हिन्दु धर्मको सबैभन्दा खराब पक्ष हत्या र हिन्सा गर्नु हो

Read Time:13 Minute, 27 Second

दुर्गा राजकोटी

हिन्दु धर्मले बाहुन क्षेत्रीलाई सबैभन्दा उच्च जातिमा राखेको छ भने कामी, दमाई, सार्की लगायतलाई सबैभन्दा तल्लो जातिमा राखेको छ ।

उच्च र निँच जात पानी दिदै र लिदै

  तल्लो जातिलाई अझ भनौं “दलित” भनेर पनि चिन्ने गरिन्छ । तल्लो जातिको कोटामा पर्नेहरुले छोएको कुनै पनि चिज माथिल्लो वा उच्च जातिको कोटामा पर्नेहरुले खान नहुने रे, घरभित्र पस्न नपाईने रे, मन्दिरमा प्रवेश गर्न नपाईने रे, उच्च जाति भनौदाहरुसँग विवाह गर्न नपाईने रे ।

यस्तो विभेदकारी धर्म जसले मानवलाई पशुभन्दा पनि घृणित व्यवहार गरेको छ के यो सबै मानवको वा जातिको साझा धर्म बन्न सक्छ ? जुन धर्मले कसैलाई जन्मदै उच्च बनाउछ र कसैलाई निच बनाउछ भने त्यो धर्म कसरी सबैको साझा धर्म हुन सक्छ ? जसलाई दलित भनिन्छ तिनीहरुको लागि त यो धर्म हुनै सक्दैन । केवल अन्ध भक्त भएर वा अन्जानमा दलित भनिनेहरुले आफूलाई हिन्दु धर्मावलम्वी भनिरहेका छन् । यो चेतनाको कमीले हो जुन दिन चेतना आउछ त्यस दिनदेखी दलित भनिनेहरुले हामी हिन्दु हुन सक्दैनौ भनेर भन्ने छन् ।

 

सचेत मगरहरुले दशैं मनाउन छाड्नुको कारण पनि चेतनशील भएर हो । चेतना नभएका कतिपय मगरहरुले अझ पनि दशैंमा रातो टिका लगाउछन् । वि.स. १६१६ मा गोर्खाका राजा मानसिंह खड्का मगरलाई दरबार भित्रै द्रव्य शाहले षडयन्त्र गरेर खुकुरी प्रहार गरी घाटी भुईमा खसाली मारे र उनले आफूलाई गोरखाको राजा घोषणा गरे त्यसपछि मारिएका मगर राजाको खुनको टीका लगाएर मानसिंह खड्का मगरलाई मारेको खुशीयालीमा दशैं मनाएको ईतिहास छ । यो तथ्य थाहा पाएपछि मगरहरुले दशैं मनाउन छाडेका हुन् । के मगर राजा मारिएको दुःखद् घडीमा अर्को मगरले खुनको प्रतिक रहेको रातो टिका लगाएर खुशीका साथ विजया दशमी मनाउन मिल्छ ? यो पर्व द्रव्य शाहका वंशले मात्र मनाउन मनासिव छ अरु जातिले होईन ।

त्यसै गरि जुन धर्मले आफुलाई “दलित” बनायो ,तल्लो जाति बनायो, अछुत जाति बनायो, पानी नचल्ने जाति बनायो के त्यो धर्म “दलित” भनीने कामी, दमाई ,सार्कीहरुको हुन सक्छ ? कदापी हुन सक्दैन । बुझ्ने, चेतनशील दलित भनिनेहरुले “हिन्दु धर्म” त्यागिसके जसरी चेतनशील मगरहरुले दशैं मनाउन त्यागे ।

हिन्दु धर्मले बुद्धलाइ बदनाम गर्दैछ :

हिन्दु धर्मको अर्को खराब पक्ष भनेको बुद्ध धर्मलाई परास्त पार्न अहिंसाको बर्खिलापमा हिंसाको धर्म पशुवली प्रथाको रितिथिति बनाएर पशुवली प्रचलनमा ल्याउनु । बुद्ध अहिंसावादी भएका कारण उनी काटमारमा विश्वास गर्दैनथे, वली प्रथाको विरोधी थिए । तर उनको त्यो पवित्र विचारलाई पतन गराउन हिन्दु धर्ममा विश्वास गर्ने राजा रामशाह देखि पृथ्वीनारायण शाहले मन्दिरमा पशुवली प्रथा चलाए र आजको वैज्ञानिक युगमा पनि पशुवलि दिएपछि भगवान् खुशी हुन्छन् भनेर आफूलाई शिक्षित ठान्नेहरु पनि लामबद्ध भएर पशुवलि दिएको देख्न सकिन्छ ।

