देव पचभैया
पाल्पा, २० भदौ – रुपन्देही र पाल्पाको सिमा जितगढी किल्लामा नेपाली फौजले अंग्रेज फौजलाई जितेको खुसीयाली १ सय ९६ औं भगवतीको सिन्दुरजात्रा आज मनाइएको छ ।
बिक्रम संम्वत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धमा नेपाली फौज बिजयी भएको खुसीयालीमा तत्कालीन कर्णेल उजीर सिंह थापा मगरले १८७६ देखि यो जात्रा मनाउन सुरु गरिएको हो । हरेक बर्ष भाद्र कृष्ण नवमीका दिन भगवतीको रथलाई बजार परिक्रमा गराउने चलनलाई सिन्दुर जात्रा भन्ने गरिएको हो ।
पहिले पहिले सरकारी खर्चमा जात्रा निकालिन्थ्यो तर कर्णेल उजीर सिंह थापा मगर भएकै कारणले एकात्मकबादी सरकारले अहिले सहयोग गर्न छाड्यो ।
श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्दै तानसेन नगर परिक्रमा गरिएको छ । मन्दिर परिसरमै कर्नेली पुजा र पञ्चबली दिएपछि जिल्ला प्रशासन, प्रहरी र चण्डीप्रसाद गणमा पुजा बली दिई पुजाआजा गरिएको छ । जात्रा मनाउन तानसेन र वरपरबाट आएकाले भाकल अनुसारको कुखुरा, हा“स, बोका, रा“गो बली दिएका थिए । तानसेन बजारमा जयजयकारको गुन्जनसहित भगवतीको रथलाई टोल, टोलमा घुमाईएको थियो ।
तानसेन बजारको मध्य भागमा रहेको रणउजीरेश्वरी भगवतीको मुर्ति रहेको रथलाई बाजागाजा सहित नेपाली सेना, प्रहरी, सरकारी कर्मचारी, भजनमण्डल, नगरवासी सहभागी भएका छन् । भगवतीको रथले नगरपरिक्रमा गर्दा घर–घरबाट पुजा दिइएको छ । कर्नेल उजीरसिंहको फौजले लगाएको अनुमान गरिने कालो पोसाकमासमेत केही सैनिकलाई सजाएर नेपाली सेनाको चण्डीप्रसाद गणले जात्रामा हिडाएको थियो ।
तत्कालीन पाल्पा गौंडाका प्रसासक कर्णेल उजीरसिंह थापाले सुरु गरेको भगवतीको रथयात्राले अहिलेसम्म निरन्तरता पाएको रणउजीरेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो । ५० जना कुमाल जातीका जवानले मध्यान्ह साढे ११ बजे भगवतीको प्रतिमुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गरिएको थियो । परम्परा अनुसार भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिँया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुन्जन ध्वनी र बन्दुकको बढाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गराइएको हो ।
जात्रा हेर्न पाल्पाका विभिन्न स्थानका साथै बाहिर जिल्लामा बसोबास गर्ने पाल्पाली र छिमेकी जिल्लाबाट समेत आएका थिए । जात्राको अवसरमा पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा सजिएका थिए । जात्रामा सहभागी हुन नीजि तथा सरकारी विद्यालयले स्थानीय बिदा दिएका थिए । विद्यालयबाट विद्यार्थीलाई रथयात्राको अघि पछि र्यालीमा सहभागी गराइएको थियो । धार्मिक संघसंस्थाका झाँकी, शिक्षक, विद्यार्थी साथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागी भएका थिए ।
इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार वुटवल क्षेत्रको अंग्रेजसँगको लडाईमा बिजयी भएपछि केही वर्षपछि १८७७ देखि भाद्रकृष्ण नवमीका दिन जात्रा चलाउने परम्परा उजीरसिंहले बसालेको हो । युद्धमा बिजयी भएपछि भगवतीको शक्तिको महिमा बढेको किम्बदन्ती रहेको छ । स्थानीयवासीका अनुसार राणाकालसम्म भगवतीजात्रा निकै भव्य रुपमा मनाउने गरिन्थ्यो । त्यसबेला भवानीदल, इन्द्रध्वज, बरख र सबुजगण दल गरी चार पल्टनका सेनाहरुले व्याण्डबाजा बजाएर रथसंग हिड्दा जात्राको रौनक नै बेग्लै हुने गर्दथ्यो । जितगढीको लडाइ“मा नेपाली फौजले जितेकै खुसीयालीमा १८७७ देखि भगवतीको रथयात्रा (सिन्दुरजात्रा) सुरु भएको हो । विक्रम संम्वत् १८७१—७३ को नेपाल अंग्रेज युद्धपछि कर्णेल उजीरसिंह थापाले एक विशाल तीनतले प्यागोडा शैलीको मन्दिर वनाएको भनाई छ ।
पहिले पहिले सरकारी खर्चमा जात्रा निकालिन्थ्यो । अहिले भने जात्रा चलाउन निकै समस्या भएको भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा अहिलेसम्म भेटी व्यवस्थापन हुन सकेको छैन । चार जना पुजारी भएपनि अहिलेसम्म बिहानमा मात्र मन्दिर खुल्ने गर्छ । जसले गर्दा दिउँसोमा आउने श्रद्धालु बन्द ढोका हेरेर फर्कन बाध्य हुनु परेको छ । स्थानीय बासिन्दाले भगवती मन्दिरको भेटी व्यवस्थापन गर्ने र दिनभर मन्दिर खुलाउने हो भने जात्रा चलाउन कुनै समस्या नहुने स्थानीय जात्रालुले गुनासो गरेका छन् ।
[कर्णेल उजीर सिंह थापा मगरले यसरि हराएका थिए गोरखाली-अङ्ग्रेज आमनेसामने मनोज घर्तीमगर द्वारा लिखित भर्तीको फन्दा-(५९- ६६)]