किन सेना परिचालन गरेको छ ? बुझ्नुपर्ने कुरा यही हो ।
के थारूहरू र मधेशीहरू बाहिरी आक्रमणकारी शक्ति हुन् र तिनीहरूविरुद्ध सेना परिचालन गर्नुपर्यो ? आज यो सत्ताधारीहरूको लागि मधेशी , जनजाति तथा थारूहरू यो देशका जनता होइन । बन्दुकको ताकतले यो देशका जनताहरूलाई निमिट्यान्न पार्ने बदनीयत अभिलाषा सत्ताधारीसंग छ । यही भएको कारण उनीहरू सेना परिचालन गरेका छन् । उनीहरूले ‘जिनोसाइड’ नरसंहार गर्न लागेका छन् ।
साधुवाद ! धनीराम चौधरी र आङकाजी सेर्पा
कुनै बलत्कारीले आफ्नी आमाको अस्मिता लुटिरहदा त्यो बलत्कारीलाई के गर्ने भनेर बाबुको अनुमति कुरेर कोही बस्दछ ? सिंगो थारूहरूको अधिकार र पहिँचानको अस्मिता लुटिरहदा कुनै एक सचेत थारू हाकिमको कार्यालय रूंगेर बसिरहन सक्छ ? सक्दैन । थारूको ठाउँमा कुनै बाहुन भए पनि सक्दैन । आज धनी राम चौधरीविरूद्ध थारूहरूलाई उकास्यो भनेर राज्य खनिएको छ । सरकारी बहालवाला कर्मचारीले कैलालीमा थारू आन्दोलनको नेतृत्व गर्यो भनेर उनलाई सरकारले कारबाही गर्ने भएको छ । जागीर खानेले राजनीति गर्यो भनेर निहुँ पाएका छन् विरोधीहरूले । यो मुलुकको संचार माध्यम उनीविरुद्ध खनिएको छ । तर यो बेला धनीराम चौधरीहरूको लागि जागीर प्यारो हुन सक्दैन । उनीहरूको लागि यो मुलुकमा स्थायीशान्ति नै प्रमुख कुरा हो । र, त्यो स्थायीशाक्तिको आधार भनेको थारूस्वयत्त प्रदेश हो । धनीराम चौधरीहरू मुलुक निर्माणको अभियन्ता हो । सद्भाव भँडुवा होइन ।
आज धनीराम चौधरीलाई औला ठड्याउँनेहरूले किन खिलराज रेग्मीलाई देख्दैनन् ? खिलराज भन्ने व्यक्ति तिनै हुन् जो प्रधान न्यायाधीशको सरकारी जागिरमा बहालवाला हुँदाहुदै प्रधानमन्त्री (मन्त्रीपरिषदको अध्यक्ष) हुन सिंहदरबार गएका थिए । उनले दुबै पट्टी एकै साथ खुट्टा राखेका थिए । आधुनिक राज्यप्रणालीमा कही यस्तो हुन्छ जहाँ प्रधानमन्त्री र प्रधानन्यायाधीशको पद संगसगै एउटै व्यक्तीले चलाओस् ? न्यायलयको जागिर खानेले प्रधानमन्त्री हुन प्रधानन्यायाधिशको जागिर छाडेर तल जनताबाट निर्वाचित भएर आउनुपथ्र्यो भनेर किन कसैले रेग्मीलाई प्रश्न गरेन ?
हो, राज्यलाई संकट पर्दा आवश्यकताको सिद्धान्तमा रेग्मीले त्यसो गरेका हुन् भन्ने हो भने धनीराम चौधरीले पनि त्यही आवश्यकताको सिद्धान्त अपनाएको हो भनेर किन नभन्ने ? थरूहट स्वयत्तता प्रदेश यो मुलुकको आवश्यकता हो । यो नभै मुलुकमा शान्ति कायम हुन सक्दैन । त्यही निकास दिने अभियानको परिणाम हो , कैलालीमा धनीरामको उपस्थिति ।
आज बाहुन कर्मचारीहरू हिन्दुराष्ट्र कायम गराउने अभियानको पक्षमा लागिपरेका छन् । तर धनीराम र उनीहरूमा फरक यति हो कि धनीराम प्रत्यक्ष सशरीर उपस्थिति भयो तर बाहुन कर्मचारीहरू अप्रत्यक्ष रूपमा लागिपरेका छन् । उता आङकाजी शेर्पाविरुद्ध सिंगो राज्य लागिरहेको छ । आखिर शेर्पाको के गल्ती थियो ? मात्र उनले जनतालाई सुचनामात्र न प्रवाह गरिरहेका थिए । सरकारले पुलिस मारेको समाचारलाई मात्र बढाईंचढाईं गरिरहदा राज्यले पनि जनता मारेको कुरालाई उजागर गरिदिएको न हुन्, शेर्पाले । शेर्पाले होइन, वाहुनवादी सरकारले चाहिँ सामाजिक सदभाव विथोलिरहेको छ । आज जनजाति, मधेशी र दलितहरूको मुद्दालाई सम्बोधन नगरी आन्दोलनकारीहरूको ज्यान लिएर जातीय सद्भाव भड्काउदैछन् ।
स्पष्ट छ कि मार्ने ठाउँमा बाहुनहरू छन् तर मर्ने ठाउँमा मधेशी छन् र थारू छन् । आज सत्ताधारीहरूले अधिकार माग्ने जनताहरूमाथि दमन गरेर चिढ्याइरहेका छन् । यो सत्ताधारीहरू टुप्पोमा बसेर फेदतर्फ बन्चरो हान्ने कालिदासजस्तै हो । आज राज्यबाट मारिने ती समुदायहरूले सत्तामा बस्नेहरूको समुदायप्रति भोली कस्तो मनोवैज्ञानिक धारणा बनाउने हुन् ? सामाजिक सद्भाव यसैमा निर्भर रहन्छ । प्लेटोले उहिले नै उत्पीडनमा परेका अचेतन जनतालाई घच्घच्याउन भनेको सन्दर्भ यहाँ नेपालमा लागू होला । प्लेटोले भनेका थिए, “जीवनमा कायर भएर रहनेहरू सधै अधिकारविहीन रहन्छन् ।” यो देशका आदिवासी जनजाति र दलितचाहिँ सधै कायर भएर रहिरहने कि अधिकार सम्पन्न हुने ?
वास्तवमा लोकतन्त्र कसरी आउँछ त भन्ने प्रश्नको उत्तरमा प्लेटोले यो पनि भनेका थिए, “अधिकारविहीन जनताले सत्ताधारीहरूलाई जितेर, मारेर वा विदेश धपाए पछि मात्र लोकतन्त्र स्थापित हुन्छ ।” तर यो दिन नआओस् । चाँडै कोइराला, ओली र दाहालहरूमा सद्बुद्धि पलाओस् ।