गढिमाई मेलामा २० हजार सम्म राँगा वलि दिने प्रचलन छ । २० हजार राँगाको वली दिएर हुन्छ के ? यस्तो धर्म जसले अरुलाई प्राणी हत्या गर्न उत्पेरित गर्छ यो सर्वमान्य धर्म कसरी हुन सक्छ ? नेपालको अन्तरिम संविधानले कसैले कसैको धर्म परिवर्तन गर्न नपाईने नियम बनाएको छ जुन गलत छ । हिन्दु धर्मको संख्या दिनदिनै घट्दै गएकोले यस्तो नियम बनाउन लागिएको सोझै अनुमान गर्न सकिन्छ । ईतिहासविद् लेख्छन् पृथ्वीनारायण शाहले मगर भाषा बोले बापत त्यतिबेला ४ पैसा डण्ड लाग्ने नियम बनाए । परिणामस्वरुप आज पश्चिम नेपालका पश्चिम पाल्पा,म्याग्दी, गुल्मी, अर्घाखाची र बागलुङ तर्फका मगरहरुलाई मगर भाषा बोल्न आउदैन ।

त्यस्तै हिन्दु धर्म नमान्नेहरुको ओठ र नाक काट्ने गरेको ईतिहास पनि हामी पढ्न पाउँछौ । ईतिहास अध्ययन गर्ने हो भने त्यतिबेला जवरजस्ती जात पनि परिवर्तन गराईन्थ्यो । उच्च दिमाग तथा टाठा पाठा मगर, राई, लिम्बुलाई जनै लगाएर जात परिवर्तन गराएको ईतिहास साक्षी छ । त्यस्तै धर्म पनि परिवर्तन गर्न लगाईन्थ्यो नमाने छाला काडेर मारिन्थ्यो । जवरजस्ती धर्म परिवर्तन गराउनु उचित कार्य हुन सक्दैन, त्यस्तै धर्म परिवर्तन गर्नै पाईन्न भन्नु पनि गलत हो । जसलाई जुन धर्म मान्न ईच्छा लाग्छ त्यो धर्म मान्न पाउनु पर्छ नकी धर्म परिवर्तन गर्नै नपाईने ।

हिन्दुको देबी गढिमाई जस्ले २० हजार राँगाको वलि दिएर सधैं सत्तामा टाँसी रहने प्रपन्च रँच्ने प्रचलन छ ।

अहिले जवरजस्र्ती नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्छ भनेर केही एकात्मकवादी, प्रतिगामी, रुढिवादी, जातिवादी चिन्तन भएकाहरु पैसा पाईने प्रलोभनमा दिनहुँ जसो काठमाण्डौंको गल्लीमा धार्मिक सद्भाव विथोल्ने प्रयास गरिरहेका छन् । धर्मका नाममा राजनीति गरिरहेका छन् । बहुधार्मिक देश नेपाललाई हिन्दु धर्म घोषणा गरिनु हुँदैन । नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुपर्छ । यसो भयो भने मात्र सबै धर्मावलम्वीहरुको सम्मान हुन्छ । उहिलेदेखि आजको मितिसम्म पनि देशमा जातिय र धार्मिक विभेद छ । जात र धर्मको आधारमा भेदभाव गरिन्छ ।

मधेशमा मधेशी र थारुहरुले निषेधित क्षेत्र तोड्का प्रहरीले घुँडा मुनी होईन छातीमा वा टाउकोमा ताकेर गोली हान्छ भने कमल थापाको समूहले हिन्दु राज्य माग गर्दै बानेश्वर अगाडी निषेधित क्षेत्र तोड्ता पानीको फोहोराले वा प्लास्टिकको रवरले गोली हानिन्छ । नेपालमा मृत्यु दण्ड दिईने गरी कुनै पनि कानुन बनाइने छैन भनेर अन्तरिम संविधानमै उल्लेख गरिएको छ । तर हिजो आज सरकार आफैले दिनहुँ जसो गोली हानी नागरिकको हत्या गरिरहेको छ । मानव अधिकारको गम्भीर उल्लङघन भएको छ तर पनि मानव अधिकारकर्मीहरु चुपचाप हेरी बसीरहेका छन् । एउटै प्रकृतिको घटनामा फरक फरक सजाय जातको आधारमा गरिएको थियो र गरिदै छ । यसको अन्त्य होस् भन्ने हाम्रो चाहाना हो ।

गल्ती गर्ने चाहे बाहुन होस् वा मगर होस् वा क्षेत्री होस् वा अन्य कुनै जाति होस् एउटै अपराधमा संलग्न भएकाहरुलाई एकै प्रकारका सजाय हुनुपर्छ नकी बाहुन जातिलाई जेल सजाय र अन्य जातिलाई फाँसीको सजाय । यस्ता विभेद कायम रहदा सम्म देशमा दिगो शान्ति कायम हुने छैन र जबसम्म दिगो शान्ति कायम हुँदैन राष्ट्रको विकास सम्भव छैन ।

आदिवासी जनजाति वा पिछडीएका समुदायका बारेमा मिडीयाले केही लेख्दैन , बोल्दैन र समाचार सम्प्रेषण पनि गर्दैन । आफ्नो हक अधिकार शान्तपुर्वक माग गर्दा सुन्दैन र कडा शब्द प्रयोग गर्यो भने प्रहरी लगाएर पकड्छ, हिरासतमा राख्छ र अनावश्यक दुःख , कष्ट दिन्छ । केही दिन अघि मात्र आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई सादा पोशाकमा आएका डी.एस.पी. ले माथिको आदेश भन्दै पक्राउ गरे र अहिले वहाँ हिरासतमा वन्दीको जीवन बिताईरहनु भएको छ । फेसवुकमा कुनै स्टाटस लेखेको भरमा वहाँलाई पक्राउ गरिएको छ ।

एक वर्ष अगाडी मलाई पनि भ्रष्ट गा.वि.स. सचिवलाई वर्खास्त गर्नु पर्छ भनेर आवाज उठाउदा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भैरहवामा हिरासतमा राखेको थियो । यस्ता भ्रष्ट शासकहरु नेता भएका कारण देशले गति लिन सकेको छैन । ब्राम्हणवादको अन्त्य गर्ने एउटै सुत्र हो बन्न गैरहेको संविधानमा कुनै पनि हालतमा “जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व” । यो वाक्यांश संविधानमा उल्लेख गराउन सकियो भने मात्र सम्पूर्ण उत्पीडित वर्ग, जाति, भाषा, धर्म, संस्कृति, क्षेत्र र समुदायको संरक्षण र विकास हुन्छ अन्यथा उही एकल जातिले मात्र राज्यसत्तामा हालीमुहाली गर्ने नीति बनाए नयाँ संविधान बन्नु र नबन्नुमा कुनै भिन्नता हुने छैन ।
अन्तमा हिन्दु धर्मकोबारे माथि उल्लेख गरिएको सबैभन्दा खराब पक्ष जुन “ठुलो जात र सानो जात”, “पानी चल्ने र नचल्ने जात” र “दलित” भन्ने तल्लो स्तरको शब्द छ यी सबलाई परिमार्जन गर्नु जरुरी छ साथै बुद्ध धर्मलाई विस्थापित गर्न जसरी वलि प्रथा चलन चल्तीमा ल्याईएको छ यसलाई तुरुन्त हटाईनु पर्छ । अन्यथा कालान्तरमा केही अशिक्षित , चेतना नभएका बाहुन र क्षेत्री बाहेक अन्य कसैले पनि यो हिन्दु धर्मलाई अगाल्ने छैनन् । धर्म कुनै जात, वर्ग, क्षेत्र, लिङ्ग, देश, वर्ण विशेषको हुनु हुँदैन । कुनै पनि व्यक्तिलाई जात, वंश, समुदाय वा पेशाका आधारमा छुवाछुत तथा जातिय भेदभाव गरिनु हुदैन तर हिन्दु धर्मले त्यसो गरेको छ ।

त्यसो गरे दण्डनीय भन्ने प्रावधान अन्तरिम संविधानमा हुँदाहुँदै पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । हिन्दु धर्मको कारण आज मानव मानवबिच पनि तल्लो जात र माथिल्लो जात भनेर विभाजन गरिएको छ यो अति तुच्च र निन्दनिय कार्य हो यस्तो निन्दनिय कार्यलाई कसरी अहिलेको अति उच्चतमा प्राविधिक तथा वैज्ञानिक युगमा विश्वास गर्न सकिन्छ । कुनै बेला मानव जंगली युगमा थियो तर युग सधै स्थिर हुदैन त्यसैले हिन्दु धर्मको सबैभन्दा खराब पक्षबारे छलफल गरेर संसोधन गरियोस् । धर्मले कसैलाई “दलित” नबनाओस् । हिन्दु धर्मका अग्रजहरुले यी कुरा बुझुन् । बेलैमा चेतना जागोस यही मेरो शुभेच्छा छ ।

(लेखक : राष्ट्रिय युवा मोर्चा, रुद्रपुरका अध्यक्ष हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %